सीमा समस्या समाधान गर्न नेपाल-भारतको संयुक्त स्थलगत निरीक्षण हुने
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा सम्बन्धी बाँकी समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलका क्रममा सीमा समस्यालाई संयुक्त भिजन डकुमेण्टमा समेत समावेश गरिएको हो । दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मतसम्भार कार्यलाई अघि बढाउने विषयमा सहमति जनाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सीमा सम्बन्धी विद्यमान समस्या समाधानको प्रक्रिया अघि बढाउन दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशनसमेत दिइएको बताए । स्थापित सीमा संयन्त्रहरूमार्फत कुटनीतिक समाधान खोज्न दुवै पक्ष प्रतिवद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवस्तरीय बैठक बसेर लामो समयदेखि थाँती रहेका सीमा सम्बन्धी विषयको समाधान प्रक्रिया अघि बढाइने जनाइएको उनले बताए ।
उनले भने, ‘सीमा सम्बन्धी विषय ज्वाइन्ट भिजन डकुमेण्टमा पनि समावेश भएको छ । दुई प्रधानमन्त्रीज्युहरुले नेपाल र भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमास्तम्भहरुको मर्मतसम्भार कार्यको उल्लेख गर्नुभएको छ । विद्यमान सीमा सम्बन्धी जुन विषय छ । सो कार्य अघि बढाउन परराष्ट्रसचिव र विदेशसचिवज्युहरुलाई निर्देशन दिइसक्नुभएको छ । दुई देशबीच स्थापित सीमा सम्बन्धी संयन्त्रहरुमार्फत कुटनीतिक हल निकाल्न दुवै पक्षको प्रतिवद्धता जाहेर भएको छ । दुवै पक्षलाई अनुकुल हुने समयमा परराष्ट्रसचिव र भारतीय विदेश सचिवस्तरीय बैठक बसी सीमा सम्बन्धी थाँती रहेका विषयहरुको कुटनीतिक समाधानको प्रक्रिया अघि बढ्नेछ ।’
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेश हुने विश्वास सरकारले व्यक्त गरेको छ । ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण आफूसँग रहेको प्रतिवेदनको साँचो २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गरेको प्रवक्ता क्षेत्रीले बताए । दुवै पक्षको सहमतिअनुसार ईपीजी प्रतिवेदन शुरुमा भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीसमक्ष पेश गर्ने कार्यतालिका रहेको सरकारले जनाएको छ । दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न समय प्राप्त हुने विश्वाससमेत व्यक्त गरिएको बताए ।
ईपीजी गठन हुनुका मूलभूत उद्देश्यअनुरूप प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयमा दुवै देशले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्ने सरकारको धारणा छ । प्रधानमन्त्री साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन संयुक्त भिजन डकुमेन्टमार्फत दिशा निर्देश गरेको पनि सरकारले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्