हुरीले उडायो घरको छानो, करेन्टले उपेशको प्राण

जेठ १ गते आएको हावाहुरीले उपेशको घरको छानो उडायो । श्रीमती रश्मिला शनिबार घरको छानो हाल्न हारगुहार गर्दै थिइन् । त्यसैबेला उनीमाथि अर्को बज्रपात पर्यो-करेन्ट लागेर उपेशको मृत्यु भयो ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- उपेशको मृत्यु विद्युत करेन्ट लागेर भएको हो, उनी धुलिखेलमा काम गरिरहेका थिए।
- घरको छानो हावाले उडाएपछि गाउँलेहरूले सहयोग गर्न खोजिरहेका बेला उनको मृत्युले गाउँ नै स्तब्ध भएको छ।
- घटनाको अनुसन्धान भइरहेको र विद्युत प्राधिकरणको लापरवाहीले घटना भएको आशंका गरिएको छ।
४ जेठ, काठमाडौं । उपेशलाई घरको आर्थिक अवस्थाले कहिल्यै बसीखान दिएन । उनी मजदुरी गरेर परिवार चलाइरहेका थिए ।
उपेश नेपालीको घर सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ घारिबथान हो । उपेश मजुरीका लागि धुलिखेलमा थिए । तर, धुलिखेलबाट उनी घारिबथान फर्किएनन् । मजदुरीकै क्रममा करेन्टले लियो उनको प्राण ।
उपेशको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
उनको धुलिखेलमा मृत्यु भयो । केही दिनअघि (जेठ १ गते) मात्रै घारिबथानमा घरको छानो हावाले उडाइदिएको थियो ।
घरको छानो उडाएपछि अप्ठेरोमा परेको परियारमा अहिले ठूलो बज्रपात परेको छ ।
घारिबथानस्थित गोपी चोकमा रहेको उपेशको घरको छानो अहिले पनि नजिकै बारीमा अलपत्र रहेको छ ।
ईश्वरपुर नगरपालिका-१२ का वडाध्यक्ष देविबहादुर खत्री (शिव)ले शनिबार बिहानमात्र रश्मिलालाई सहयोगको पहल गर्न भन्दै निवेदन लिएर आउन भनेका थिए । त्यसैबेला दु:खद् खबर सुनेको वडाध्यक्ष खत्रीले बताए ।
‘घरको छानो उडाएको परियारको परिवारलाई कहीँकतैबाट राहत उपलब्ध गराउन सकिन्छ कि भनी पहल गरिरहेका बेला एक्कासी दुःखद् घटना भएको खबर आयो’, वडाध्यक्ष खत्रीले भने, ‘ जेनतेन गुजारा चलाइरहेको उपेशको परिवारमा उनको मृत्युपछि थप दयनीय अवस्था सिर्जना भएको छ ।’
हावाहुरीले घरको छानो उडाएपछि सबै गाउँले मिलेर चन्दा संकलन गरी घरको छानो हाल्न सहयोग गर्ने सोच बनाइरहेका बेला उपेशको मृत्यु भएको खबरले गाउँ नै स्तब्ध बनेको छिमेकी प्रदीप खत्रीले बताए ।
उपेशको घरमा बुबा, आमा, श्रीमती र दुईजना बालबच्चा छन् । उपेशको करेन्ट लागेर मृत्यु भएपछि श्रीमती रश्मिला धुलिखेल आइपुगेकी छन् ।
‘उपेशको श्रीमती, मामाहरू आउनुभएको छ, उहाँहरुबाट जाहेरी लिएपछि पोष्टमार्टमको काम हुनेछ’, जिल्ला प्रहरी कायालय धुलिखेलका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले उपेशको परिवार धुलिखेल कुँबरले भने ।
प्रहरी निरीक्षक कुँवरका अनुसार घटनाको अनुसन्धान भइरहेको समेत जानकारी दिए ।
उपेशको शनिबार बिहान ११ हजार भोल्टको हाइट्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको थियो ।
तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ । उनलाई विद्युत प्राधिकरणले ठेक्कामा लिएर काममा लगाएको थियो ।
घरको छानो उडाएको तस्वीर सौजन्य : वडाध्यक्ष देविबहादुर खत्री (शिव)
प्रतिक्रिया दिनुहोस्