एआईले खोस्नै नसक्ने मानिसको क्षमता के हो ?

हामी यस्तो समयमा छौँ, जहाँ एआई (कृत्रिम बौद्धिकता)ले धेरै काम गर्न सक्छ । कम्प्युटरको कोड लेख्न, तथ्याङ्कको विश्लेषण गर्न तथा मान्छेका कुराकानीको नक्कल गर्न पनि सक्छ । हामी आश्चर्यचकित हुँदै सोच्छौँ, अब मेसिनले गर्न नसक्ने के बाँकी रह्यो होला ! हामीलाई अब सबै कुरा मेसिनले गर्न सक्छजस्तो लाग्न सक्छ तर, एउटा यस्तो क्षमता छ, जसले मान्छेलाई मेसिनभन्दा फरक बनाइदिन्छ । त्यो हो– जिज्ञासा ।
एआईले कुनै पनि मान्छेको तुलनामा असाध्यै छिटो सूचनाको संश्लेषण गर्न सक्छ । विभिन्न ढाँचामा आधारित प्रश्नहरूको नक्कल गर्न सक्छ तर, उत्सुक भएर हेर्न भने सक्दैन । यसले आफ्नैलागि भनेर कुनै अज्ञात वा नवीन कुराको खोजी गर्न सक्दैन । हो, यही मानवीय गुण अर्थात् जिज्ञासालाई मेसिनले खोस्न सक्दैन । आजको दिनमा यही जिज्ञासाको आवश्यकता बढिरहेको छ ।




जिज्ञासाले आविष्कार र नवप्रवर्तनलाई जन्म दिन्छ । सिकाइलाई गति दिन्छ तथा नवीनतम् उपलब्धि हासिल गराउने प्रश्नहरूमा घोत्लिन प्रेरित गर्छ । जिज्ञासा नै त्यस्तो चिज हो, जसले हामीलाई नयाँ औषधि पत्ता लगाउन, व्यापारिक मोडेलहरूको पुनर्कल्पना गर्न तथा यथास्थितिलाई चुनौती दिनतर्फ अग्रसर गराउँछ ।
यस्तै सन्दर्भबारे बिल गेट्सको एउटा पुस्तक छ । त्यसको नाम हो– ‘सोर्स कोडः माई न्यु बिगिनिङ्स’ । पुस्तकमा गेट्स लेख्छन्, ‘जिज्ञासा भन्ने कुरा शून्य वा केही नभएको ठाउँमा सन्तुष्ट हुँदैन । यसलाई स्याहार चाहिन्छ । स्रोत–साधन चाहिन्छ । मार्गदर्शन तथा सहयोग चाहिन्छ ।’
उनी आफ्नो बाल्यकालमा आफ्ना अन्तहीन प्रश्नलाई झिजो नमानी सम्बोधन गर्दै, आफ्नो रुचिलाई प्रोत्साहन गरेर जीवनभरका लागि स्वाभाविक गुण बनाइदिएकोमा आफ्ना अविभावकलाई ठुलो श्रेय दिन्छन् । यस्तो प्रकारको सहयोग एआईले पाउन सम्भव हुँदैन । यसैले मानिसलाई मेसिनभन्दा फरक बनाउँछ ।
एआईको जमानामा जिज्ञासा

