स्पेन युरोकप क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । क्रोएसियालाई ५-३ ले पराजित गर्दै स्पेन युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ८ गोल हुँदा स्पेनले क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको हो ।

निर्धारित समयको खेल ३-३ को बराबरी भएपछि स्पेनले अतिरिक्त समयमा दुई गोल गर्दै खेल जितेको हो ।

frontline

युरोकपमा एक खेलमा भएको यो दोस्रो धेरै गोल हो । यसअघि सन् १९६० को पहिलो संस्करणको पहिलो खेलमै फ्रान्स र युगोस्लाभियाबीचको खेलमा ९ गोल भएको थियो ।

रोमाञ्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो साराबिया, सेजार एज्प्लिकुएटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओजाबायाले एक–एक गोल गरे । क्रोएसियाका लागि मिस्लास ओरिसिच र मारियो मासालिचले एक–एक गोल गरे । स्पेनले एक गोल उपहार दिएको थियो ।

स्पेन सन् २०१२ पछि पहिलो पटक युरोकपमा क्वाटरफाइनलमा पुगेको हो । सन् २००८ र २०१२ मा लगातार युरो उपाधि जितेको स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो भने २०१६ को युरो र २०१८ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो ।

डेनमार्कको कोपनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा क्रोएसियाले आत्मघाती गोल मद्दतमा पहिले अग्रता लिएको थियो ।

२०औं मिनेटमा स्पेनका पेड्रीले आत्मघाती गोल गरेपछि क्रोएसियाले अग्रता बनाएको थियो । तर उक्त अग्रता लामो समय टिकेन । ३८औं मिनेटमा पाब्लो साराबियाले जोस गयाको पासमा गोल गर्दै खेल बराबरी गरे ।

पहिलो हाफ १–१ को बराबरी भएपनि दोस्रो हाफमा कूल चार गोल भयो । ५७औं मिनेटमा फेरान टोरेसको पासमा सेजार अज्प्लिकुएटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।

७७औं मिनेटमा फेरान टोरेसले पाउ टोरेसको पासमा गोल गरेपछि स्पेनले ३–१ को अग्रता बनाउँदै जित नजिक पुगेको थियो । तर क्रोएसियाले निर्धारित सममयै कमब्याक गर्‍यो । ८४औं मिनटमा मिस्लास ओरिसिचले गोल गर्दै गोल अन्तर कम पारे ।

इन्जुरी टाइममा मारियो मासालिचले ओर्सिचकै पासमा गोल गरेपछि क्रोएसियाले निर्धारित समयमा खेल ३–३ को बराबरीमा पुर्‍यायो । क्रोएसियाका लागि पछिल्लो दुई गोल गर्ने खेलाडी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । ओरिसिस ६७औं मिनेटमा एन्टे रेबिक र पासालिच ७९औं मिनेटमा निकोला भ्लासिकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप भयो । अतिरिक्त समयमा स्पेनले दुई गोल गर्‍यो ।

१००औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई ४–३ को अग्रता दिलाए । त्यसको चार मिनेटपछि नै वैकल्पिक खेलाडी मिकेल ओयाजाबाले गोल गर्दै स्पेनलाई ५–३ को अग्रता दिलाए । दुवै गोलका लागि अर्का वैकल्पिक खेलाडी डानी ओल्मोले सहयोग गरेका थिए ।

स्पेनले अब क्वाटरफाइनलमा फ्रान्स र स्वीट्जरल्याण्डबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

poster-here