हजारौंको पहरेदार ‘हेलम्बु एकीकृत सिकाइ केन्द्र’
दुर्गम पहाडी भूभागका बालबालिकाहरू उच्च शिक्षा लिन चाहँदा पनि शहरमा जस्तो सहज छैन । आर्थिक अवस्था राम्रो भएका परिवारका बालबालिका उच्च शिक्षाका लागि सदरमुकाम हुँदै संघीय राजधानीसम्म पुग्छन् । अधिकांश विपन्न परिवारका विद्यार्थीहरू भने एसईईपछिको अध्ययनलाई बिट मार्न बाध्य छन् ।
गाउँमा भनेजस्तो शैक्षिक संस्था नहुने र शहरमा गएर पढ्न नसक्दा विद्यार्थीहरूले एसईईपछि बीचैमा पढाइ छाड्ने समस्या सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पनि थियो । विद्यार्थीहरूको अध्ययनको शिलशिला नरोक्न र चाहेको विषय पढाउन गत वर्षबाट गाउँपालिकाले एउटा उपाय निकालेको छ । त्यो हो, ‘हेलम्बु एकीकृत सिकाइ केन्द्र’ ।
गाउँपालिका वडा नं २ को भूमेश्वरी माध्यमिक विद्यालय, वडा नं ४ को सरस्वती माध्यमिक विद्यालय र वडा नं ६ को महेन्द्र माध्यमिक विद्यालय गरी हेलम्बु गाउँपालिकाभित्र कक्षा १० भन्दा माथिल्लो तहसम्म पढाइ हुने तीनवटा विद्यालय छन् । ती विद्यालयमा पनि विद्यार्थीको संख्या कम हुनुका साथै दक्ष शिक्षकहरूको अभाव भएपछि गाउँपालिकाले एकीकृत सिकाइ केन्द्र सञ्चालनमा ल्याएको हो ।
हेलम्बुका विद्यार्थीले कक्षा ११ र १२ मा आआफ्नो विद्यालयबाट भर्ना गर्छन् । भर्ना गरेको विद्यालयबाट नै उनीहरूले वार्षिक परीक्षा फारम भर्छन् र सोही विद्यालयबाट ‘पास आउट’ पनि हुन्छन् । तर, बीचको समयमा भने उनीहरू आफ्नो विद्यालयमा पढ्दैनन् । पालिकाका तीनवटा विद्यालयमा भर्ना भएका विद्यार्थीहरू सबैले एकीकृत सिकाइ केन्द्रबाट पढाइ पूरा गर्छन् ।
प्रतिक्रिया दिनुहोस्