आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय (काठमाडौँ) विमानस्थलको सञ्चालन अवधि आजदेखि बढ्दैछ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि सोमबारसम्म दैनिक १४ घण्टा मात्रै रहेको थियो । 

आज (मंगलबार)देखि दैनिक १८ घण्टा सञ्चालन हुन थालेको हो । सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ ।  

frontline

विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि वृद्धि गर्न लागिएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएको छ । योसँगै धावनमार्गबाट निर्माण स्थलसम्म कायम हुनुपर्ने न्यूनतम दूरीको मापदण्ड पूरा हुने अवस्थासँगै सञ्चालन अवधि बढाउन लागिएको हो ।  

अब काठमाडौँ विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो । सञ्चालन अवधि बढेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका कम्पनीहरूको उडानको संख्यासमेत आनुपातिक रूपमा बढ्ने विमानस्थल कार्यालयले जनाएको छ ।  

तर, अहिले तोकिएको सञ्चालन अवधि कात्तिक २३ अघिको भन्दा कम हो । विमानस्थलको स्तरोन्नति सुरु हुनुअघि विमानस्थल राति साढे २ बजेसम्म सञ्चालन हुन्थ्यो भने बिहान ६ नबज्दै नै खुलिसक्थ्यो । अहिले सञ्चालन अवधिलाई रातमा २ घण्टा तथा बिहानको १ घण्टा घटाइएको छ । अब यो नै विमानस्थलको पूर्णकालीन सञ्चालन अवधि नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् । 

किन घटाइयो सञ्चालन अवधि ? 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बेलुकी ८ः३० बजे नै सकिन्छ । त्यो पनि पार्किङ गर्न उपत्यका बाहिरका विमानस्थलमा जानैपर्ने व्यवस्था भएकोले मात्रै । त्यसभन्दा पछाडि हुने भनेको अन्तर्राष्ट्रिय उडान तथा अवतरण मात्रै हो । 

अन्तर्राष्ट्रिय उडान तथा अवतरण पनि लगभग १२ बजेसम्म भइसक्छ । विमानस्थल सञ्चालन २ बजेसम्म हुँदा पनि योबिचमा मध्यपूर्वबाट आउनेजाने एक/दुईवटा मात्रै उडान र अवतरण मात्रै हुँदै आएको थियो । खासगरी राति साढे २ बजेसम्म अवतरण गर्नेगरी कतार एयरवेज, फ्लाइ दुबई, कुवेत एयरवेज लगायत केही एयरलाइन्सको उडान यो अवधिमा हुने गर्थ्यो ।

विमानस्थलको सञ्चालन अवधि घट्नुअघिको सेड्युल हेर्ने हो भने कतार एयरवेजको विमान दैकि रूपमा राति १ः०० बजे आइपुग्ने र २ः१५ बजे उड्ने गर्थ्यो । जजिरा एयरको विमान १ः३० बजे आइपुगेर २ः३० बजे उड्ने कार्यतालिका थियो । फ्लाई दुबईको विमान राति ०ः१५ मा आएर १ः१५ मा उड्ने गरेको थियो । कुवेत एयरको विमान १ः०० बजे आइपुगेर २ः०० बजे उड्ने गरेको थियो । दैनिक २/३ वटा फ्लाइटको लागि साढे २ घण्टासम्म चलाएर विमानस्थलको खर्च बढाउन उपयुक्त नभएकोले सञ्चालन अवधिलाई १८ घण्टामा सीमित गर्न लागिएको ती अधिकारी बताउँछन् । 

‘कर्मचारीलाई ओभर टाइम दिएर विमास्थल सञ्चालन गर्नुपर्छ । साढे २ घण्टा कम खोल्दा करोडौं रुपैयाँ बचत हुने अवस्था पनि देखियो । विमानस्थलका मेसिनहरूलाई पनि कम्तीमा ६ घण्टा रेस्ट चाहिन्छ । त्यसैले १२ बजेसम्म मात्रै खोल्न लागेका हौं,’ ती अधिकारी भन्छन्, ‘धेरै फ्लाइट गर्ने भए भैरहवा जानुपर्‍यो, यहाँ योभन्दा धेरै समय चल्दैन ।’

