अमेरिका नपुग्ने बाटो : ‘ट्रान्जिटमा हप्तौं लुकेर बसेँ, आधा करोड गुमाएपछि जेल परेर फर्कें’

अवैध बाटोबाट अमेरिका पुग्न खोज्ने नेपालीलाई कतिसम्म आर्थिक शोषण र शारीरिक हैरानी हुन्छ भन्ने उदाहरण हुन् – वीरेन्द्र, शिवराज र गणेश । ट्रान्जिटमा हप्तौं लुकेर बस्नु, अज्ञात मुलुकमा लामो समय बन्धक हुनु र अनिश्चित गन्तव्यमा बेसाहारा भएर महिनौं बिताउनुको दुःख उनीहरुलाई मात्रै थाहा छ ।
७ चैत, काठमाडौं । बझाङका वीरेन्द्रबहादुर कुँवर (३२) डेढ वर्षअघिसम्म गाउँमा खेती गरेर गुजारा चलाइरहेका थिए । एसएलसी पास गरेको भए पनि रोजगारीको अवसर थिएन, जिन्दगी जेनतेन चलेकै थियो ।




कहिलेकाहीं परिवार चलाउनै धौ–धौ पर्दा चाहिं उनी चिन्तित हुन्थे । त्यही बेला सामाजिक सञ्जाल फेसबुकको फिड सार्दा गाउँका साथीहरू अमेरिका पुगेर गगनचुम्बी भवन अगाडि खिचेका फोटोहरू देखिन्थे ।
‘मेरै गाउँबाट त गएका थिएनन्, तर रुकुमतिर हामी जस्तै धेरै साथीहरू अमेरिका पुगिसकेका थिए’ कुँवरले सम्झिए, ‘तीमध्ये बारीकोटका मित्रमान (नाम परिवर्तन) सँग मेरो कुरा भइराख्थ्यो ।’
तिनै मित्रमानले कुँवरलाई धेरैका लागि सपनाको देश अमेरिका जाने तल्लो बाटोबारे जानकारी दिएका थिए । ‘म पनि त्यसैगरी आएको हुँ, तिमी पनि आउने भए एजेन्टको सम्पर्क दिन्छु’, उनको प्रस्ताव थियो । कुँवरका लागि त्यो अवसर थियो– दुःखको भारी विसाएर नयाँ जिन्दगी शुरु गर्ने ।
उनी थप खोधखोज गर्न थाले । मित्रमानले उनलाई रुकुमको आठविसकोट–९, राडीका रेशम शाह नामक व्यक्तिले अमेरिका पठाउने भन्दै उनको सम्पर्क नम्बर दिए । ‘अमेरिका आउने भए ऊसँग गएर भेट्न भनेको थियो’ उनी भन्छन्, ‘उसले मेरो नम्बर पनि रेशमलाई दिने भनेको थियो ।’
उनले रेशमलाई सम्पर्क गर्ने तरखरमा थिए । तर, त्योभन्दा बढी व्यग्रता एजेन्टको देखियो । उनीभन्दा पहिले रेशमले आफैं उनलाई पटक–पटक फोन गरेर भेट्न आउन भन्न थाले । आफूले १५ देखि २० जनालाई अमेरिका पठाइसकेको भन्दै उनले कुँवरलाई प्रलोभन देखाउन थाले ।
रेशम ‘काठमाडौं टु अमेरिका’ रुट सहजै बताउँथे– दुबई, ब्राजिल, मेक्सिको हुँदै दक्षिण अमेरिका । दुबईबाट चार्टर्ड फ्लाइट चलाउने स्थिति भए झन् चाँडै अमेरिका पुगिने भन्दै उनी आश देखाउँथे ।
https://datawrapper.dwcdn.net/4awVa/3
‘दुई वर्ष पहिल्यै आफूले चिनेको साथी उनी मार्फत अमेरिका पुगिसकेको थियो, नपत्याउनुपर्ने कुनै कारण थियो जस्तो लागेन’ कुँवर सम्झन्छन्, ‘त्यसपछि २६ असोज २०८० मा मैले काठमाडौंको नयाँ बसपार्कमा आएर रेशमलाई भेटेको थिएँ ।’
त्यसबेला रेशमले आफ्नो दाइ रिजनविक्रम शाह पनि अमेरिकामै रहेको भन्दै ३ महिनाभित्र पठाइदिने बताएका थिए । ‘तपाईंको पैसा फस्ने कुरै छैन, दाजु जानुभएको पनि चार वर्ष भइसक्यो’ उनले लोभ देखाए, ‘कुनै चिन्ता नलिनुभए हुन्छ ।’
अमेरिकासम्म पुग्दा जम्मा खर्च ५५ लाख रुपैयाँ पुग्ने उनले बताएका थिए । तर, त्यसका लागि १५ लाख अग्रिम भुक्तानी गर्नुपर्ने उनको भनाइ थियो । बाँकी यात्राका क्रममा दिंदै जानुपर्ने उनको भनाइ थियो । त्यसअनुसार शुरूमा केही रकम हाल्न भन्दै रेशमले आफ्नै बैंक खाता नम्बर दिए ।
कुँवरले पहिलो पटक २०८० असोजमा उनलाई ४ लाख रुपैयाँ हालिदिए । रकम पाएपछि रेशमले २०८० मंसिर तेस्रो हप्तातिर काठमाडौंबाट उडाउने बताएका थिए । त्यसबेलासम्म थप १५ लाख रुपैयाँ तयार गरिसक्नुपर्ने उनले बताएका थिए ।
