अप्ठ्यारोमा एमालेले सम्झिएका सुरेन्द्र मानन्धर

२२ कात्तिक, काठमाडौं । आगामी १६ मंसिरमा हुने उपचुनावका लागि नेकपा एमालेबाट कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धर उम्मेदवार बन्ने पक्का भएको छ ।

गत १६ कात्तिकमा एमाले नगर कमिटीबाट एकल सिफारिस भएका मानन्धरलाई बुधबार (२१ कात्तिकमा) बसेको काठमाडौं जिल्ला कमिटीको बैठकले अनुमोदन गरेको हो । नगर र जिल्ला कमिटीबाट एकल सिफारिस अघि बढेकाले अब मानन्धरको नाम परिवर्तन हुने सम्भावना न्यून छ ।

frontline

अझ पार्टी महासचिव शंकर पोखरेलकै उपस्थितिमा बसेको जिल्ला कमिटी बैठकले एकल सिफारिस गरेकाले मानन्धरको उम्मेदवारी लगभग ‘पक्का भयो’ भन्न सकिन्छ ।

मेयरमा मानन्धर र तीन वटा वडाध्यक्षमा (कीर्तिपुर–१ मा हर्ष महर्जन, ४ नम्बरमा बद्री बुढाथोकी र काठमाडौं–१६ मा लक्ष्मीरत्न तुलाधर) समेत एकल सिफारिस भएको छ ।

उम्मेदवार टुंगिएपछि महासचिव पोखरेलले पार्टीपंक्तिलाई यो उपचुनावको औचित्य सम्झाएका थिए । ‘काठमाडौंले फेरि राजनीतिक दलहरुलाई खोजे भन्ने कुराको सुरुवात गर्नेबित्तिकै ओरालो यात्रालाई सकारात्मक दिशातिर अगाडि बढाउन सकिन्छ’, पोखरेलले भनेका छन् ।

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारले चुनाव जितेर सुरु भएको राजनीतिक कोर्स अहिले अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेकाले त्यसलाई सच्याउने अवसर पनि यो उपचुनाव भएको पोखरेलको भनाइ थियो ।

यसको अर्थ देशभर ४४ पदमा हुने उपचुनावमध्ये कीर्तिपुर नगरपालिका एमालेको प्राथमिकतामा रहेको अनुमान गर्न सकिन्छ । उपचुनावको एक महिनाअघि मानन्धरकै नाममा सर्वसम्मति जुट्नुले पनि कीर्तिपुरलाई एमालेले दिएको प्राथमिकता थप प्रष्ट हुन्छ ।

सुरेन्द्रले पाएको अवसर

सुरेन्द्र मानन्धरले २०७० को दोस्रो संविधानसभा चुनावमा काठमाडौं–१० बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गरेका थिए ।

त्यो चुनाव कांग्रेसका राजेन्द्र केसीले २० हजार ३९२ मत ल्याएर जिते । मानन्धरले १३ हजार ६१५ मत ल्याएर दोस्रो हुँदा १२ हजार ८५२ मत ल्याएर प्रचण्ड तेस्रो भएका थिए ।

तर त्यसपछिका चुनावहरुमा उनले टिकट नै पाएनन् । २०७४ को चुनावमा वाम गठबन्धन भयो । यो क्षेत्र माओवादीको भागमा परेकाले हितमान शाक्य उम्मेदवार भए । शाक्यलाई हराएर कांग्रेसका केसी दोहोरिए ।

२०७९ को चुनावमा फेरि एमाले एक्लै लड्यो । कांग्रेसले केसीलाई नै उम्मेदवार बनाउँदा एमालेले हिमेश केसीलाई टिकट दियो ।

एमालेबाट कमजोर उम्मेदवार दिएको लाभ उठाउँदै राजेन्द्रले ह्याट्रिक जित निकाले । त्यसबेला देशभर पाँचदलीय गठबन्धन हुँदा यो क्षेत्रमा दलहरुबीच एकल प्रतिस्पर्धा भएको थियो ।

