सीटी सफारी दुर्घटना, घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु
६ पौष, विराटनगर । मोरङको रंगेलीमा सीटी सफारी दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रदेश १–०२–००३ ह ३८४७ नम्बरको सफारी गत मंसिर २९ गते राती दुर्घटना हुँदा मोरङको सुनवर्षी नगरपालिका–९ का २७ वर्षीय डोमा सहनी घाइते भएका थिए ।
डाइनिया–रंगेली सडक खण्डअन्तर्गत रंगेली नगरपालिका–७ धाद्रीपुलमा ५ जना सवार रहेको सीटी सफारी दुर्घटना हुँदा गम्भीर घाइते भएका सहनीको मृत्यु भएको हो ।
उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा सोमबार साँझ ६ बजेतिर उनको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए ।
उनका अनुसार जिल्ला अस्पताल रंगेली र विराटनगरको कोसी अस्पतालमा उपचार सम्भव नभएपछि घाइते भएका सहनीलाई थप उपचारका लागि गोल्डेन अस्पताल लगिएको थियो ।
प्रहरीले सफारी चालक सुनवर्षी–९ का २७ वर्षीय सुरेन सहनीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
प्रहरी निरीक्षक खड्काका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सहनीले चलाएको सफारी आफै अनियन्त्रित भएर दुर्घटनामा परेको थिया ।
चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका केही पनि कागजात नरहेको उनले बताए ।






प्रतिक्रिया दिनुहोस्