‘तर, त्यही बीचमा उनले एअरपोर्टमा सेटिङ मिलाउन १ लाख रुपैयाँ तत्काल चाहियो भन्दै रकम मागेका थिए’ कुँवर सम्झन्छन्, ‘ह्वाट्स एप र फोनबाट उनले निरञ्जनजंग पाण्डेलाई त्यसका लागि पैसा दिनुपर्ने भनेका थिए ।’
उनले भने अनुसार, कुँवर पैसा बुझाउँदै गए । २१ मंसिरमा २०८० मा उनी अमेरिका जान काठमाडौं आए । उनलाई टिकट थमाइएको थियो ।
तर, विमानस्थल पुगेपछि उनले थाहा पाए– त्यो दिन एअर अरेबियाको उडान नै रहेनछ, टिकट नै डमी मात्र रहेछ । पहिलो गाँसमै ढुंगा लागिसकेको थियो, तर अमेरिकाको लामो यात्रामा निस्किएका उनले सोचे केही प्राविधिक गडबडी मात्र होला ।
त्यो दिन कुँवर फर्किएर विमानस्थल नजिकै रहेको होटलमा पुगे । बेलुकी अर्को दिन जसरी पनि उड्ने हो भन्दै रेशमले उनलाई थप नगद रकम मागे । त्यसपछि उनले त्यहीं ३ लाख रुपैयाँ थमाए । तब बल्ल २२ मंसिर २०८० मा उनी दुबई उडे ।
दुबई पुगेपछि उनको भेट चितवन स्थायी घर भएका कैलाश अधिकारीसँग भयो । उनले कुँवरलाई बरदुबईको एउटा होस्टलमा लगेर राखे, जहाँ अमेरिका जान खोज्ने अरू मानिसहरू पनि थिए । होस्टलमा लैजाँदा अधिकारीले उनलाई दुबईबाट निकारागुवाको लागि चार्टर्ड फ्लाइट मिलाउँदै गरेको जानकारी दिए ।
https://datawrapper.dwcdn.net/cq51j/2
‘त्यसका लागि थप १० लाख आवश्यक पर्ने भन्दै हालिदिन भनेको थियो, त्यसबेला रेशमले आफ्नो ठूलोबुबा नाता पर्ने वीरेन्द्रबहादुर मल्लको खाताको नम्बर दिएको थियो’ कुँवरले बेलिविस्तार लगाए, ‘त्यसअनुसार, मैले रकम पनि हालिदिएँ, तर विमान कहिल्यै चार्टर्ड भएन ।’
उनीहरू विमान चार्टर्ड हुने मिति पटक–पटक सारिरहन्थे । कुँवरसँग विश्वास गर्ने बाहेक अरू विकल्प थिएन । त्यतिञ्जेल उनी दुबईको होस्टलमा बन्धक झैं रहे । दुबईमा अध्यागमन दस्तुर बापत तिनुपर्ने २ लाख ९६ हजार रुपैयाँ पनि उनी आफैंले तिर्नुपर्यो । होस्टलको कतिपय पैसा पनि आफैंले बुझाउनुपर्यो ।
‘अहिले म्यानेज गर्नुस्, पछि जम्मा पैसाबाट कटाउँछु भनेपछि बीच बाटोमा रहेको मान्छेले केही भन्ने कुरा भएन’ उनले व्याख्या गरे, ‘दुई महिना ९ दिन जति झुलाएपछि उनले चार्टर्ड नहुने भयो भन्दै कोलम्बियाको भिसा लगाउने भनेर फेरि ५ लाख रुपैयाँ मागे ।’
बलराम पुन नामक व्यक्तिको खातामा त्यो रकम जम्मा गरे पनि उनलाई पछि भिसा रिजेक्ट भएर आएको जानकारी दिइयो । ‘त्यसपछि कैलाशले अब प्लान चेन्ज गर्नुपर्ने भयो भनेका थिए’ उनले थपे, ‘यसपटक १०० प्रतिशत चार्टर्ड हुन्छ भनेर पटक–पटक भनेपछि म फेरि ५ लाख रुपैयाँ दिन बाध्य भएँ ।’
महिनौं बित्दै गयो, उनलाई उडाउने कुनै छाँटकाँट थिएन । विश्वास नगरौं उनी बीच बाटोमा थिए, धेरै रकम डुबिसकेको थियो । विश्वास गर्दा घरमा ऋणमाथि ऋण थपिइरहेको थियो । अधिकारीले यसपटक उनलाई स्पेन लैजाने भनेर थप ५ लाख रुपैयाँ जम्मा गरिदिन भनेका थिए । तर, १६ मंसिर २०८१ मा उनलाई स्पेन लैजाने भनेर अफ्रिकी मुलुक गिनी पुर्याइयो ।
त्यहाँ पुगेपछि कुँवरको परिवारले अस्मिता दुवाडीको नाममा ३ लाख र प्रमोद भट्टको नाममा रहेको खातमा २ लाख रुपैयाँ डिपोजिट गरिदियो । गिनीमा रहँदा ८/१० दिनसम्म भोलि काम हुन्छ भन्दै अल्मल्याएका रेशम र कैलाश त्यसपछि भने सम्पर्कविहीन भए ।
गिनीमा शाह गिरोहका एजेन्ट एक जना पाकिस्तानी नागरिकले उनको पासपोर्ट जफत गरिसकेका थिए । जसलाई फिर्ता लिन फेरि उनले १ लाख २० हजार नेपाली रुपैयाँ बुझाउनुपर्यो ।