राजेन्द्रले १४ हजार ४६३ मत ल्याएर जित्दा एमालेका हिमेश ११ हजार ७९१ मा सीमित भए । रास्वपाका प्रदीप विष्टले ८ हजार ७३९, राप्रपाका बलराम थापाले ६ हजार ९५९ र माओवादीका अञ्जना विशुंखेले ५ हजार २६५ मत ल्याएका थिए ।

जबकी एमालेसँग यो क्षेत्रको उम्मेदवारमा प्रचण्डसँगै प्रतिस्पर्धा गरिसकेका सुरेन्द्र रोज्ने विकल्प थियो । उनलाई उम्मेदवार बनाएको भए चुनावी परिणाममा फरक गर्नसक्ने एमाले नेताहरु स्वीकार गर्छन् । तर त्यसबेला एमालेभित्र चल्दै आएको आन्तरिक संघर्ष/राजनीतिका कारण सुरेन्द्रले टिकट नै पाएनन् ।

पञ्चायत विरोधी आन्दोलनबाटै राजनीतिमा सक्रिय मानन्धर २०७१ को नवौं राष्ट्रिय महाधिवेशनमा केपी ओली इतर गुटमा थिए । ओली इतर समूहबाटै उनी केन्द्रीय सदस्य निर्वाचित भए ।

त्यही कारण एमाले नेतृत्वले मानन्धरलाई कुनैपनि अवसर नदिने रणनीति लियो । मानन्धरका समकालीन नेताहरु अहिले एमालेको पोलिटब्यूरो वा त्यो भन्दा माथि हुँदा उनी केन्द्रीय सदस्य मात्र हुनुको कारण पनि त्यही हो ।

कतिसम्म भने २०७८ मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन पछिका डेढ वर्ष उनी भूमिकाविहीन भए । जबकी शीर्ष नेताहरुकै आश्वासनमा उनले दशौं महाधिवेशनमा उम्मेदवारी फिर्ता लिएका थिए । तर चितवनबाट काठमाडौं फर्किएर अध्यक्ष ओलीले मानन्धरलाई केन्द्रीय सदस्य मनोनित गरेनन् । बरु दुर्गा प्रसाईं जस्ता विवादित पृष्ठभूमिका ब्यापारीलाई केन्द्रीय सदस्य मनोनीत गरियो ।

डेढ वर्षपछि बल्ल गत वर्ष (१७ जेठ २०८०) उनी केन्द्रीय सदस्य मनोनीत भए, काठमाडौं क्षेत्र नं १० को इन्चार्ज छन् ।

संकटमोचक कार्ड !

२०४३ सालदेखि राजनीतिमा रहेका कीर्तिपुरकै रैथाने मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउनुमा भने काठमाडौं एमालेमा रहेको संकट र उनको व्यक्तित्वले काम गरेको देखिन्छ ।

अनेरास्ववियु काठमाडौं जिल्ला सचिव, तत्कालीन बागमती अञ्चल संयोजक हुँदै मानन्धरले पार्टीका विभागहरुमा लामो समय बिताएका छन् ।

राजधानी उपत्यकाको संसदीय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्दै आएका उनले एमालेको केन्द्रीय सांस्कृतिक विभाग, विदेश विभाग, विद्यार्थी विशेष जिल्ला कमिटी लगायतमा काम गरेका छन् ।

तर मानन्धरको व्यक्तित्वभन्दा बढी कीर्तिपुरको चुनाव जित्नैपर्ने दबावमा एमाले देखिन्छ । महासचिव पोखरेलका अनुसार यही उपचुनावबाट राजधानीमा बिग्रिएको जनमत सुधार्ने योजनामा एमाले छ ।