क्यानले सिकाएको ‘सबक’

तर, कारण यतिमात्रै भने छैन । नेपाललाई ईयूको कालोसूचीबाट नहटाउन मध्यपूर्वमा उडान गर्ने केही एयरलाइन्स कम्पनीले ईयूका अधिकारीहरूलाई प्रभावमा पार्न सहयोग गरेको बुझाइ क्यानका अधिकारीहरूको छ । 

ईयूको कालोसूचीबाट हट्दा नेपाली विमान युरोपसम्म जाने र यसबाट महँगो भाडा उठाउन नपाउने भएकोले नेपाललाई वर्षौंसम्म कालोसूचीमा राख्न ईयूका अधिकारीहरूलाई प्रभावित पार्ने भूमिका यी एयरलाइन्स कम्पनीहरूको समेत रहेको आशंका गरिएको हो । खासगरी कतार एयरवेज, फ्लाई दुबई र टर्किस एयरमाथि यस्तो आशंका गरिएको छ । नेपालमै उडान भरेर नेपाललाई नै कालोसूचीमा समावेश गरिराख्न प्रोत्साहन गरेपछि ‘सबक’ सिकाउन यो नीति लिइएको हो । 

रातभरी फ्लाइट हुन दिँदा विमानस्थल वरपरका नागरिकलाई सुत्नसक्ने वातावरण पनि थिएन । यो निर्णयले उनीहरूलाई पनि न्याय हुने तथा गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई पनि केही हदसम्म भए पनि सहयोग हुने क्यानले जनाएको छ । 

अहिले नेपाली आकाशलाई ईयूले सन् २०१४ देखि सेफ्टी लिस्ट (कालोसूची) मा राख्दै आएको छ । आईकाओको सूचीमा एसएससीको सूचीमा थियो । सन् २०१८ मा नेपाल एसएससीबाट हटे पनि ईयूले एकपछि अर्को शर्त तेर्स्याउँदै नेपाललाई उक्त सूचीबाट हटाउन मानिरहेको छैन । अहिले ईयूले क्यानलाई टुक्र्याउनुपर्ने शर्त राखेको छ । तर, यो शर्त पूरा भएर पनि कालोसूचीबाट हटाउने भरपर्दो आश्वासन भने दिएको छैन । 

कर्मचारीहरू निरन्तर आन्दोलनमा

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी ल्याएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक–२०८१’ तुरुन्त फिर्ता लिनुपर्ने माग राख्दै ११ दिन देखि प्राधिकरणका कर्मचारीहरू आन्दोलनमा  छन् । आधिकारिक ट्रेड युनियनले गरिरहेको आन्दोलनलाई अन्य कर्मचारीहरूले समेत साथ दिँदै आएका छन् । 

आइतबार सिनामंगलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहानैदेखि कर्मचारीहरूले हातमा कालो पट्टी बाँध्दै २ बजेसम्म पेन डाउन गरी सो विधेयकको विरोध गरेका थिए ।

अहिले उक्त विधेयक प्रतिनिधिसभामा पेश भइसकेको छ । यद्यपि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विदेश भ्रमणका कारण कार्यसूचीमा प्रवेश गरेको छैन । अब संसद्को अधिवेशन बन्द हुने भएकोले बर्खे अधिवेशनमा मात्रै उक्त कार्यसूची अघि बढ्ने देखिएको छ । त्यसो त बर्खे अधिवेशनको अधिकांश समय बजेटसम्बद्ध विधेयकउपर छलफलमा जाने भएकोले यसले लामो समय लाग्ने अवस्था देखिएको छ । 

#त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here