फर्किनलाई समेत फेरि ऋण खोजेर टिकट काट्नुपर्यो। काठमाडौंबाट अमेरिका जान भन्दै हिंडेको करीब ३ महिनापछि उनी एक लाख २५ हजार रुपैयाँ खर्चेर १५ माघ २०८० मा गिनी, इथियोपिया, दिल्लीहुँदै काठमाडौं ओर्लिए । अमेरिकाको यो असफल यात्रामा उनको ३८ लाख ४० हजार रुपैयाँ सकिएको छ ।
०००
दाङका ३५ वर्षीय गणेशबहादुर पुन वैदेशिक रोजगारीका लागि मलेशिया गएर फर्किएका थिए । स्वदेश आउँदा पहिले जस्तै बेरोजगार, अगाडि के गर्ने अन्योल थियो । त्यही बेला गाउँका कतिपय साथीहरू तल्लो बाटो (अवैध मार्ग) बाट अमेरिका गइरहेका थिए ।
उनलाई पनि साथीभाइ मार्फत चिनजान भएका रेशम शाहले अमेरिका जाने भए सहयोग गर्ने प्रस्ताव राखे । उनलाई शाहले १५० भन्दा बढी मान्छेहरूलाई तल्लो बाटोहुँदै अमेरिका पुर्याइसकेको भन्दै विश्वास दिलाएका थिए । ‘हामीले लैजाने रुटबाट जाँदा शतप्रतिशत जस्तै हो, तपाईं ढुक्क हुनुहोस्, हामी जिम्मा लिन्छौं’, रेशमले उनलाई भनेका थिए ।
उनले लगभग सहभागी हुने जनाएपछि पुनलाई भेट्न चितवनका कैलाश अधिकारी आफैं उनी भए ठाउँ पुगेका थिए । ‘त्यसबेला उनले मलाई नेपालबाट दुबई र त्यहाँबाट ब्राजिलको भिसा लगाएर पठाउने भनेका थिए’ उनी सम्झन्छन्, ‘ब्राजिलबाट बोलिभिया, पेरु, कोलम्बिया, पानामा, होन्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पठाउने उनले भनेका थिए ।’
उनले यति आत्मविश्वासका साथ अमेरिका पुर्याउने कुरा गरिरहेका थिए कि त्यो सुन्ने जो–कोही विश्वास गर्न बाध्य हुन्थ्यो । पुन पनि त्यसमा अपवाद भएनन् ।
उनलाई शुरूमा ६ लाख रुपैयाँ दिएर प्रक्रिया अघि बढाउन भनिएको थियो । ‘बाँकी पैसा जुन–जुन देशमा पुगिन्छ, त्यही अनुसार दिंदै अघि बढ्न थप्दै जानुपर्छ भनेको थियो’ पुन सम्झन्छन्, ‘त्यसपछि मेरो श्रीमतीले १५ मंसिर २०८० मा उनलाई ६ लाख रुपैयाँ कनेक्ट आईपीएस मार्फत ट्रान्सफर गरिदिएकी थिइन् ।’
पैसा पठाएपछि उनलाई अधिकारीले भनेका थिए, ‘तपाईंको ब्राजिलको भिसा लाग्यो भने ठिकै छ, नभए दुबईबाट निकारागुवाको लागि जहाज चार्टर्ड गर्दैछौं ।’ उनलाई अरूले जस्तो धेरै हिंड्नु पनि नपर्ने र सजिलै अमेरिका छिर्न सकिने भनिएको थियो । पछि उनलाई चार्टर्ड उडानमै जाँदा सजिलो हुने तर, त्यसका लागि थप १२ लाख रुपैयाँ अग्रिम चाहिने भनिएको उनी सुनाउँछन् ।
https://flo.uri.sh/visualisation/22209322/embed?auto=1
Interactive content by Flourish
पुनका अनुसार, उनलाई ढिला गरे अवसर गुम्न सक्ने भन्दै बारम्बर भनेपछि उनले फेरि १० लाख रुपैयाँ हालिदिएका थिए । यसपछि रेशमले उनलाई दुबईको भिसा लागिसकेको भन्दै तत्काल काठमाडौं आउन भनेका थिए । ‘यसरी १७ डिसेम्बर २०२३ मा काठमाडौंबाट म दुबईका लागि उडेको थिएँ’ उनी भन्छन्, ‘दुबई पुगेपछि अधिकारीले बरदुबईको होस्टलमा बस्ने र खाने व्यवस्था गरेको थियो ।’
दुबई पुगेर एक दिन, दुई दिन भन्दै महिना बित्यो । अन्तिममा विशेष कारणवश विमान चार्टर्ड भएन भन्ने जानकारी उनले पाए । ‘फेरि अर्को हवाईजहाज चार्टर्डको व्यवस्था मिलाउँदैछौं, त्यसका लागि थप पैसा चाहिने भयो भनेको थियो’ पुनले अनलाइनखबरसँग सुनाए, ‘यसपटक चार्टर्ड गरेर जान नसकिए फिर्ता दिने भन्दै थप ८ लाख रुपैयाँ दिन मलाई भनेका थिए ।’
