इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राख्न दूतावासलाई परराष्ट्रको निर्देशन

सहायता आवश्यकता परे दूतावासमा सम्पर्क गर्न आग्रह
इजरायल र इरानबीच चर्किएको द्वन्द्वलाई नेपालले नजिकबाट हेरिरहेको भन्दै मन्त्रालयले ती मुलुकमा रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यक कदम चाल्ने बताएको छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा उच्च प्राथमिकता दिएर दूतावासहरुलाई निर्देशन दिएको छ।
- मन्त्रालयले ती मुलुकमा रहेका नेपालीहरुसँग निरन्तर सम्पर्क राख्न र सुरक्षा सतर्कता सम्बन्धी सूचना दिन निर्देशन दिएको छ।
- हाल इजरायलमा ५,५ सय र इरानमा १२ नेपाली नागरिक रहेका छन्, र इरानमा नेपाली दूतावास छैन।
१ असार, काठमाडौं । पराराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न दूतावासहरुलाई निर्देशन दिएको छ ।
पछिल्लो तीनयता इजरायल र इरानबीच द्वन्द्व चर्किएको छ । परराष्ट्रमन्त्री आरजू देउवा राणाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली दूतावासका राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी ती मुलुकमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
साथै ती मुलुकमा रहेका नेपालीहरुसँग निरन्तर सम्पर्क राख्न र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा नेपालीहरु समक्ष पुर्याउन राजदूतहरुलाई मन्त्री राणाले निर्देशन दिएको मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
हाल इजरायलमा झन्डै ५ हजार ५ सय र इरानमा १२ जना नेपाली नागरिक रहेको तथ्याकं मन्त्रालयले दिएको छ । इजरायल र इरानबीच चर्किएको द्वन्द्वलाई नेपालले नजिकबाट हेरिरहेको भन्दै मन्त्रालयले ती मुलुकमा रहेका नेपालीहरुको हित सुनिश्चित गर्न आवश्यक कदम चाल्ने बताएको छ ।
साथै मन्त्रालयले नेपालीहरुलाई सहायता आवश्यकता परे तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।
इरानमा हाल नेपालको दूतावास छैन । दूतावास बन्द भएपछि इरान मामिला पाकिस्तानस्थित नेपाली दूतावासले हेर्ने गरेको छ । नेपाल र इरानबीच द्विपक्षिय सम्बन्ध कायम नरहेकाले त्यहाँ रहेका नेपालीहरुले कतारमा रहेको राजदूतावासमार्फत समन्वय गर्नुपर्ने छ ।
सन् १९६४ मा नेपाल र इरानबीच द्विपक्षिय सम्बन्ध स्थापना भएको थियो । सन् १९७९ मा इरानमा चर्किएको इस्लामिक क्रान्तिपछि नेपालले सन् १९८१ मा त्यहाँ रहेको नेपाली दूतावास बन्द गरेको थियो ।
नेपाली राजदूतावास, तेल अभिभ, इजरायल
कुमार बहादुर श्रेष्ठ– नियोग उपप्रमुख/प्रवक्ता
फोनः ९७२–५३५३६०७४८, ०३५१००१११
ईमेल : nepalembassy@012.net.il
नेपाली दूतावास, दोहा, कतार
कुमार राई– मिनिष्टर काउन्सेलर/नियोग उपप्रमुख
फोनः ९७४–५५६१६०४०
९७४–४४६७५६८१, ४४६७५६८३, ४४१७१९६२
ईमेल : eondoha@mofa.gov.np
पराराष्ट्र मन्त्रालयले जारी विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्