२० वर्षभित्र देश बदल्न तीन काम

नेपाल विविधतामा एकता र प्राकृतिक सम्भावना भएको देश हो। हामी प्राचीन कला, संस्कृति, जातजाति, भाषा, धर्म, रहनसहन, सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुताले अत्यन्त सुन्दर प्राकृतिक वातावरण, हावापानी जस्ता कुराहरूले समृद्ध छौं।२१औं शताब्दीको प्रारम्भमा आइपुग्दासम्म हाम्रो देशमा विभिन्न व्यवस्था परिवर्तन भए। राणा शासनदेखि पञ्चायती व्यवस्था, राजतन्त्रको अन्त्य भई लोकतन्त्र, गणतन्त्रको युगसम्म प्रवेश गर्दा पनि अपेक्षित विकास र समृद्धि नभएको भान हुँदै गइरहेको छ। लाखौं युवा विदेशिनु परिरहेको छ ।

हाम्रो वर्तमान संविधानले प्रस्तावनामै शान्ति, सुशासन, विकास, समृद्धि सँगै समाजवाद उन्मुख राष्ट्रको परिकल्पना गरेको छ। संविधान बनेको एक दशक हुनलाग्दा पनि जनतामा भने उही निराशा छाइरहेको छ।

frontline

प्रजातान्त्रिक कमान्डर, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, नेपाली काङ्ग्रेस सभापति स्व. जननेता बी.पी कोइरालाका सपना थिए— प्रत्येक नेपाली म जस्तै होउन्, प्रत्येकको एउटा घर होस्, उसका छोराछोरीले अनिवार्य रूपले शिक्षादीक्षा पाउन् र यदि आवश्यकता पर्छ भने यथोचित औषधि उपचारको सुविधा पाउन्।

हाम्रो देश २०९० को दशकसम्म सुन्दर अनि शान्त बनोस्, सबै मानिस स्वस्थ, शिक्षित, समृद्ध, इमानदार होउन्। धर्मभन्दा माथि उठेर सामाजिक सद्भावको भावना जागृत होस्, देशमा रोजगारी सिर्जना होस्।

कृषि, विज्ञान र उद्योगहरूको विकास होस्, देश भ्रष्टाचारमुक्त बनोस्, पराधीन भएर बाँच्न नपरोस् आत्मनिर्भर र समृद्ध हुनसकोस् भन्ने कुराहरूको परिकल्पना गर्छु। त्यसका लागि यी तीन क्षेत्रमा ध्यान दिन सके हाम्रो देश नेपाल एक सुखी र समृद्ध बन्नेमा विश्वस्त छु।

कृषि

नेपाल कृषिप्रधान देश हो। नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको छ। देशमा क्रियाशील श्रमशक्ति मध्ये करिब दुई तिहाइ कृषि क्षेत्रमा संलग्न छन्। यद्यपि कृषि क्षेत्रको वृद्धिदर एवम् उत्पादकत्व भने तुलनात्मक रूपमा न्यून रहेको देखिन्छ।

मानिसलाई बाँच्नका लागि गाँस, बास, कपासको आवश्यकता पर्दछ। कृषि तथा स्वदेशी उत्पादन विना देश भोकमरी, खाद्य संकटको चपेटामा पर्ने अवस्था हुन्छ। त्यसैले २०९० को दशकसम्म हाम्रो देश सुखी र समृद्ध बन्नका लागि सबैभन्दा पहिलो प्राथमिकता कृषिमा लगानी गरी स्वदेशी उत्पादनलाई प्रवर्धन गर्न जोड दिनुपर्दछ।

अहिलेको अवस्थामा सरकारले कृषिबाट उल्लेख्य लाभ लिन सकिरहेको छैन। जसका पछाडि विभिन्न समस्या देखा परेका छन्।

कृषि एउटा यस्तो पेशा हो जसले गरिबी निवारण गर्नेदेखि औद्योगिक कच्चा पदार्थ उपलब्ध गराउने, खाद्यान्न र पोषकतत्व उपलब्ध गराउने, रोजगारी प्रदान गर्ने र कुल गार्हस्थ्य उत्पादनमा उल्लेख्य योगदान दिनसक्छ त्यसैले कृषिलाई नेपालको अर्थतन्त्रको मेरूदण्ड मान्न सकिन्छ।

अहिलेको अवस्थामा सरकारले कृषिबाट उल्लेख्य लाभ लिन सकिरहेको छैन। जसका पछाडि विभिन्न समस्या देखा परेका छन्।