त्यसपछि उनले फेरि नेपालमा रहेकी श्रीमतीलाई उनको खातामा त्यो रकम हाल्न लगाए । उनी चार्टर्ड विमानको प्रतीक्षामा थिए, तर दोस्रो पटक पनि ३ महिना बित्यो केही खबर आएन । ‘मैले सोध्दा अन्तिममा फेरि चार्टर्ड हुन सकेन, अब मलेशियन पासपोर्टमा दुबईबाट कतार, ब्राजिलहुँदै अमेरिका पठाउँछु भनेका थिए’ उनले थपे, ‘तर, त्यो प्रक्रिया पनि अघि बढेन ।’
त्यतिञ्जेल दुबईबाट अघि बढ्ने त कुरै थिएन, बरु उनलाई भिसा थपका लागि भन्दै अधिकारीले फेरि ७० हजार नेपाली रुपैयाँ मागे । ‘मैले पैसा हाले पनि मेरो भिसा थप भएको रहेनछ, बरु त्यही समयदेखि होस्टल र खाना खर्च पनि नव्यहोरेपछि होस्टल मालिकले पासपोर्ट जफत गर्यो’ उनले सुनाए, ‘त्यसपछि मैले फेरि आफैं होस्टल खर्च तिर्नुपर्यो भने भिसा थप गर्दा लाग्ने पैसा पनि आफैं व्यहोरें ।’
तर, कैलाश चाहिं उही पुरानै शैलीमा उनीसँग थप रकम मागिरहेका थिए । पुनका अनुसार, झण्डै पाँच महिनापछि उनलाई तल्लो बाटो हुँदै जाने सेटिङ मिलाउँदै छु भनेर फेरि आश देखाउन थाले । निरन्तर फलोअप गर्दा उल्टै रिसाउन थाले ।
‘जब मैले दुबईको होस्टलमा छँदै पठाउन नसक्ने भए पैसा फिर्ता दिनुस् भनें, त्यसपछि ऊ विस्तारै मसँग कुरा गर्न नमान्ने र फोन काटिदिने गर्न थाल्यो’ उनले थपे, ‘त्यसपछि मलाई अब चाहिं अमेरिका जाने सम्भावना नभएको महसुस भयो, म त्यहीं अलपत्र परें भन्ने भयो ।’
उनले अधिकारीलाई फोन गरेर नेपाल फर्किने र त्यसक्रममा दिएको रकम फिर्ता दिन माग गरे । त्यो संवादमा उनले हुँदैन भनेनन्, बरदुबईको मिना बजारमा बोलाए । तर, हिसाबकिताब मिलाउन भन्दै भेट्न गएका उनले थप तनावको सामना गर्नुपर्यो ।
बरदुबईमा कैलाश अधिकारी र निशा थापाको कोठामा उनी पुग्ने वित्तिकै स्थानीय प्रहरी आएर उनलाई नियन्त्रणमा लियो । हिरासतमा पुगेपछि मात्र उनले थाहा पाए– पुन विरुद्ध अधिकारी समूहले उल्टै अपहरण गरेको आरोपमा उजुरी दिइसकेको रहेछ ।
तीन महिनापछि उनी त्यो कसुरबाट निर्दोष साबित भए, आफैंले टिकट काटेर स्वदेश फर्किए । यो अवधिमा उनको ३१ लाख ७० हजार रुपैयाँ सिद्धिएको छ ।
https://flo.uri.sh/visualisation/22210403/embed?auto=1
०००
जाजरकोटका २३ वर्षीय वीरेन्द्र विकले स्थानीय विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका थिए । गाउँमा काम गर्नलाई केही अवसर देखिरहेका थिएनन् । अरू युवा जस्तै उनको नजरमा पनि एकमात्र विकल्प वैदेशिक रोजगारी थियो ।
विलखबन्दमा परिरहेका बेला गाउँकै एक जना दाइ तीर्थमान (नाम परिवर्तन) ले उनलाई अमेरिका जाने भए एजेन्टसँग सम्पर्क गराइदिने प्रस्ताव राखे ।
आफू पनि अवैध मार्ग हुँदै अमेरिका पुगेका सामाजिक सञ्जाल फेसबुक मार्फत वीरेन्द्रलाई भनेका थिए, ‘गाउँमा बेरोजगार छौं, अमेरिका भनेपछि मान्छेले पत्याउँछन्, तिमीले पैसा पनि व्यवस्थापन गर्न सक्छौ ।’ वीरेन्द्रको बुझाइमा त्यो उनका लागि राम्रो प्रस्ताव थियो ।
जाजकोटका वीरेन्द्र विकले अमेरिका जान भन्दै ३४ लाख १० हजार रुपैयाँ बुझाइसकेपछि तस्करको गिरोहले उल्टै उनीविरुद्ध यूएईमा अपहरणको जाहेरी दिएको थियो । उनी दुबईको जेल पनि परे, झण्डै तीन महिनापछि सफाइ पाएर फर्किए
यसपछि तीर्थमानले उनलाई रुकुमको आठबिसकोट स्थायी घर भएका रेशम शाहसँग जोडिदिएका थिए । ‘छिट्टै ल्याउने कुरा गर्दिन्छु, डर मान्नुपर्ने केही हुँदैन’ त्यसबेला अमेरिकाबाट उनले भनेको कुरा वीरेन्द्रले सुनाए, ‘तिमी भाइ जस्तो भएकाले मैले सहयोग गर्न खोजेको…!’