कुनै समय थियो, त्यसबखत कुनै प्रश्नको जबाफ थाहा भएको मानिस असाध्यै महत्त्वपूर्ण मानिन्थ्यो तर, आज उत्तर थाहा हुनुले मात्रै पुग्दैन । सही प्रश्न कोसँग छ भन्ने कुराले धेरै ठुलो अर्थ राख्ने समयमा हामी प्रवेश गरिसकेका छौँ ।
उपलब्ध तथ्याङ्कबाट कसरी उत्तर निकाल्ने भन्नेबारे एआई राम्ररी तालिम प्राप्त हुँदैछ । मान्छेले अहिले धेरै प्रकारका प्रश्न सोध्न सक्छन् । यस अघि दुरुह ठानिएका धेरै प्रश्न पनि सहजै हल हुन सक्छन् ।
एआईले कुनै पनि मान्छेको तुलनामा असाध्यै छिटो सूचना संश्लेषण गर्न सक्छ । प्रश्नहरूको नक्कल गर्न सक्छ तर, उत्सुक भएर हेर्न सक्दैन । यही मानवीय गुण अर्थात् जिज्ञासालाई मेसिनले खोस्न सक्दैन ।
जिज्ञासा नै त्यस्तो गुण हो, जसले अबका दिनमा एक–अर्काको नेतृत्वको क्षमतामा व्यापक फरक ल्याउन सक्छ । यसले निर्णय क्षमतामा थप सुधार ल्याउन सक्छ । कार्य क्षेत्रलाई अझ समावेशी बनाउन सक्छ तथा विविध संस्कृतिलाई समेट्न सक्छ ।
आजको समयको हतारको दैनिकी वा जीवनशैलीमा जिज्ञासा भनेको आराम वा विलासीको कुराजस्तो लाग्न सक्छ तर, कुरा त्यस्तो होइन । यो त अबको दिनमा बाँच्नका लागि चाहिने आधारभूत सिप हो । एआईले तथ्याङ्कको ठुलो इकाईलाई सहजै प्रशोधन गर्न त सक्छ तर, त्यसले विविध मान्यताहरूमा चुनौती खडा गर्ने वा कुनै निर्देशन बेगर तिनीहरूबारे खोज्ने काम गर्न सक्दैन ।
जिज्ञासुहरूले भने विविध प्रश्नमार्फत नयाँ विचार वा तरिका खोज्न सक्छन् ।
एआई जिज्ञासु हुन्छ ?

आजभोलि कृत्रिम बौद्धिकता भनेजस्तै ‘कृत्रिम जिज्ञासा’ भन्ने सन्दर्भबारे पनि चर्चा हुन थालेको छ । केही समय अघि एआईको क्षेत्रमा एउटा रोचक प्रयोग भएको थियो । अनुसन्धानकर्ताहरूले मेसिनहरूलाई स्वायत्त रूपमा आफैँ कसरी सिक्ने भनेर सिकाउने प्रयास गरेका थिए ।
यसै क्रममा भएको एउटा चर्चित अध्ययनमा अनुसन्धानकर्ताहरूले एउटा ‘एआई एजेन्ट’लाई मारियो ब्रदर्स–जस्तो भिडियो गेमको ‘लेवल’ वा स्तर खोज्ने काम गर्न लगाए तर, त्यसमा ‘रिवार्ड’ के हुनेछ भन्ने कुरा जानकारी गराइएको थिएन ।
एआईले नयाँ क्षेत्रमा खोजी गर्नका लागि एक प्रकारको आफ्नै आन्तरिक प्रेरणाको मोडेल प्रयोग गर्यो । झट्ट हेर्दा आफैँमा यो जिज्ञासाजस्तो देखिन्थ्यो तर, खासमा यो जिज्ञासा थिएन । यो एक ‘रिवार्ड फङसन’ मात्रै थियो ।
कुनै समय थियो, त्यसबखत प्रश्नको जबाफ थाहा भएको मानिस असाध्यै महत्त्वपूर्ण मानिन्थ्यो तर, आज उत्तर थाहा हुनुले मात्रै पुग्दैन । सही प्रश्न कोसँग छ भन्ने कुराले धेरै ठुलो अर्थ राख्ने समयमा हामी प्रवेश गरिसकेका छौँ ।
मैले एआईबारे विश्वको अगुवा विचारक तथा ‘सेल्स च्वाइस’ की कार्यकारी निर्देशक डा. सिन्डी गोर्डनसँग अन्तर्वार्ता गरेको थिएँ । कुराकानीमा उनको जोड एआईले हामीले दिएका तथ्याङ्क तथा पारामिटरमा झाँकेर हेर्ने काममात्रै गर्छ भन्नेमा थियो । उनले साँच्चै नवप्रवर्तन वा आविष्कारचाहिँ यसको प्रभावकारी तथा उच्चतम (अप्टिमम) प्रयोग कसरी गर्ने भन्नेमा हुन्छ भनेकी थिइन् ।
उनले भनिन्, ‘एआईले अमूर्त रूपमा वा मान्छेले जस्तै भावनात्मक तहमा बसेर सोच्न सक्दैन । यसले त हामीले दिएको तथ्याङ्क वा निर्देशनमात्रै लागु गर्ने हो ।’ यसको अर्थ, प्रश्न वा प्रश्नको आधारमाथि नै प्रश्न गर्नु भनेको विशुद्ध मानवीय क्षमता र गुण हो ।
कार्यस्थलको जिज्ञासाले रणनीतिमा कसरी सघाउँछ ?

