आँबु–पोखरा सडकको पूर्वीखण्ड कालोपत्र हुन ६.८ किलोमिटर मात्रै बाँकी
पर्यटकीय नगरी पोखरालाई राजधानी काठमाडौं तथा चितवनसम्म जोड्ने पृथ्वी राजमार्ग सडक विस्तारको कामले हिउँद लागेसँगै गति लिन थालेको छ ।
८० किलोमिटर लामो यो सडकलाई दुईखण्ड गरेर काम थालिएको थियो । तनहुँको आँबुखैरेनीदेखि म्याग्दे गाउँपालिकाको जामुने भञ्ज्याङसम्मको ४१.५ किलोमिटर सडकलाई पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म ३९.५किलोमिटरलाई पश्चिम खण्ड मानेर सडक विस्तार भैरहेको छ ।
सडक विस्तार योजनाका अनुसार पूर्वी खण्डको काम पश्चिमखण्डको भन्दा अपेक्षाकृत राम्रो छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्व २१ करोड ३१ लाखमा पाएको थियो ।
पूर्वी खण्डको ४१.५ किलोमिटर मध्ये ३५ किलोमिटर सडक कालोपत्रे भैसकेको आयोजना प्रमुख प्रकाशचन्द्र भण्डारीले जानकारी दिए । ‘अब ६.८ किलोमिटर जति मात्रै कालोपत्रे गर्न बाँकी छ, बाँकी सडक कालोपत्रे भैसकेको छ, कतै एकतर्फी छ, कतै दुईतर्फी नै छ, कतै फाइनल काम पनि भैरहेको छ’ आयोजना प्रमुख भण्डारीले भने, ‘अब फागुनसम्म ५.२ किलोमिटर पनि कालोपत्रे गरिसक्ने योजना छ ।’ दुईतर्फी २३ किलोमिटर कालोपत्रे भैसकेको छ । दैनिक डेढ किलोमिटरको दरमा ‘ओभर ले’ गर्ने काम चलिरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।
यो खण्डमा १४ साना पुल निर्माण सकिएका छन् । सडकखण्डका तीन ठूला पुल नाला खोला, बुल्दी र बरादीका मध्ये नालाको एक मात्रै पुलको काम बाँकी छ । फागुनसम्म सो पनि सक्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।
व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब ५० प्रतिशत सकिएको छ । मादी नदी माथिको पुल जेआईईसी र अनक जेभीले निर्माण गरिरहेका छन् । अहिलेको पुलभन्दा माथिल्लो भागमा बन्दै गरेको पुलको ठेक्का रकम १ अर्व २० करोडको छ ।
पूर्वीखण्डको हालसम्मको भौतिक प्रगति करीव ७० प्रतिशत पुगेको आयोजना प्रमुख भण्डारीले बताए । वित्तीय प्रगति भने ५२ प्रतिशत हाराहारी छ ।
आयोजना प्रमुख भण्डारीले ब्यास नगरपालिकाले निकासीमा दोहोरो कर लगाउँदा काम गर्न समस्या भैरहेको बताए । ‘ठेकदारले लिखित रुपमा नै दोहोरो कर नहटे काम गर्न नसक्ने पत्र दिइसकेको छ, हाम्रो प्लान्ट आँबुखैरेनीमा छ, त्यहाँसम्म माल लैजान र तयार गरेर ल्याउँदा ब्यासले दोहोरो कर लिने गर्दा काममा समस्या आउने अवस्था आयो’ आयोजना प्रमुख भण्डारीले भने, ‘नगरपालिकाले विकासका काममा यस्ता समस्या खडा गर्दा कामले गति लिन सक्दैन ।’ नगरपालिकालाई दोहोरो कर नलिन पटक–पटक भनिएको तर समस्या समाधान नभएको उनले गुनासो गरे ।
पूर्वी खण्डको दोस्रो पटक थपिएको म्याद आगामी फागुन १ गते सकिँदैछ । सो अवधिसम्म सडक विस्तारको कामलाई तीव्र बनाउने र केही काम बाँकी रहे छोटो समयका लागि म्याद थप लिने तयारी ठेकेदारको छ ।
अन्तिम चरणको कालोपत्र सकिएपछि सडक रङ्गरोगनको काम अगाडि बढाइने उनले बताए । पूर्वी खण्डको डुम्रे बजार, बिमलनगर र दमौली बजारमा अहिले काम केन्द्रित गरिएको छ । नाला बनाउने, वाल लगाउने लगायतका कामहरू भैरहेका छन् । दमौली बजारमा केन्द्र भागबाट दायाँवायाँ २३/२३ मिटरलाई आधार मानेर सडक विस्तारको काम हुनेछ ।
यस्तै तनहुँको जामुनेदेखि पोखरासम्मको ३९.५ किलोमिटर सडक विस्तारको कामको भौतिक प्रगति करीव ३५ प्रतिशत मात्रै छ । सो सडकखण्ड विस्तारको जिम्मा चीनकै कम्पनी यनहुई काइयुआन हाइवे एन्ड ब्रिजले लिएको थियो । सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।
तीन वर्ष भित्र सडक विस्तारको काम सकिसक्ने गरी २०७८ जेठ २ गते सो कम्पनीले ७ अर्ब ४० करोड ४६ लाखमा ठेक्का पाएको थियो । ठेक्का सम्झौता भएको मितिले ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि विभिन्न कारण देखाउँदै ठेकेदारले दुईपटक म्याद थप लिइसकेको छ । पश्चिम खण्डको म्याद आगामी २०८२ पुस १६ गतेसम्मका लागि दोस्रोपटक थपिएको छ । हालसम्म २३ दशमलव ९१ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये ५ दशमलव ४५ किलोमिटर दुईतर्फी र १८ दशमलव ४६ किलोमिटर एकतर्फी कालोपत्र भएको छ ।
यो खण्डमा ८ वटा साना पुल र ४ वटा ठूला पुल गरी १२ वटा नयाँ पुलहरू रहेकोमा ५ वटा पुल बनिसकेका छन् । केही तयार हुने क्रममा छन् । कास्कीको विजयपुर क्षेत्रका विद्युत् पोल र खानेपानीका पाइपहरुका कारणले सडक विस्तारमा ढिलाइ भएको आयोजनाले जनाएको छ ।
अहिलेको सडकलाई विस्तार गरी शहरी क्षेत्रमा सर्भिसलेनसहित ६ लेन र अन्यत्र चार लेनमा विस्तार गरिनेछ । त्यसको बीच भागमा ३ मिटरको मेडियन बन्ने छ । ६ लेनमा तीनवटा मेडियन हुने डिजाइनमा उल्लेख छ । विमलनगर, डुम्रे, दमौली, खैरहनीटार लगायतका बजार क्षेत्रमा सडक ६ लेन हुनेछ ।
विस्तार भएपछि ‘मेडियन’ को दुईतर्फ ७–७ मिटरको सडक बन्नेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । सहरी क्षेत्रका ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिने छन् । चार लेनको सडकको दायाँवायाँ नै साढे २ मिटरको सोल्जर (अतिरिक्त पिच) गरिनेछ । यसले मुख्य लेनबाट बाहिरिनुपर्दा पनि सवारीलाई दुर्घटनाबाट बचाउँछ भने मुख्य लेनलाई पनि बलियो बनाइराख्छ ।
सो ठेक्कामा तीन वर्ष निर्माण, एक वर्ष मर्मत र त्यसपछि पाँच वर्ष सम्भारको अवधि गरी जम्मा नौ वर्षसम्म कम्पनीसँग सम्झौता रहने छ ।
प्रतिक्रिया दिनुहोस्