त्यति भनेपछि उनले घरमा सल्लाह गरे । र, अमेरिका जाने निष्कर्षमा पुगे । वीरेन्द्रका अनुसार, त्यसबेला शाहले उनलाई दुई महिनाभित्र अमेरिका पठाइदिने भन्दै १५ लाख रुपैयाँ अग्रिम भुक्तानी दिनुपर्ने बताएका थिए ।
‘१३ भदौ २०७९ मा मलाई काठमाडौं बोलाएका थिए, एकदमै छिटो गरेर बोलाएपछि म नेपालगञ्जबाट फ्लाइट मार्फत आएको थिएँ’ उनी सम्झन्छन्, ‘काठमाडौं आउँदा त्यति धेरै हतार लगाउनुपर्ने परिस्थिति पनि रहेनछ ।’
शाहले उनलाई मित्रपार्कमा रहेको होटल राप्ती मिलनमा बोलाएका थिए, त्यहीं १५ लाख रुपैयाँ नगद बुझाएपछि अमेरिका जाने प्रक्रिया अघि बढेको उनलाई बताइएको थियो । त्यो भेटमा शाहले उनलाई अमेरिका पुग्ने रुट सुनाएका थिए— ‘दुबई हुँदै अजरवैजान त्यहाँबाट टर्की–स्पेन–ब्राजिल हुँदै तल्लो बाटो गाडी, घोडा, डुंगा मार्फत अमेरिकी सीमा पार गर्ने ।’
झण्डै दुई महिना काठमाडौं बसेपछि उनलाई २६ सेप्टेम्बर २०२२ मा दुबई उडाउन भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगियो । दुबईमा उत्रिएपछि उनलाई चितवनका कैलाश अधिकारीले बरदुबईमा रहेको होस्टलमा पुर्याए ।
वीरेन्द्रका अनुसार, करिब एक साता होस्टलमा बसेपछि ६ अक्टुबर २०२२ मा उनलाई अजरबैजानका लागि उडाइएको थियो । उनको राहदानीमा अजरबैजानको अध्यागमनले एक महिनाको भिसा दिएको थियो । तर, भिसा सकिएको १८ दिनपछि उनलाई अध्यागमन प्रहरीले नियन्त्रणमा लियो र ७ दिनसम्म हिरासतमा राखेर २३ नोभेम्बर २०२२ मा डिपोर्ट गरिदियो ।
‘त्यसपछि मैले कैलाश अधिकारीसँग सम्पर्क गरें, उनले दुबई ट्रान्जिट हुँदै काठमाडौं पुग्ने टिकट काटिदिए’ उनले भने, ‘म र अरू साथीहरू दुबईबाट नेपाल फर्किन चाहन्थ्यौं, तर अधिकारीले दुबई विमानस्थलमै लुकेर बस्न भने ।’

विमानस्थलमा अधिकारीको संयोजनमा दुई दिनसम्म लुकाएर राखेर आफूलाई यसपटक इथियोपिया हुँदै ब्राजिलबाट अमेरिका जाने भनेर भिसा र टिकट थमाइदिएको उनी बताउँछन् ।
‘त्यसपछि २५ नोभेम्बर २०२२ मा साथीहरू सहित हामी इथियोपिया उड्यौं, त्यहाँबाट दुई दिनभित्र ब्राजिल उडाउने भनेर त्यहाँको एक होटलमा राखियो’ वीरेन्द्रले बेलिविस्तार लगाए, ‘भोलि, पर्सि उड्ने भन्दाभन्दै इथियोपियाको इडिस एबाब्य होटलमा मलाई लगभग ६ महिनासम्म राखियो ।’
उनी उड्ने दिन कुरिरहेका थिए, तर काठमाडौंमा रहेका रेशमले भने फेरि थप पैसा माग्न थाले । ‘त्यसबेला रेशमले धम्क्याउँदै जसले थप पैसा दिन्छ, उसले मात्र ब्राजिलबाट तल्लो बाटो हुँदै अमेरिका जान पाउँछ भनेका थिए’ वीरेन्द्र सम्झन्छन्, ‘रकम नबुझाए अझै कति दिनसम्म बस्नुपर्छ भन्न सकिन्न भनेको थियो ।’
भनेको नमाने नेपाल फर्किएपछि पनि पैसा दिन नसक्ने उनले भनेका थिए । त्यसपछि दबाबमा परेर नेपालमा रहेकी दिदी मार्फत २७ नोभेम्बर २०२२ मा उनलाई १० लाख रुपैयाँ पठाइदिएको वीरेन्द्र बताउँछन् ।
रकम जम्मा गरेपछि ब्राजिलतर्फ जाने भनेर उनलाई २ डिसेम्बर २०२२ मा इथियोपियाको विमानस्थलमा लगियो । तर, त्यहाँबाट उनले ब्राजिलतर्फ जाने अनुमति पाएनन्, होटलमै फर्किनुपर्यो ।
‘ब्राजिलतर्फ जान असफल भएपछि मसहित अरूले रेशम शाहलाई सम्पर्क गरेर अब नेपाल नै फर्किने व्यवस्था गरिदिनुस् भनेका थियौं’ उनी भन्छन्, ‘त्यसबेला आज नभए भोलि हुन्छ भन्दै उडाउने आश्वासन दिंदै पाँच महिना जति इथियोपियामै राख्यो ।’
पाँच महिना बसिसकेपछि पैसा नभएर काम अड्किएको भन्दै उनलाई फेरि पैसा माग्न थालियो । उनी सम्झन्छन्, ‘फेरि ३ लाख ६० हजार रुपैयाँ जम्मा गरिदिएपछि उनले इथियोपियाबाट टर्की हुँदै ब्राजिल लैजान्छु भन्दै झुक्याएर ४ अप्रिल २०२३ मा किर्गिस्तान पुर्याए ।’