चुनाव जित्न भने सजिलो छैन । पहिलो प्रतिकुलता कीर्तिपुरमा सत्ता साझेदार नेपाली कांग्रेससँगै मुख्य प्रतिस्पर्धा हुने भएको बुझाइ एमाले नेताहरुमा छ । जबकी एमाले अध्यक्ष ओली कांग्रेसकै समर्थनमा प्रधानमन्त्री छन् । ‘दुई वटा पार्टीको सरकार छ, तर मिलेर चुनाव लडौं भन्ने मान्यता दुवैतिर छैन । चुनाव आ–आफ्नो हिसाबले लड्छौं’, काठमाडौं जिल्ला कमिटीको बैठकमा पोखरेलले भनेका छन् ।

लामो समय वाम किल्लाको परिचय बनाएको कीर्तिपुरमा २०७९ को स्थानीय चुनावमा कांग्रेस उम्मेदवार राजकुमार नकर्मी मेयर निर्वाचित भएका थिए । ९ हजार ४३ मतसहित नकर्मीले जित्दा निकटतम प्रतिस्पर्धी एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत ल्याएको थियो । त्यतिबेला कांग्रेस र जसपाबीच तालमेल थियो भने माओवादी र एकीकृत समाजवादीले अलग्गै प्रतिस्पर्धा गरेका थिए ।

माओवादीका शिवशरण महर्जनले ४ हजार ९ र एकीकृत समाजवादीका बटुकृष्ण थापाले १ हजार १५३ मत पाएका थिए । अर्थात् मेयरमा एमाले भन्दा झण्डै दोब्बर अन्तरले कांग्रेसका नकर्मीले मेयर जितेका थिए ।

१० वटा वडामध्ये ९ वटामा कांग्रेसका वडाध्यक्ष छन् । श्यामकुमार अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएर ४ नम्बर वडाध्यक्ष जितेका थिए । कीर्तिपुरमा एमालेले जितेको भनेको जम्मा दुई जना वडा सदस्य हो । ८ नम्बर वडामा सरस्वती परियार निर्विरोध र २ नम्बर वडामा सुष्मा विश्वकर्माले दलित महिला सदस्य जितेकी छन् ।

तर मेयर नकर्मी र स्वतन्त्र जितेका वडाध्यक्ष अधिकारीको निधन भएकाले फेरि चुनाव हुन लागेको हो । उपचुनावबाट कीर्तिपुरमा आफ्नो बिरासत फर्काउने योजना अन्तर्गत एमालेले सकेसम्म बलियो उम्मेदवार अघि सार्ने नीति लिएको छ ।

२०५४ र ०७४ को चुनावमा कीर्तिपुर नगरपालिका एमालेले जितेको थियो । २०४९ को चुनावमा कीर्तिपुर नगरपालिका बनेकै थिएन । तर अहिलेका नगरपालिकाभित्र पर्ने साविकका ८ गाविस मध्ये एमालेले आधा जितेको थियो ।

‘वाम किल्ला रहँदै आएको कीर्तिपुरमा फेरि एमालेको नेतृत्व स्थापित गर्ने गरी बढेको छु’, मानन्धरले अनलाइनखबरसँग भने, ‘सायद, मेरो क्षमता र इमान्दारिताप्रति विश्वास गरेरै मलाई पार्टीले अगाडि बढाएको हुनुपर्छ ।’

पार्टीपंक्तिलाई बढीभन्दा बढी एकताबद्ध बनाउने र जित्ने उम्मेदवारको खोजीमै मानन्धर सर्वसम्मत बनेको अनुमान गर्न सकिन्छ । किनकि गत वर्ष वैशाखमा सम्पन्न उपचुनावमा इलाम–२ र बझाङ (ख) को नतिजा आफ्नो पक्षमा ल्याएको एमालेले यसपटक पनि उस्तै सन्देश दिन चाहन्छ ।

