सामाखुसीबाट १०९ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ
समाचार सारांश
- काठमाडौंको सामाखुसीमा प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा झापाका ३३ वर्षीय शंकर राजवंशी रहेका छन्, जसको डेराबाट लागुऔषध बरामद भयो।
- प्रहरीले उनको डेराबाट १०९.२२ ग्राम खैरो हेरोइन, नगद, मोबाइल र डिजिटल तराजु बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित सामाखुसीबाट प्रहरीले लागुऔषध खैरो हेराइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका वडा नम्बर–१० घर भएर सामाखुसी टाउनप्लानिङ नजिक बस्दै आएका ३३ वर्षीय शंकर राजवंशी छन् ।
बुधवार साँझ प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर शरण विक्रम शाह नेतृत्वको टोलीले उनको डेरा खानतलासी गरेर १०९ दशमलव २२ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।
आरोपीको साथबाट ९ थान मोबाइल र ८२ हजार नगद समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए । उनले भने, ‘उनको साथबाट ६ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।’
आरोपीले आफ्नो डेराको बेडमुनी लुकाएर राखेको अवस्थामा लागुऔषध जोख्न प्रयोग गरेको डिजिटल तराजु पनि प्रहरीले बरामद गरेको छ । आरोपीबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।






प्रतिक्रिया दिनुहोस्