त्यहाँ दुई दिन मात्र बस्नुपर्ने भनिए पनि चार महिनासम्म आफू त्यहीं अलपत्र परेको वीरेन्द्र बताउँछन् । ‘किर्गिस्तानको राजधानी विसेकको एउटा अपार्टमेन्टमा लगेर मलाई राखिएको थियो’ उनी भन्छन्, ‘रेशमले त्यहाँबाट अघि बढ्न फेरि ५ लाख रुपैयाँ मागेका थिए ।’
पटक–पटक पैसा मात्र माग्ने तर, अघि नबढाउने भएपछि उनले अब नेपाल नै फर्काइदिन अनुरोध गरे । तर, उनले यसपटक शतप्रतिशत काम हुन्छ भन्दै आश देखाउन छाडेनन् ।
‘त्यसबेला अमेरिका पठाउन सकिन भने तिम्रो पैसा तु. फिर्ता गरिदिन्छु पनि भनेको थियो’ वीरेन्द्रले भने, ‘पैसा जम्मा गरिदिएपछि उसले किर्गिस्तानबाट टर्कीतर्फ उडायो, त्यहाँ पुगेपछि स्पेन, पेरु, बोलिभियाहुँदै ब्राजिल लैजाने भनेको थियो ।’
टर्कीमा शाहको समूहले एक/दुई दिन भन्दै कुराएर राखेका बेला अध्यागमनका अधिकारीहरूले उनलाई फेला पारे । उनी पाँच दिनसम्म अध्यागमन हिरासतमा रहे । वीरेन्द्र थप्छन्, ‘पछि राहदानी जफत गरेर टर्किस एअरलाइन्सले नै टिकट व्यवस्थापन गरेर २३ अगस्ट २०२३ मा मलाई काठमाडौं पठाएको थियो ।’
अमेरिकाको सुन्दर सपना देखेर घरबाट हिंडेका वीरेन्द्र अनेक दुःख झेलेर काठमाडौं आइपुगे, तर शाहले भने अझै अमेरिका पठाउने आश्वासन दिन छाडेनन् । उनले रकम फिर्ता माग्न थाले, तर शाह उनी बसेकै होटलमा पुगे र यसपटक थप पैसा नमाग्ने भन्दै एक हप्ताभित्र जसरी पनि ब्राजिल पुर्याउने जिकिर गरे ।

वीरेन्द्रलाई अझै झिनो आश बाँकी थियो । उनी ८ सेप्टेम्बर २०२३ मा फेरि दुबई उडे । त्यहाँबाट उज्वेकिस्तान हुँदै टर्की, स्पेन, बोलिभिया, ब्राजिल हुँदै अमेरिका छिराउने भनिएको थियो । उनी दुबईबाट २६ सेप्टेम्बर २०२३ मा उज्वेकिस्तानतर्फ उडे । त्यहाँको राजधानी तास्केनको होस्टलमा राखेर उनी २३ अक्टोबर २०२३ मा टर्की पुगे ।
तर, टर्की ट्राजिन्ट मात्र बनाइएको थियो । विमानस्थलबाटै उनले चलाखीपूर्ण तरिकाले ब्राजिल उड्नुपर्ने थियो । तर, त्यहाँ जाने टिकट नभएपछि उनी फेरि अध्यागमनको नियन्त्रणमा पुगे । वीरेन्द्रले सुनाए, ‘त्यसपछि अध्यागमनले आफैं टिकट बन्दोबस्त गरेर फर्किन भनेपछि मैले कैलाश अधिकारीलाई फर्किने टिकट काटिदिन भनेको थिएँ ।’
अधिकारीले टर्कीबाट दुबई हुँदै काठमाडौंसम्मको टिकट काटिदिएका थिए । तर, जब उनी दुबईको विमानस्थलमा उत्रिए, त्यसबेला अधिकारीले उनको नेपालको टिकट क्यान्सिल गरिदिइसकेको भन्दै बाहिर आउन भनेको वीरेन्द्र सम्झन्छन् ।
‘मलाई फेरि दुबईको होस्टलमा लगेर राखिदियो, त्यसबेला ब्राजिलकै भिसा लगाएर दुई हप्ता पर्ख भन्दै मलाई ३ महिना जति त्यहाँ बसाएको थियो’ उनले थपे, ‘११ फेब्रुअरी २०२४ मा मलाई फेरि दुबईबाट किर्गिस्तानतर्फ उडायो ।’
त्यसबेला किर्गिस्तानबाट टर्की, स्पेन, पेरु, ब्राजिल हुँदै दक्षिण अमेरिका लैजान्छु भनेकोमा रुट बन्द भएको बताएको उनी सुनाउँछन् । ‘त्यतिबेला उसले अब तिमीहरू श्रीलंका जाऊ, त्यहाँ मैले तिमीहरूको मलेशियन पासपोर्ट बनाएर श्रीलंकाको मानिसहरूलाई पठाइदिएको छु भनेको थियो’ वीरेन्द्रले भने, ‘त्यसबेला फेरि दुबईबाट मलाई श्रीलंका लगियो ।’
अन्तिम पटक विश्वास गर्न भन्दै उनले श्रीलंका जान अनुरोध गरेका थिए । तर, त्यहाँ ३० दिनसम्म राखेपछि शाह सम्पर्कविहीन भए ।
‘श्रीलंकामा हामीलाई एउटा होटलका मालिकले दुई हप्ताजति बन्धक बनाएका थिए, त्यसपछि नेपालबाट पैसा मागेर होटलको पैसा तिरेका थियौं’ उनले भने, ‘त्यसपछि आफैं पैसा तिरेर दुबई गयौं ।’ दुबईमा उनी कैलाश अधिकारीलाई भेट्न गएका थिए । त्यसबेला वीरेन्द्र सहित अरू साथीहरूले आफ्नो पैसा फिर्ता माग्न भनेका थिए ।
