अमेरिका पनि अब युरोपको शत्रु


गत साता अमेरिकी उपराष्ट्रपति जेडी भान्सले म्युनिख सुरक्षा सम्मेलनको मञ्चमा आएर कडा चेतावनी दिए। त्यहाँ जम्मा भएका नेता तथा कूटनीतिज्ञहरूलाई उनले युरोपेली सम्भ्रान्तहरूबाट वाक् स्वतन्त्रता र लोकतन्त्र खतरामा परेको बताए। उनले भने, ‘युरोपको सम्बन्धमा रुसबाट होइन, चीनबाट होइन, आफैँभित्रबाट उत्पन्न हुने खतराप्रति मलाई सबैभन्दा ज्यादा चिन्ता छ।’

आफ्ना स्रोताहरूलाई अपमानित मात्र गर्ने होइन, तिनलाई आफ्नो कुरामा सहमत गराउने भान्सको चाहना थियो भने उनी असफल भए। वास्तवमा उनको भाषण नराम्ररी प्रत्युत्पादक ठहरियो। उनको कुरा सुन्ने थुप्रै मान्छे अब युरोपका लागि अमेरिका आफैँ खतरा बनेकोमा विश्वस्त भए। 

frontline

सम्मेलन हलबाहिर भेला भएको भीडमा एक प्रमुख जर्मन नेताले मसँग भने, ‘यो त युरोपेली लोकतन्त्रमाथिको ठाडो हमला हो।’ अर्का वरिष्ठ कूटनीतिज्ञले भने, ‘अब स्पष्ट भइसक्यो, युरोप एक्लै छ।’ 

मैले उनलाई सोधेँ, के तपाईं अब अमेरिकालाई शत्रु मान्नुहुन्छ?

उनको जवाफ थियो, ‘हो।’

‍भान्सको भाषणबारे मैले सुनेको सबैभन्दा सकारात्मक टिप्पणी थियो– ‘यो अमेरिकी दर्शक लक्षित बालसुलभ बकवास हो। त्यसैले यसलाई सुरक्षित रूपले बेवास्ता गर्न सकिन्छ।’ तर, उनको भाषणलाई युक्रेन र युरोपलाई पन्छाएर भ्लादिमिर पुटिनसँग वार्ता गर्ने डोनाल्ड ट्रम्पको निर्णयको सन्दर्भमा मिहिन विश्लेषण हो भने स्पष्ट हुन्छ– अमेरिकी ‘कल्चर वार’, अन्तर्राष्ट्रिय सुरक्षा र युरोपेली राजनीतिलाई अलग गर्न सकिँदैन।

पश्चिमा गठबन्धनलाई ८० वर्षदेखि जोड्ने आधार बनेको स्वतन्त्रता, लोकतन्त्र र साझा मूल्यजस्ता विचारहरूलाई भान्सले उल्ट्याउने काम गरे। उनको दृष्टिमा स्वतन्त्रताको लडाइँ अब निरंकुश र आक्रामक रुसविरुद्ध छैन। भान्सको स्वतन्त्रताको लडाइँको सरोकार अब व्यापक आप्रवासन र ‘वोक माइन्ड भाइरस’को दोहोरो खतराबाट ‘पश्चिमा सभ्यता’ को रक्षासँग मात्र छ।

ट्रम्प प्रशासनको यो विचारधाराको अर्थ के हो भने अब महत्त्वपूर्ण मामिलामा अमेरिका भ्लादिमिर जेलेन्स्की होइन, पुटिनसँग निकट महसुस गर्छ। पुटिनलाई आफ्नो मुलुक र परम्परागत मूल्यहरूका लागि लडिरहेको योद्धाका रूपमा लिइन्छ। जेलेन्स्कीलाई सित्तैमा खान पल्केको व्यक्तिका रूपमा खारेज गरिन्छ, जसले मित्र पनि गलत (युरोप) चुनेका छन्।

ट्रम्प प्रशासन युरोपका दक्षिणपन्थीहरूलाई साँचो सहयोगी मान्छ। जर्मनीको एएफडी पार्टीजस्तालाई सरकारमा सहभागी गराउन आह्वान गरेर भान्सले युरोपलाई भिक्टर अर्बानको हंगेरीको अलि ठूलो स्वरूपमा बदल्न आह्वान गरेका हुन्। म्युनिखमा जर्मन चान्सलर ओलाफ सोल्जलाई भेट्न समय नपाएका भान्सले एएफडीकी नेतृ एलिस वाइडेललाई भेट्नुले धेरै कुरा भन्छ।

युरोपमा भान्सको अभिव्यक्तिको असरमा विचार गर्नुअघि हामीले यहाँ देखिएको पाखण्डलाई ध्यान दिन जरुरी छ। ट्रम्पले २०२० को राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउने कोसिस गरे। र, उनका उपराष्ट्रपति युरोपेलीहरूलाई लोकतन्त्रको सम्मानबारे पाठ पढाइरहेका छन्!