मसँगको कुराकानीमा भविष्यका सम्भावनाबारे अध्येता तथा सामाजिक–जीवविज्ञान विज्ञ रेबेका कोष्टाले मानिस जिज्ञासु भएको खण्डमा छिटै नयाँ आविष्कार मानिसको चिन्तन वा क्रियाकलापमा सहजै समायोजन हुन सक्ने बताइन् । उनका खोजहरूले पनि अबको दिनमा सबैभन्दा धेरै जान्ने मान्छे सफल नेतृत्वकर्ता बन्न नसक्ने देखाएका छन् ।
बरु आफूले थाहा नपाएका कुरा खोज्ने व्यग्र इच्छा भएकाहरू अबको दिनमा अगुवा बन्न सक्छन् । अहिलेको जस्तो जटिल वातावरणमा अब सबै कुरा जान्न सम्भव छैन । अबको ज्ञानको खाडल भर्ने जिज्ञासाले नै हो । विविध क्षेत्रमा काम गर्ने मानिसले अब उन्नत प्रकारका प्रश्न सोधेर समस्याको समाधान गर्न वा अन्योलता चिर्न सक्छन् । अन्योलतामा जिज्ञासाले धेरै ठुलो सहयोग गर्छ । अनायासै फेर्नुपर्ने सम्भवित योजनाबारे उत्सुकता पैदा गराइदिन्छ ।
यस्तो अवस्था मानिसलाई रुचिकर लाग्न सक्छ । एआईले स्वचालन (अटोमेसन) गर्न सक्ने क्षेत्रहरूमा तथा अबको अन्योलपूर्ण समयमा अब्बल हुनका लागि त्यस्तो कौतुहलता, उत्सुकता तथा जिज्ञासाले भरिएको चिन्तन प्रणाली असाध्यै महत्त्वपूर्ण हुन्छन् ।
जिज्ञासालाई के चाहिन्छ ?

मानिस र मेसिनमा धेरै फरक छ । मानिसलाई नयाँ कुरा खोज्न सहयोगी वातावरण चाहिन्छ । जसमा मनोवैज्ञानिक सुरक्षा, नेतृत्वको प्रोत्साहन तथा केवल उत्तरलाई मात्रै नभएर सवाललाई पनि पुरस्कृत गर्ने संस्कृति चाहिन्छ । मानिसले आफ्ना नवीन विचारहरू भन्दा उनीहरू दण्डित हुन्पर्ने वा बारम्बार उपेक्षित हुनुपर्ने अवस्था भयो भने जिज्ञासा घट्न थाल्छ ।
तर, एआईलाई कुनै उत्प्रेरणा चाहिदैन । यसका मोडेलहरूले काम गर्न सुरक्षा तथा प्रोत्साहन पनि चाहिँदैन तर, मान्छेलाई भने चाहिन्छ । यसको अर्थ हो अबका दिनमा प्रतिस्पर्धी रहन चाहने प्रत्येक संगठनले जिज्ञासालाई कायम रहने अवस्था सिर्जना गरिरहन सक्नुपर्छ । जिज्ञासाको कुनै कोडिङ हुँदैन, यसलाई त हुर्काउनु पर्छ ।
कोही मान्छे जिज्ञासु हुन्छन् तथा कोही हुँदैननन् भन्ने एउटा भ्रम अझैँ विद्यमान छ । खासमा यस्तो हुँदैन । जिज्ञासा भनेको शरीरको मांशपेसीजस्तै हो । हामी जति अभ्यास गर्छौं, यो त्यति सुदृढ हुँदै जान्छ । यसलाई निरन्तर अभ्यास तथा नेतृत्वको सहयोगमा बढाउन सकिन्छ ।
जब कुनै संस्थाले मानिसलाई चिन्तन, सिकाइ, परिकल्पना तथा परीक्षणका लागि अवसर उपलब्ध गराउँछ, उनीहरू एआईको युगमा पनि जोगिन, टिक्न तथा फस्टाउन सक्छन् ।
आगामी दिनमा एआईसँग सहकार्य गर्दै तथा एआईको क्षमताभन्दा पर सोच्न खोज्ने मानिस सफल हुन सक्छन् । यसले के देखाउँछ भने जिज्ञासा भनेको सामान्य सिप होइन । यो रणनीतिक सिप हो ।
डा. गोर्डनले हामीसँगको कुराकानीमा भने अनुसार आगामी दिनमा एआईसँग सहकार्य गर्दै तथा एआईको क्षमताभन्दा पर सोच्न खोज्ने मानिस सफल हुन सक्छन् । यसले के देखाउँछ भने जिज्ञासा भनेको सामान्य सिप होइन । यो रणनीतिक सिप हो । यसले मानिसलाई मसिना सन्दर्भहरूको कुशलतापूर्वक व्याख्या गर्न, विविध प्रकारका जोखिमहरूको मूल्याङ्कन गर्न तथा मेसिनले छुटाउने खालका पृथक अवस्थाका विविध परिणामहरूबारे विचार गर्न सघाउँछ ।
मैले स्नायु वैज्ञानिक बिएउ लोट्टोसँग मान्छेको सिर्जनशीलता तथा धारणाबारे कुरा गरेको थिएँ । उनले त्यसमा अर्को तह पनि थपिदिए । उनका अनुसार वास्तविक जिज्ञासा भनेको सूचना थुपारेरमात्रै आउँदैन । अन्योलता वा अनिश्चितताको अवस्थालाई समाधान गर्ने इच्छाबाट सञ्चालित हुन्छ ।
अर्को ढङ्गले भन्नुपर्दा जिज्ञासा भनेको हामी आफूले विश्वास गरिरहेको कुरालाई चुनौती दिने तथा हामीलाई थाहा नभएको कुराबारे खोज्ने साहसबाट आउने कुरा हो ।
जिज्ञासा कसरी बढाउने ?