त्यसक्रममा उनीहरूले भेट्न बोलाएको ठाउँमा जाँदा उनी विरुद्ध उल्टै अपहरण गरेको आरोपमा दुबई प्रहरीमा पहिल्यै उजुरी दिएको थाहा भयो ।
‘पहिल्यै प्रहरीलाई खबर गरेर योजनाबद्ध तरिकाले बोलाएको रहेछ, त्यसपछि म फेरि दुबईमा पक्राउ परें’ उनले भने, ‘त्यसबेला कतिसम्म गरेछन् भने म जेलमा हुँदा घरमा दिदीलाई फोन गरेर त्यहाँबाट निकाल्न भनेर समेत थप पैसा मागेको रहेछ ।’ पछि १२ डिसेम्बर २०२४ मा दुबई अदालतले निर्दोष ठहर्याएपछि उनी स्वदेश फर्किएका थिए ।
यो क्रममा रेशमको समूहले उनीबाट ३४ लाख १० हजार रुपैयाँ ठगी गरेको छ । ठगीको यो अनौठो जञ्जालबारे अनुसन्धान गरेर मानव तस्करीमा संलग्नहरूलाई कारबाही गर्न भन्दै अहिले वीरेन्द्रले जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएका छन् ।
०००
दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका बेला माओवादी र सरकारबाट पीडित भएको कागजात बनाएर कतिपय अमेरिका छिरेका थिए । पछि उनीहरूकै देखासिकी गरेर अरू थुप्रै नेपाली अवैध बाटोबाट अमेरिकातिर हिँडेका थिए
जाजरकोटका शिवराज सिंह (३३) ले पनि यही गिरोहको फन्दामा परेर ३३ लाख गुमाएका छन् । उनलाई अमेरिकामा पुगिसकेका एक जना व्यक्तिले रेशमसँग जोडिदिएका थिए । शाहले ह्वाट्स एपमा कैलाश अधिकारीसँग कुराकानी गराएका थिए ।
सिंहका अनुसार, अधिकारीले उनलाई दुबईबाट अमेरिका पठाउने काम गर्ने मान्छेको रूपमा चिनाएका थिए । अरूलाई जस्तै उनले सुरुआतमा १५ लाख रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेका थिए । रकम बुझाएपछि उनी अजरवैजान उड्नलाई भिसा र टिकट लिएर २२ अगस्ट २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
अजरवैजानमा पुर्याएपछि उनलाई त्यहाँको एउटा होस्टलमा राखिएको थियो । उनलाई त्यहाँ पुगेपछि थप ५ लाख रुपैयाँ जम्मा गर्न लगाइएको थियो । ‘त्यसपछि मलाई टर्की उड्नलाई टिकट पठाइदिएको थियो’ उनी भन्छन्, ‘त्यहाँ पुगेपछि मलाई एअरपोर्टमा लुकेर बस्न भनेको थियो, त्यसरी म २४ दिनसम्म विमानस्थलमै बसेको थिएँ ।’
विमानस्थलमा बस्दा उनी कपडा फेर्दै अध्यागमन अधिकारीहरूबाट छलिंदै बस्थे । पछि उनलाई अध्यागमन प्रहरीले समात्यो, उनी १५ अक्टोबर २०२३ मा फर्किएर काठमाडौं आए । स्वदेश फर्किएर आउँदा अधिकारीसँग पैसा माग्दा उनले फेरि अमेरिका पठाउने भन्दै आश्वासन दिएको उनी बताउँछन् ।
उनलाई फेरि नेपाल एअरलाइन्स मार्फत दुबई जाने भिसा र टिकट दिइएको थियो । तर, अध्यागमनका अधिकारीहरूले उनलाई रोके । यसपछि उनलाई २९ जनवरी २०२४ मा दिल्लीहुँदै दुबई पठाइएको थियो ।
‘त्यहाँ पुगेपछि मलाई मलेशियन पासपोर्ट बनाएर पठाउने भनेको थियो, त्यो क्रममा ७ महिनापछि होस्टलमै अलपत्र छाड्यो’ उनले सम्झिए, ‘त्यसबेला मेरो पासपोर्ट जफत गरेको थियो, काम हुन्छ भन्दै पटक–पटक मसँग पैसा मात्र लिइरह्यो ।’
पटक–पटक ताकेता गर्न थालेपछि उनलाई पनि अरूलाई झैं यो गिरोहले अपहरणको झुटो जाहेरी दिएर दुबई प्रहरीको हिरासतमा पुर्याएको थियो । फर्किएर उनी सहित साथीहरूले जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी दिएका थिए ।
https://flo.uri.sh/visualisation/22216767/embed?auto=1
Interactive content by Flourish
काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार, पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले २० फागुनमा रेशम शाह उर्फ ‘थोमस’लाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
