स्टारलिंक रोक्न शक्तिशाली व्यवसायी लागेको मस्कको आरोपमा भारत सरकारको खण्डन
विश्व धनाढ्य इलन मस्कले आफ्नो स्याटेलाइट इन्टरनेट सेवा ‘स्टारलिंक’लाई भारतमा केही सीमित व्यवसायीले एकाधिकार कायम राख्न रोकिरहेको आरोप लगाएपछि भारत सरकारले त्यसको खण्डन गरेको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै भारत सरकारले स्याटेलाइट इन्टरनेट सेवाका लागि भारतको नियामकीय व्यवस्था निष्पक्ष र गैरभेदभावपूर्ण रहेको स्पष्ट पारेको हो।
‘भारतको स्याटेलाइट सञ्चार सेवासम्बन्धी नियामकीय संरचना निष्पक्ष र गैरभेदभावपूर्ण छ’, भारत सरकारले भनेको छ, ‘यो संरचना वा यसको कार्यान्वयन अनुचित वा भेदभावपूर्ण रहेको सुझाव आधारहीन र गलत बुझाइमा आधारित छ।’
भारतमा स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनका लागि मस्कको स्टारलिंकसहित तीन कम्पनी प्रक्रियामा छन्।
भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स जियो र सुनिल भारती मित्तलको भारती समूहको युटेलस्याट वानवेब पनि स्टारलिंकसँगै अनुमतिको प्रक्रियामा छन्।
भारत सरकारले तीनवटै कम्पनीको सुरक्षा मूल्यांकन प्रक्रिया जारी राखेको बताइएको छ। सुरक्षा मूल्यांकन पूरा भएपछि मात्रै उसले स्पेक्ट्रम प्राप्तिका लागि अर्को चरणमा जान सक्ने भारत सरकारले स्पष्ट पारेको छ।
‘हाल तीनवटै कम्पनी लगभग समान नियामकीय चरणमा छन्’, भारतीय सरकारको विज्ञप्तिमा भनिएको छ।






प्रतिक्रिया दिनुहोस्