न्यूनतम आवश्यक पूर्वाधारको कमि, जग्गाको खण्डीकरण, मौसममा निर्भर खेती प्रणाली, कृषि अनुसन्धान तथा प्राविधिक विकासको सुस्तता र पर्याप्त वित्तीय सेवाको अभाव, बाली लगाउने सिजनमा जमिनको लागि आवश्यक मल, बीउबिजनको आपूर्तिमा ठूलो समस्या, स्थानीय सरकारले समयमै बीउ, बिजन उपलब्ध गराउन नसक्नु, बाढी, पहिरो, प्राकृतिक प्रकोपको प्रभाव जस्ता कुराले कृषि क्षेत्रमा उत्पादकत्व नबढ्नुका प्रमुख कारक तत्वहरू हुन्। जसको प्रभाव नेपाल जस्तो गरिब, विकासोन्मुख देशमा भोकमरी, चर्को महङ्गीले नागरिकलाई आयातित सामान किनेर खान बाध्य पारेको छ।

यो हाम्रो कृषिमा देखिएको विडम्बना हो, जहाँ ६० प्रतिशत नागरिकहरू कृषिमा आधारित हुँदाहुँदै पनि देशमा खाद्य संकट र महङ्गीको चरम चपेटामा पर्नु परेको छ।

सबैभन्दा पहिले कृषि क्षेत्रका लागि आवश्यक कानुन निर्माण गरी कार्यान्वयन गर्नुपर्ने हुन्छ। उचित बजार व्यवस्थापन, परम्परागत कृषिलाई आधुनिकीकरण, कृषिमा उच्च शिक्षा हासिल गर्ने जनशक्तिलाई उचित व्यवस्थापन, यान्त्रिकीकरण, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुका साथै स्थानीय स्तरका आरनलाई प्रोत्साहन गरेर निजी क्षेत्रका लगानीकर्तालाई आकर्षित गर्दै देशमै लगानी गरी उत्पादन र व्यवसायमुखी कृषि पेशा बनाई देशमै रोजगारी प्रदान गर्न सकिन्छ। अबको एक दशकभित्र यी विषयलाई ध्यान दिन सकेमा हाम्रो अर्थतन्त्रमा सुधार सँगै नागरिकमा खुशी र समृद्धि छाउने कुरामा विश्वस्त हुन सकिन्छ।

शिक्षा

२०९० को दशकसम्म देश सुखी र समृद्ध बन्नका लागि अबको प्रमुख प्राथमिकता भनेको शिक्षामा ध्यान दिनु हो। कुनै पनि देशको विकासका लागि शिक्षाको महत्त्वपूर्ण भूमिका रहन्छ। शिक्षाको स्तरले मुलुकको समृद्धि मापन गर्छ, समाजको चाहनाले शिक्षाको उद्देश्यलाई प्रभाव पार्छ भने शिक्षाले समाज रूपान्तरणको गति निर्धारण गर्छ। त्यसैले शिक्षा सामाजिक परिवेश, राष्ट्रिय माग अनुरूप बनाउन आवश्यक देखिन्छ।

यसरी नियाल्दा नेपालको शिक्षा प्रणालीले व्यक्ति, समाज र राष्ट्रको आवश्यकता सँगसँगै विवेकशील समाजको पुनःनिर्माणका लागि चाहिने नागरिक ज्ञान, सीप, क्षमता र चरित्र निर्माण गर्न सकिरहेको छैन। त्यसैले अबको समयमा शिक्षालाई प्राथमिकतामा राखेर जोड दिने हो भने नेपाल विकसित र समृद्ध हुन धेरै समय लाग्दैन।

हामीले देख्न सक्छौं विकसित, आर्थिक क्षेत्रमा फड्को मारेका देशले शिक्षालाई प्राथमिकतामा राखेका छन्। आधुनिक सिंगापुरका निर्माता लि क्वान युले मानव संसाधन विकासमा उपयुक्त शिक्षा नीति ल्याएर नै आर्थिक-सामाजिक रूपान्तरणको जग हालेका हुन्। उनको रणनीति थियो— ‘टिच लेस, लर्न मोर’ अर्थात् थोरै पढाउ, धेरै सिक। व्यक्ति र शिक्षाको अन्तरसम्बन्ध कायम भएपछि त्यो सम्भव हुन्छ।

