अर्थतन्त्रको उत्थानमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

श्रोत : ईन्टरनेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको अर्थतन्त्रको उत्थानमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको योगदान महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले निजी क्षेत्रको प्रयासमा सरकारको साथ रहने बताउनुुभएको जानकारी प्रधानमन्त्रीको कार्यालयका उपसचिव बद्री तिवारीले दिनुुभयो ।

frontline

नेपाल उद्योग परिसङ्घको नवनिर्वाचित पदाधिकारीसँग बिहीबार भएको भेटमा प्रधानमन्त्री देउवाले परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीलाई बधाई एवं कार्यकालको सफलताको शुभकामना दिनुभयो ।

भेटमा परिसङ्घका अध्यक्ष अग्रवालले जनजीवन सामान्य बनाउन र अर्थतन्त्रमा गतिशीलता दिन सबैलाई खोपको व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

कोभिडको भ्याक्सिन वितरणमा उद्योगी व्यवसायी र उद्योग व्यवसायमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले आग्रह गर्नुभयो ।

यसैबीच परिसङ्घ पदाधिकारीले बिहीबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई पनि भेटेको थियो । भेटका क्रममा मन्त्री भुसालले औद्योगिक क्षेत्रको विद्युत् महसुल पनि घटाउने बताउनुभएको छ ।

मन्त्रालय नेतृत्व गरेलगत्तै गरिब परिवारलाई निःशुल्क र गार्हस्थ उपभोक्तालाई सस्तोमा बिजुली दिने आफ्नो योजना सुनाउनुभएकी मन्त्री भुसालले बिहीबार उद्योगी व्यवसायीलाई पनि सस्तोमा बिजुली उपलब्ध गराउने आश्वासन दिनुभएको नेपाल उद्योग परिसङ्घले जनाएको छ ।

भेटमा ऊर्जामन्त्री भुसालले देशमा विद्युत् उत्पादन बढ्दै जाँदा औद्योगिक क्षेत्रको महसुुल पनि कम गर्ने बताउनुभएको हो ।

आफू अहिले गार्हस्थ विद्युत्को महसुल घटाउने योजनामा लागेको र त्यसपछि औद्योगिक क्षेत्र पनि महसुल सस्तो बनाउने बताउनुभएको हो ।

मन्त्री भुसालले आर्थिक विकास, गरिबी निवारण, औद्योगिक विकास र कृषिको विकासका लागि ऊर्जा कच्चा पदार्थ भएकाले यसको सुलभ उपलब्धता आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आर्थिक विकासको कच्चा पदार्थ विद्युत् हो, कच्चा पदार्थ बेचेर कोही धनी भएको छैन, हामी पनि आन्तरिक खपतमा नै जोड दिने छौँ । ”

मन्त्री भुसालले आफू विद्युत् क्षेत्रका समस्या समाधान गर्न सबैखाले नीतिगत सहजीकरण गर्न तयार रहेको पनि बताउनुभएको थियो ।

मन्त्री भुसालले डेडिकेटेड र ट्रङ्क लाइनको विद्युत् महसुलसम्बन्धी विवाद आफ्नो मन्त्रालयले मात्रै टुङ्ग्याउन नसक्ने उल्लेख गर्नुभयो ।

परिसङ्घका अध्यक्ष अग्रवालले पावर ह्विलिङको व्यवस्था कार्यान्वयनका लागि आवश्यक कार्यविधि जारी गर्न आग्रह गर्नुभयो ।

उहाँले विद्युत् निर्यातको सट्टा स्वदेशी उद्योगहरूलाई निर्यातकै दरमा गुणस्तरीय विद्युत् उपलब्ध गराउँदा आन्तरिक बजारमा विद्युत् खपत बढ्ने र अर्थतन्त्रको योगदान गर्ने बताउनुभयो ।

उद्योगहरूले अहिले पनि ट्रिपिङ, कम भोल्टेजजस्तो समस्या भोगिरहेको भन्दै उहाँले विद्युत्को गुणस्तरमा सुधारमा ध्यान दिन पनि मन्त्री भुसालको ध्यानाकर्षण गर्नुभएको थियो ।

परिसङ्घले एक घर एक विद्युतीय चुलो अभियान चलाउन पनि सुझाव दिएको छ । एक एक सहरमा विस्तार गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

परिसङ्घले एक प्रदेशमा कम्तीमा एउटा सय मेगावाटभन्दा ठूला जलाशयुक्त वा अर्धजलाशययुक्त जलविद्युत् आयोजना अगाडि बढाउन पनि सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here