अबको दिनमा व्यावसायिक वा कुनै पनि क्षेत्रका नेता अथवा अगुवाले जिज्ञासा भन्ने कुरा आफैँ आउँछ भनेर सोच्नु मुर्खता हुन्छ । यो काम सचेततापूर्वक तथा योजनबद्ध ढंगले गर्नुपर्ने हुन्छ ।
बैठक तथा छलफलमा केवल नयाँ जानकारी पेस गर्नेमात्रै नभएर सिर्जनात्मक प्रश्नका लागि पनि ठाउँ दिनुपर्छ । मानिसलाई आफ्नो जिम्मेवारीभन्दा बाहेकका क्षेत्रमा पनि सोच्न, विचार गर्न तथा सानातिना प्रयोग गर्न प्रेरित गर्नुपर्छ । तत्काल कुनै नतिजा नआउने विषय भए पनि उनीहरूलाई प्रयोग गर्ने मौका दिनुपर्छ । आलोचनात्मक चिन्तन वृद्धि गराउने विविध तालिमको अवसर दिनुपर्छ । केवल निर्देशन पालना गर्नेमात्र नभएर आलोचनात्मक ढङ्गले सोच्न सिकाउँदै जानुपर्छ । उनीहरूलाई कठोर प्रश्न सोध्न सक्ने बनाउनुपर्छ । यसले मात्रै नयाँ उचाइको उपलब्धि हासिल गराउने तथा विद्यमान चुनौतीको समाधान गर्न सक्ने बनाउँछ ।
जिज्ञासाले नै मानिसलाई एआईभन्दा बढी मूल्यवान बनाउन सक्छ । एआईको उदयले मानिसको प्रतिभाको मूल्य घटाउँदैन । अब आउने दिनहरूमा कसले धेरै कुरा सम्झन सक्छ वा छिटो जबाफ दिन सक्छ भन्ने कुराले उत्कृष्ट जनशक्ति को हो भन्ने देखाउँदैन ।
बरु प्रश्न पाएपछि रोकिन सक्ने, कल्पना गर्न सक्ने तथा सामुन्नेमा देखिएको यथार्थभन्दा पर सोच्न र हेर्न सक्ने अब्बल हुनेछ । एआईले भविष्यमा धेरै काम गर्न सक्छ तर यसलाई कता लैजाने वा कसरी लैजाने भन्ने कुरामा जिज्ञासाकै भूमिका हुनेछ र, यो गुण केवल मानिसमा मात्रै भएको गुण हो तर, यसको सुरक्षा भने आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्