दक्षिण अफ्रिकाका चर्चित राजनीतिज्ञ तथा पूर्व राष्ट्रपति नेल्सन मण्डेलाले भन्नुभएको थियो– ‘शिक्षा नै यस्तो शक्तिशाली अस्त्र हो जसको प्रयोगले संसारलाई बदल्न सक्छ।’ उहाँको यो भनाइबाटै प्रष्ट हुन्छ कि शिक्षामा कति शक्ति छ। अर्का विद्वान् कन्फ्युसियस भन्छन्– ‘शिक्षाले आत्मविश्वास बढाउँछ, आत्मविश्वासले आशा भर्छ र आशाले शान्ति ल्याउँछ। तसर्थ शिक्षाले शान्त, समृद्ध र सशक्त राष्ट्र निर्माण गर्न सघाउँछ।’ त्यसैले अबको समयमा हाम्रो देशमा गुणस्तरीय शिक्षामा प्रमुख जोड दिनुपर्ने हुन्छ।

गुणस्तरीय शिक्षा प्रत्येक रोग र समस्याको एक मात्र अचूक ओैषधि हो जसले गरिबी, अव्यवस्था, अशान्तिलाई निर्मूल गर्न सक्ने क्षमता राख्दछ। त्यसैले गुणस्तरीय शिक्षामा जोड दिन सकियो भने २०९० को दशकसम्म देशले समृद्धि र बलियो अर्थतन्त्रको रेखाचित्र कोर्नेछ।

हामीसँग शिक्षा नीति त छ तर गुणस्तरीय, रोजगारमूलक, व्यावसायिक, आत्मनिर्भर, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने खालको नभएकोले नयाँ शिक्षा नीति, ऐन, नियमावली, निर्देशिका निर्माण गरेर आत्मनिर्भरता, शान्ति, स्थायित्व र समृद्धितर्फ मुलुकलाई लैजान जरूरी भएको छ। जसका लागि सबैभन्दा पहिले पाठ्यक्रममा परिमार्जन गर्न जरूरी छ। नयाँ कुरा सिक्ने, आफूलाई चिन्न सक्ने, नैतिकता, मानवीयता, पूर्वीय दर्शन, सिर्जनात्मकता, विकासलाई विशेष जोड दिएर पाठ्यक्रम निर्माण गर्न सकेमा हाम्रो शिक्षा प्रणाली परिणाममुखी हुनेछ।

अर्को शिक्षण विधि बदल्न जरूरी छ। आजको विज्ञान, प्रविधिको युगमा शिक्षण पद्धति वैज्ञानिक हुनुपर्छ। सिकाइलाई कलात्मक, सिर्जनात्मक बनाउनेतर्फ ध्यान दिने हो भने नेपालको विकास, शान्ति, समृद्धि, सहकार्य र एकतालाई नब्बेको दशकसम्म बलियो बनाउन सक्नेछौं। अर्को मुख्य कुरा अबको शिक्षा प्रविधिमैत्री बनाउन जरूरी छ। सूचना र सञ्चार प्रविधिको युगमा बालकलाई आधुनिक विज्ञान र प्रविधिमा सहयोग गर्नुपर्छ। नयाँ सिकाइ सहजीकरण गर्ने मेकानिजम तयार गर्नुपर्छ।

अर्को मुख्य ध्यान दिनुपर्ने विषय भनेको परीक्षा प्रणालीमा छ। आजको शिक्षा प्रणाली तीन–चार घण्टाको लिखित परीक्षाको ग्रेडसिटका आधारमा मूल्यांकन गरिन्छ जुन अव्यावहारिक छ। त्यसैले अबको मूल्यांकन पद्धतिमा विद्यार्थीको जीवन सीप, व्यावहारिक सीप, नैतिक मूल्यमान्यता र आदर्शको प्रायोगिक सीपमा जोड दिंदै विद्यार्थीको सिर्जनात्मकता, समालोचनात्मक चिन्तन, सहकार्यमा आधारित भएर लाग्ने हो भने आउने १० वर्षको अवधिमा शिक्षामा आमूल परिवर्तन गर्न सकिन्छ। जसले राष्ट्रलाई समृद्ध नेपाल बन्नमा अग्रसर गराउने छ।

पर्यटन

देशको अर्थतन्त्रको कायापलटका लागि पर्यटन क्षेत्रमा विशेष ध्यान दिनुपर्ने हुन्छ। नेपालमा धेरै सम्भावना भएको उद्योग हो, पर्यटन क्षेत्र। त्यसैले पर्यटन क्षेत्रको विकास गर्ने हो भने अबको १० वर्षभित्र हाम्रो देश विकसित राष्ट्रको स्तरमा पुग्नेछ। प्रचुर सम्भावना भएको क्षेत्र हुँदाहुँदै पनि पर्यटन क्षेत्रबाट हाम्रो देशले उचित लाभ लिन सकिरहेको छैन।