भान्सको तर्क प्रत्यारोप गरेर प्रश्नबाट उम्किने रुसी शैलीकै छ। उनले अमेरिकी लोकतान्त्रिक संस्थाहरूमाथि ट्रम्प प्रशासनले गरेको घात अनि युक्रेनमाथि हुन लागेको विश्वासघातबाट ध्यान हटाउन बेलायतमा गर्भपतनविरोधीहरूमाथि भएको कथित उत्पीडनको कुरा उठाए। यस्ता कुरामा उनी साँच्चै विश्वास गर्छन् कि गर्दैनन् भन्ने कुरा विशुद्ध मनोवैज्ञानिक रुचिको विषय हो। युरोपका लागि त यसको रणनीतिक परिणामले मात्र अर्थ राख्छ।

स्पष्ट रूपमा ट्रम्प जेलेन्स्की र युरोपेलीहरूलाई छलेर पुटिनसँग सम्झौता गर्ने उदेश्य राख्छन्। युक्रेनका लागि यसको परिणाम दुःखद हुन सक्छ। उसलाई चाँडै नै गुमेको भूमि माया मार्न भनिन सक्छ। त्यो पनि भविष्यका लागि सुरक्षाको ग्यारेन्टी नदिई। त्यसको विकल्प भनेको युक्रेनले अमेरिकाको सहयोगबिनै रुससँगको लडाइँ जारी राख्ने कोसिस गर्नु हो।

यसको नतिजा बाँकी युरोपका लागि पनि चिन्ताजनक छ। पुटिन पूर्व सोभियत साम्राज्यको सम्पूर्ण क्षेत्रबाट नेटो सेना हटोस् भन्ने चाहन्छन्। ट्रम्प बाल्टिक राष्ट्रहरूबाट नेटो सेना हटाउन तयार हुन सक्ने युरोपेली अधिकारीहरूको विश्वास छ। जसले गर्दा ईयू मुलुकहरू रुसी सेनाका सामुन्ने असुरक्षित बन्न सक्छन्।

अब अमेरिकालाई युरोपको विश्वसनीय सहयोगी मान्न सकिँदैन भन्ने स्पष्ट छ। त्यसमाथि युरोपमा ट्रम्प प्रशासनको राजनीतिक महत्त्वाकांक्षाको अर्थ हो– हाललाई अमेरिका युरोपको शत्रु पनि हो। जसले युरोपको लोकतन्त्र र ग्रिनल्यान्डको हकमा युरोपको भूमिमाथि पनि खतरा पैदा गरेको छ।

उसोभए के गर्ने त? युरोपेलीहरूले त्यो दिनका लागि तीव्र गतिमा तयारी सुरु गर्न आवश्यक छ, जुन दिन युरोपका लागि अमेरिकी सुरक्षा ग्यारेन्टी समाप्त हुने छ। त्यसमा स्वायत्त रक्षा उद्योगको स्थापना अपरिहार्य छ। त्यस्तै, नेटोभन्दा बाहिर र ईयूबाहेककै युरोपेलीहरूको आपसी रक्षा सम्झौता पनि हुनुपर्छ। त्यसमा बेलायत, नर्वे र अन्य मुलुकलाई सहभागी गराइनु पर्छ।

ट्रम्पले व्यापार र सुरक्षादेखि घरेलु राजनीतिसम्ममा युरोपेली मुलुकहरूलाई आफ्नो कुरा मान्न बाध्य पार्नेगरी जुनसुकै हथकण्डा अपनाउने छन्। यसको अर्थ के हो भने युरोपले अहिले नै अमेरिकासँगको सम्बन्धमा पीडादायी जोखिम न्यूनीकरण प्रक्रिया थाल्नुपर्छ। जुनजुन क्षेत्रमा युरोप खतरनाक तरिकाले अमेरिकासँग निर्भर छ, त्यसलाई हटाउनु पर्छ।

महत्त्वपूर्ण पूर्वाधारका विषयमा इलोन मस्कसँग निर्भर भए समस्या आइपर्न सक्छ। ट्रम्प प्रशासनले युरोपेलीहरूलाई थप अमेरिकी हतियार किन्न ठूलो दबाब दिने छ। विद्यमान परिस्थितिमा त्यसो गर्नु मूर्खता हुने छ।

थुप्रै युरोपेलीहरूले असम्भव मानेर यी विचारहरूमा आपत्ति प्रकट गर्नेछन्। तर, उनीहरूले बुझ्न जरुरी छ– अहिले उनीहरूको स्वतन्त्रता नै दाउमा छ। यसमा भान्स सही थिए। मात्र उनले भनेजसरी चाहिँ होइन। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here