अमेरिकी कम्पनी इनड्राइभर नेपाल भित्रियो
१४ जेठ, काठमाडौं । आकर्षक बजारका कारण राइड सेयरिङमा अमेरिकी कम्पनी इनड्राइभर नेपाल आएको छ। एक वर्षको परीक्षणपछि कम्पनीले बुधबार सेवा सुरु गरेको औपचारिक घोषणा गरेको हो।
इनड्राइभरको प्रवेशपछि राइड सेयरिङ बजारमा दबदबा कायम गरिरहेको बंगलादेशी कम्पनी पठाओलाई टक्कर दिनेछ। अहिले नेपालमा संचालन भइरहेका राइड सेयरिङ सेवामा यात्रुहरुले भाडादरमा मोलमलाइ गर्न पाउँदैनन्।
जानुपर्ने गन्तव्य छानेपछि इनड्राइभरले करेन्ट फेयर (भाडादर) तोकिदिन्छ। त्यसपछि चालकहरुले आफुअनुकुल उक्त मूल्यमा वा बढाएर यात्रुलाई अफर गर्छन्।
उक्त अफर चित्त बुझे यात्रुले चालक छान्न सक्छन्। यदि भाडा महँगो भएमा पुन: १० रुपैयाँ थपेर करेन्ट फेयर यात्रुहरुले बढाइदिन सक्छन्। करेन्ट फेयरभन्दा कममा भने यात्रुहरुले भाडा घटाउन सक्दैनन्।
यसैका कारण इनड्राइभर अरु राइड सेयरिङ एपभन्दा फरक छ। जहाँ यात्रुले भाडादर परिवर्तन गर्न सक्छन्। इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले केही महिनाको परीक्षणपछि नेपाली उपभोक्तालाई सस्तो र सुलभ यात्रा गराउने उदेश्यले सेवा सुरु गरेको बताईन्।
‘हो पक्कै नेपालमा केही महिनादेखि नै इनड्राइभर अनौपचारिक रुपमा संचालन भइरहेको थियो। हामीले परीक्षणका लागि काठमाडौंमा सेवा संचालन गरेका थियौं।
अहिले अवस्था ‘अल सेट’ भएपछि हामी औपचारिक रुपमा सेवा संचालन गर्न तयार भएका छौं,’ नन्दाले दिल्लीबाट बिजमाण्डूसँग भनिन्। इनड्राइभर अरु राइड सेयरिङ एपभन्दा फरक रहेको दाबी नन्दाको छ।
‘हामी नेपालमा संचालन भइरहेका अरु राइड सेयरिङ सेवा भन्दा फरक छौं। हाम्रो सेवाको शैली नै फरक छ। इनड्राइभरमा यात्रुहरुलाई हामीले स्वतन्त्र छोडेका छौं। सायद अरु सेवा प्रदायकहरुसँग यस्तो सुविधा छैन। नेपाली बजारमा हामी फरक किसिमले आएका छौं,’ नन्दाले भनिन्।
यात्रुहरुलाई मूल्यमा स्वतन्त्र छोड्दा सेवा पनि सस्तो हुन जिकिर इनड्राइभरको छ। सँगै मूल्यमा स्वतन्त्र हुँदा सेवा शुल्क पनि सस्तो पर्ने दाबी नन्दाले गरिन्।
त्यसैगरी, आगामी ६ महिनासम्म कम्पनीले सेवा दिएवापत् कुनै पनि कमिसन नलिने नन्दाले जानकारी दिइन्। ६ महिना पछि भने निकै सस्तो कमिसन दरमा सेवा संचालन गर्ने उनले बताइन्।
‘हामी इनड्राइभर नेपालमा ल्याउँदा उत्साहित छौं। हाल हामीले आफ्नो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका छौं। छिट्टै नै नेपालका मुख्य सहरहरुमा उपलब्ध गराउनेछौं। कम्तीमा सेवा सञ्चालनको सुरुवाती ६ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन लिने छैन।
प्रत्येक राइडको सम्पूर्ण शुल्क करबाहेक आफैंले प्रयोग गर्न चालकले पाउनेछन्। इनड्राइभरले हालसम्म चार हजारभन्दा बढी चालकहरुलाई काठमाडौंमा साइन अप गरिसकेका छन्,’ नन्दाले भनिन्।
इनड्राइभर ग्लोबल आइटी तथा यातायात प्लेटफर्म हो। इनड्राइभर विश्वकै तीव्र रुपमा विस्तार भइरहेको नलाइन राइड हेलिङ सेवा भएको कम्पनीले जनाएको छ।
इनड्राइभर सेवा विश्वका ४२ देशका ६ सय सहरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ।
इनड्राइभरले अन्तरसहर यातायात, फ्रेट तथा कार्गो सेवा तथा विभिन्न सहरमा डेलिभरीलगायतका अन्य सेवा पनि दिँदै आएको छ। इनड्राइभरको मुख्यालय क्यालिफोर्नियामा छ।
यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरुमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ। कम्पनीले एक हजार सात जनालाई रोजगारी दिएको जनाएको छ।
२०२१ को सुरुआतमा इनड्राइभरले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बण्ड क्यापिटलको १५ करोड डलर लगानीसहित यूनिकर्न स्टाटस पाएको थियो। यो प्रक्रियामा कम्पनीको मूल्यांकन एक अर्ब २३ करोड डलर गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्