असुरक्षित हवाई यात्राको सूचीमा नेपाल परिरहनु, प्राकृतिक सम्पदाहरूको अतिक्रमण बढ्दै जानु, पर्यटकहरूको सुरक्षाको सवालमा कमजोर स्थिति देखा परिरहनु जस्ता समस्याको कारणले पर्यटन व्यवसाय ओझेलमा परेको छ। पर्यटन व्यवसायलाई सुधारोन्मुख बनाउनका लागि यी यावत् क्षेत्रमा सुधार गर्न सक्यौं भने २०९० सम्ममा हाम्रो अर्थतन्त्रमा कायापलट हुनेछ।

नेपाल संघीय ढाँचामा प्रवेश गरिसकेको परिप्रेक्ष्यमा समग्र नेपाल र प्रादेशिक तहसम्मको पर्यटन प्रवर्धनका लागि नयाँ संरचनाहरूको निर्माण, नयाँ परिस्थिति र अन्तर्राष्ट्रिय परिवेश अनुकूल नीति बनाई लागू गर्ने, सुरक्षित र भरपर्दो हवाई सेवाको सुनिश्चितता गर्ने, पूर्वाधारमा लगानी वृद्धि गर्ने, पर्यटन विविधीकरण तथा गुणस्तरमा वृद्धि, परम्परागत, मौलिक संस्कृतिहरूको संरक्षण र प्रवर्धन गर्ने, व्यावसायिक दक्ष जनशक्ति विकास गर्ने, गन्तव्यहरूको पहिचान तया बजारीकरणमा जोड दिंदै जानु नै आजको प्रमुख आवश्यकता हो। यसका लागि गुणात्मक सुधार नै पहिलो शर्त हो।

त्यस्तै बदलिंदो परिस्थिति र अन्तर्राष्ट्रिय परिवेश अनुसार पर्यटन बोर्डको पुन:संरचनामा ध्यान दिई पर्याप्त होटल, आवासको गुणस्तर मूल्यांकन प्रणालीको विकास र विस्तार, राष्ट्रिय गौरवका आयोजनाहरू, विमानस्थल, द्रुत मार्ग आदिको समयमै निर्माण गर्न सकेमा पूर्वाधार लगानीमा वृद्धि सँगै राम्रो प्रचारप्रसार हुनसकेमा आउने पर्यटनको सङ्ख्यामा वृद्धिका साथै देशको बिग्रिंदै गइरहेको अर्थतन्त्रमा कायापलट गर्न सकिन्छ।

यसरी हाम्रो देशमा रहेका सगरमाथा, गौतम बुद्धको जन्मस्थान लुम्बिनी र नेपालका जलसम्पदा र जडीबुटीको राम्ररी उपभोग गर्न सकेमा राष्ट्रले चाँडै कोल्टे फेर्न सक्नेछ। यसका लागि राजनीतिक स्थिरता, नेतृत्वमा दृढ इच्छा हुनुपर्ने हुन्छ जसले विदेशिन बाध्य लाखौं युवालाई देशमै यस्ता क्षेत्रमा लगानी गरी व्यापार, व्यवसाय, पर्यटन, उद्योगमा विशेष जोड दिनेछ।

समग्रमा भन्नुपर्दा, हाम्रो देश नेपाल सुन्दर शान्त गौतम बुद्धको देश भनेर पनि विश्वमा चिनियोस्। म अबको दशकमा यस्तो देशको परिकल्पना गर्दछु कि हाम्रा प्रारम्भिक आवश्यकताका कुराहरूमा अरूमाथि निर्भर पर्नु नपरोस्। भोजन, कपडा, आवास, शिक्षा, स्वास्थ्य जस्ता हाम्रा प्रारम्भिक आवश्यकताहरू हाम्रै मुलुकमा प्राप्त स्रोत–साधनहरूको आधारमा होउन्।

हाम्रा प्राचीन कला, संस्कृति, धार्मिक सहिष्णुतालाई संरक्षण गरी हाम्रा शक्तिका स्रोत नदीनाला, कृषि, पर्यटन, गुणस्तरीय शिक्षा, नयाँ आर्थिक योजना, व्यवसायीमुखी कार्यक्रम ल्याउन सके आम मानसपटलमा छाएको निराशालाई अबको एक दशकभित्र कायापलट गरी बलियो अर्थतन्त्र बनाउन सकिन्छ भन्ने कुरामा कुनै द्विविधा छैन।
जैशी कैलाली बहुमुखी क्याम्पसमा बीए.एल.एल.बी पाँचौं सेमेष्टरमा अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here