‘अरूको हकमा पनि को–को संलग्न छन्, उनीहरूको नेक्सस केलाउने कोशिश भइरहेको छ’ उनी भन्छन्, ‘वैदेशिक रोजगार विभागबाट पनि यस प्रकृतिका घटनामा अनुसन्धान हुन्छ, तर ठगीमा उजुरी आएको हकमा चाहिं हामी पनि अनुसन्धान गर्ने गरेका छौं ।’
पीडितहरूका अनुसार, उनीहरूले चितवनका ३२ वर्षीय कैलाश अधिकारीलाई समेत प्रतिवादी बनाएर किटानी जाहेरी दिएका छन् । तर, उनी हालसम्म पक्राउ परेका छैनन् । प्रहरी अधिकृतहरूका अनुसार, उनी दुबईमै रहेको आशंका छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो (एएचटीबी) का प्रमुख दीपेन्द्र जिसीका अनुसार, अमेरिका पठाइदिने प्रलोभनमा विश्वास गर्दा लाखौं गुमाउनेको संख्या पछिल्लो समय बढ्दो क्रममा छ ।
‘निकै थोरै अमेरिका पुग्न सफल भएका पनि होलान्, त्यसरी पुगेका थोरै व्यक्तिहरूले समेत अरूलाई मानव तस्करहरूसँग जोडेको देखिन्छ’ जिसीले अनलाइनखबरलाई सुनाए, ‘असफल भइसकेपछि मात्र प्रहरीकहाँ उजुरी आउने हुँदा यसको अनुसन्धान पनि कतिपय अवस्थामा जटिल बन्छ ।’
अवैध बाटोबाट अमेरिका जान खोज्नेहरू दुबई र युरोपेली मुलुकमा महिनौंसम्म अलपत्र परेका थुप्रै कथाव्यथा ब्यूरोका अधिकृतहरूले सुनेका छन् ।
‘तर जब उजुरी दिने बेला आउँछ, त्यसबेला कतिपय हच्किन्छन्, हालैको एउटा घटनामा पनि अझै धेरै पीडित गाउँमै रहेको खुलेको थियो’ एक अधिकृत भन्छन्, ‘फेरि अमेरिका पठाइदिने भन्ने उनीहरूको प्रलोभनका कारण पनि पीडितहरू बोल्न चाहँदैनन् ।’
अमेरिका नपुग्ने यो अवैध यात्राका क्रममा असफलहरू त एकातिर छँदैछन्, अमेरिका प्रवेश गर्ने क्रममा समातिएर डिपोर्ट भएकाहरूलाई समेत मानव बेचबिखन अनुसन्धान ब्यूरोले सोधपुछका लागि ल्याउने गरेको छ ।
तर, उनीहरू आफूलाई पठाउने एजेन्टहरूबारे त्यति नखुल्ने जिसीको अनुभव छ । उनी थप्छन्, ‘डिपोर्ट भएकाहरूले त्यसबारे विरलै मात्र बताएका छन् ।’
मुलुकमा व्याप्त बेरोजगारी, रोजगारहरूका लागि पनि कमजोर पारिश्रमिक, न्यून जीवनस्तर जस्ता कारणले नेपाली युवा जोखिमपूर्ण यात्रा गरेर अमेरिका प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका पूर्व प्रमुख ईश्वरबाबु कार्कीका अनुसार, यसरी अवैध बाटोबाट अमेरिका जानेहरूमा पनि तत्कालीन राप्ती अञ्चलका जिल्लाहरूका मानिस धेरै छन् ।
दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका बेला माओवादी र सरकारबाट पीडित भएको कागजात बनाएर कतिपय अमेरिका छिरेका थिए । पछि उनीहरूकै देखासिकी गरेर अरू थुप्रै पनि गएको उनको भनाइ छ ।
‘त्यसबेला दाङ, रुकुम जस्ता जिल्ला माओवादीको आधार इलाका पनि थिए, अमेरिका प्रवेश गरेकाहरूले त्यहीं बस्ने प्रबन्ध मिलाए’ उनी भन्छन्, ‘सामाजिक सञ्जालमा उनीहरूको जीवनशैली हेरेर अरू मानिसहरू पनि आकर्षित भए ।’
नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) बाट अवकाश प्राप्त अधिकृत कार्कीको बुझाइमा, तीन वर्षअघिसम्म पनि यस्ता कागजात बनाएर अमेरिका जान खोज्नेहरू प्रशस्त भेटिन्थे ।
अहिले चाहिं आप्रवासन मामलामा कडा नीति अपनाउने डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएकाले त्यो क्रम कम भएको हुनसक्ने अधिकृतहरू बताउँछन् ।
गएको १२ फागुनमा ८ जना नेपालीलाई अमेरिकी अध्यागमनले निष्काशन गरेर चार्टर्ड विमान मार्फत स्वदेश फर्काइदिएको थियो ।
हत्कडी सहित स्वदेश फर्काइएकाहरूले ब्यूरोका अधिकृतहरूसँग भनेका छन्– ‘ट्रम्पको कार्यकाल सकिएपछि फेरि अमेरिका जान्छौं ।’ त्यसैले तत्काललाई अवैध बाटोबाट जाने क्रम कम भए पनि यो क्रम यत्तिकै नरोकिने अधिकृतहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्