१५ वर्षमा बन्यो रानी जमरा कुलरिया सिँचाइ प्रणाली, १४ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ प्रणाली तयार
काठमाडौँ । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत रानी, जमरा र कुलरियातर्फ १४ हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइ उपलब्ध गराउने प्रणाली तयार भएको छ ।
मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरे ।
प्रधानमन्त्रीले उद्घाटन गरेसँगै कैलालीको जानकी गाउँपालिका वडा नं ९ कटासेस्थित सिँचाइ नहरमा विद्युत उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएको छ ।
आयोजना आर्थिक वर्ष २०६७/६८ मा सुरु गरिएको थियो । आयोजना सुरु भएको १५ वर्षमा सिँचाइ तयार भएको छ । नहरको पानी प्रयोग गरी ४.७१ मेगावाट क्षमताको विद्युतगृह समेत बनाइएको छ ।
आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्नेछ ।
प्रधानमन्त्री ओलीले नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताए ।
प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिँचाइ आयोजना—सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना—यथाशीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिए ।
उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड़का पनि सहभागी थिए । उनले रानी जमरा कुलरिया सिँचाइ प्रणाली नेपालको पश्चिम तराई क्षेत्रको ऐतिहासिक र सामाजिक सम्पदा भएको उल्लेख गरे ।
मन्त्री खड्काले झण्डै १२० वर्षअघि स्थानीय किसानले बनाएको परम्परागत कुलो प्रणालीको पुनर्निर्माण र आधुनिकीकरण गरी वर्तमान अवस्थामा पुर्याइएको बताए ।
आयोजनाबाट उत्पादन भएको ४.७१ मेगावाट विद्युत् प्रयोगको मोडालिटीबारे मन्त्रालयस्तरमा गृहकार्य भइरहेको जनाउँदै उनले निकट भविष्यमै सरकारले यससम्बन्धी उपयुक्त निर्णय लिने जानकारी दिए । बाँकी रहेको थप २४ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरी समग्रमा ३८ हजार तीन सय हेक्टर जमिनमा सेवा पुर्याउने लक्ष्य रहेको बताए ।
उनले रानी जमरा कुलरिया आयोजना समृद्ध नेपाल निर्माणमा एउटा उज्यालो उदाहरणका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।






प्रतिक्रिया दिनुहोस्