अझ कीर्तिपुरको नतिजालाई जोडेर काठमाडौं अनि सिंगो मुलुकको राजनीतिबारे विश्लेषण हुनसक्ने भएकाले पनि एमालेमा सर्वसम्मत उम्मेदवारको दबाव परेको हुनसक्छ । महासचिव पोखरेलकै विश्लेषणलाई आधार मान्दा पनि कीर्तिपुर जितेर एमालेले सिंगो बागमतीमै उत्साह ल्याउन चाहन्छ ।

बागमतीमा एमालेको चुनावी परिणाम हेर्दा पनि नेताहरुले यस्तो रणनीति बनाउनु स्वभाविक देखिन्छ । किनभने बागमतीमा एमाले सम्भवतः इतिहासकै कमजोर अवस्थामा छ । जसको मूल कारण काठमाडौंकै नतिजा बिग्रनु पनि हो ।

२०७४ सालको चुनावमा काठमाडौंको १० वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये एमालेले ६ सिट जितेको थियो भने प्रदेश सभातर्फ १६ सिट जितेको थियो । तर २०७९ को चुनावमा काठमाडौंबाट प्रतिनिधि सभामा जित्ने कृष्णगोपाल श्रेष्ठ एक्ला नेता हुन् भने प्रदेश सभातर्फ ४ सिटमा खुम्चिएको छ ।

काठमाडौं ९ बाट निर्वाचित एमाले नेता कृष्णगोपाल श्रेष्ठ ।

सवैभन्दा ठूलो नोक्सानी त एमालेले काठमाडौं महानगरमा खेपेको छ । पञ्चायतकै चुनावमा पनि बलियो प्रभाव राख्ने एमालेले (तत्कालीन मालेले जनपक्षीय उम्मेदवारका रुपमा) २०५४ मा केशव स्थापित र २०७४ मा विद्यासुन्दर शाक्यलाई मेयर जिताएको थियो ।

तर २०७४ को आमचुनावपछि असाधारण बहुमतसहित ओलीले प्रधानमन्त्री भएर देश चलाउँदा राजधानी शहर रहेको काठमाडौं महानगरकै चुनावमा एमाले तेस्रो भयो ।

गैरदलीय उम्मेदवार बनेर ६१ हजार ७६७ मत सहित बालेन शाहले मेयर जित्दा कांग्रेसकी सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत पाइन् । एमालेका स्थापितले ३८ हजार ११७ मत पाए ।

२०७४ मा जितेको काठमाडौं महानगर सहित अरु चार पालिका एमालेले गुमाएको छ । २०७४ मा एमालेले काठमाडौं जिल्लाको ११ पालिकामध्ये काठमाडौं महानगरसहित कागेश्वरी मनोहरा, कीर्तिपुर, टोखा, टार्केश्वर, बुढानीलकण्ठ र शंखरापुर नगरको मेयर जितेको थियो ।

तर गत २०७९ को स्थानीय चुनावमा एमालेले टोखा र बुढानीलकण्ठ मात्र जित्न सक्यो । २०७४ मा एमालेले जितेको शंखरापुरा राप्रपाले खोस्यो । यस्तो दयनीय चुनावी परिणाम बीच एमाले नेतृत्वलाई काठमाडौं महानगरका मेयर चुनौती बनिरहेका छन् । एकपछि अर्को निर्णयमा मेयर बालेनले प्रधानमन्त्री ओलीलाई चुनौती दिइरहेका छन् ।

‘काठमाडौंको जनमत पार्टीको पक्षमा ल्याउन नसक्दा बालेन भर्सेस एमाले जस्तो सन्देश गइरहेको छ । अवस्था बदल्न पनि कीर्तिपुरको मेयर र अरु वडाध्यक्षहरु जित्नु अर्थपूर्ण छ’, एमालेका एक नेता भन्छन् । त्यसैले पनि डा. सुरेन्द्र मानन्धर सर्वसम्मत उम्मेदवार बनेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here