२५ लाख ठगेर भागेकाको खोजी गर्दा अवैध सुनचाँदी कारोबारी फन्दामा

बनेपाबाट अवैध सुनचाँदी बेच्ने गिरोहका ७ जना पक्राउ
७ जेठ, काभ्रेपलाञ्चोक । सस्तोमा डलर साट्ने भन्दै काभ्रेको खड्पु छेउको जंगलमा लुटिएका एक व्यक्तिको २५ लाख रकम खोज्ने क्रममा प्रहरीले अर्को २५ लाखसहित अवैध सुनचाँदी व्यवसायमा जोडिएको गिरोहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी कोमल शाहका अनुसार मंगलबार दिउँसो बुटवलका एक व्यक्ति लुटिएपछि थालिएको अप्रेसनका क्रममा सोही रकम बराबरको अर्को गिरोह पनि बुधबार पक्राउ परेको हो ।




काभ्रेको बनेपा–७ परिवार नियोजन चोकमा रहेको मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरबाट ७ सय १ दशमलव ९१ ग्राम सुन, ३ सय २७ दशमलव ७५ ग्राम चाँदीसहित बुधबार प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट १ लाख २१ हजार नेपाली तथा २५ हजार ३ सय भारतीय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।
यसअघि मंगलबार २५ लाख रकमसहित प्रहरीले साँगाबाट सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय राजन धमला र सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ३८ वर्षीय सञ्जय कुमार साहलाई पक्राउ गरेको थियो ।
उनीहरू दुई जनाकै बयानका आधारमा अनुसन्धान अघि बढाउँदै जाँदा बनेपाबाट बुधबार थप पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्य मदनपुर जिल्ला पसवाई ग्राम पञ्चायत दासपुर थाना घर भई बनेपा बस्ने ४७ वर्षीय वर्षीय दिपंकर मैती, भारत वेस्ट बंगाल मेदीनिपुर निजामपुर घर भई पाँचखाल नगरपालिका–४ बस्ने ३० वर्षीय सुमन सासमोल, भारतको जोतभन्साम घर भइ हाल बनेपा ७ बस्ने ३८ वर्षीय को ऋषीकेश गोड्से, सुन पसलमा काम गर्ने २२ वर्षीय विजय घोराइ र ३८ वर्षीय दिपंकर साउ रहेका छन् ।

उनीहरूलाई पक्राउ गरेर बरामद सामान र नगदसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
२५ लाख र सुन कारोबारीको ‘कनेक्सन’
हिजो (मंगलबार) फेला परेको उक्त रकम आज पक्राउ परेकामध्ये भारतीय नागरिक ३८ वर्षीय को ऋषीकेश गोड्सले पठाएको खुल्न आएको छ ।
पक्राउ परेकाको बयानका आधारमा बुधबार प्रहरीले बनेपास्थित उक्त सुन पसलमा छापा मारेको थियो ।
‘हिजो साँगाबाट पक्राउ परेकाहरूमाथि अनुसन्धानको क्रममा उनीहरुको सम्बन्ध मनकामना ज्वेलर्स एण्ड मेकिङ सेन्टरमा भइरहेको अवैध रुपमा सुनका गहना बनाउने गिरोहसँग देखिएको छ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी मिन बहादुर घलेले भने, ‘उनीहरूकै बयानका आधारमा सुनका गहना बनाउने कारखानामा छापा मार्यौं ।’
मंगलबार २५ लाख बोकेर हिँडेका राजन धमला र सञ्जय कुमार साहबीच रकम आदनप्रदान गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
उक्त रकमबारे सोधखोज गर्दैजाँदा प्रहरी सुन कारोबारीसम्म पुगेको थियो ।
यस्तो थियो घटना
अनुसन्धानमा संलग्न एक प्रहरीले बताए अनुसार, प्रहरीलाई मंगलबार दिउँसो बुटवलका एक व्यक्तिले आफ्नो २५ लाख रुपैयाँ लुटिएको सूचना दिएका थिए ।
सस्तो मूल्यमा डलर साट्ने भन्दै बुटवलका ती व्यक्तिलाई गिरोहले बनेपा बोलाए । रकम बोकेर बनेपा आएको र त्यही बेलामा आफूलाई छक्याएर भागेको ती व्यक्तिले प्रहरीलाई बताएका छन् ।

उनका अनुसार, डलर भन्दै २० रुपैयाँका नोट लगभग १४ हजार रुपैयाँ ती व्यक्तिहरूले उनलाई दिएका थिए । लुटिएका व्यक्तिले भने उनीहरू त्यहाँबाट हिँडेपछि मात्रै आफू ठगिएको पत्ता पाए ।
त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै प्रहरीले नाकामा कडाइ गर्दै थालेको चेकजाँचका क्रममा २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा सोही बराबरको रकम साटासाट गर्दै गरेको अवस्थामा प्रहरीले धमला र साहलाई पक्राउ गरेको थियो ।
अनुसन्धान गर्दैजाँदा फेला परेको उक्त रकम डलर साट्ने भन्दै ठगी गर्नेको नभइ सुन कारोबारीको रहेको खुल्न आएको छ ।
हिजो २५ लाख रकम लिएर भागेकाहरूको खोजी कार्य भने जारी रहेको एसपी शाहले बताए ।
प्रतिक्रिया दिनुहोस्