सञ्चालक समिति बैठक नबसेपछि १६ दिनदेखि दोहामै थन्कियो निगमको जहाज

३० पुस, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज बिग्रिएको १६ दिन भयो । तर, जहाज बिग्रिएको यतिका दिन हुँदा पनि मर्मत गर्ने जमर्कोे निगमले गरेको छैन ।

गत १६ पुसमा काठमाडौंबाट दोहा उडेको जहाज त्यहाँ अवतरण हुनेबित्तिकै इन्जिनमा समस्या आएको थियो । इन्जिनमा समस्या आएपछि ९ एन एकेडब्ल्यू कल साइनको ए–३२० जहाज त्यहिँ ग्राउन्डेड भयो । 

frontline

इन्जिन उतैबाट स्वाप गरेर ल्याउनुपर्ने भएपछि यो प्रक्रियाका लागि एओजी(एयरक्राफ्ट अन ग्राउण्ड) गर्नुपर्ने हुन्छ । एओजी गर्नका लागि निगम सञ्चालक समिति बोर्डले निर्णय गर्नुुपर्छ । यसमा निगमको कार्यकारी अध्यक्षको एकल निर्णय गर्ने अधिकार हुँदैन । 

तर, जहाज बिग्रिएको १६ दिनसम्म पनि निगम सञ्चालक समितिको बैठक बस्न सकेको छैन । बैठक नबस्दा जहाज दोहामै ग्राउण्डेड अवस्थामा छ । 

निगमका एक अधिकारीले हालसम्म बोर्र्ड बैठक नबसेका कारण यसबारे कुनै निर्णय भइनसकेको जानकारी दिए । ‘इन्जिन मर्मतका लागि एओजी गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘संस्थाको नियमावली अनुसार यो निर्णय अध्यक्ष ज्यू एक्लैले लिन सक्नुहुन्न । बोर्ड बैठक बसेको छैन । त्यसैले काम भएको छैन ।’

सञ्चालक समिति सदस्यलाई कार्यालय प्रवेशमा रोक

केही समयअघिसम्म निगमका कर्मचारी संगठनले महाप्रबन्धक डिम प्रकाश पौडेललाई कार्यालय प्रवेशमा रोक लगाएका थिए । कार्यालयको मूल ढोकामै उनको फोटो टाँगेर पौडेललाई प्रवेश निषेध गरिएको थियो । 

अहिले प्रवेश निषेधमा पर्नेमा अन्य तीनजना पनि थपिएका छन् । कर्मचारी युनियनले ईश्वरी पैडेल, फुर ग्यल्जे शेर्पा र किशोर प्रधानलाई यतिबेला कार्यालय प्रवेशमा रोक लगाइएको छ । 

यी तिनैजना सदस्य निजी हवाई कम्पनीसँग सम्बद्ध भएकाले स्वार्थ बाँझिने हुँदा उनीहरूलाई हटाउनुपर्ने युनियनको माग छ । 

केही दिनअघि बोलाइएको बोर्र्ड बैठकमा सबैको सहभागिता हुन नसकेका कारण बैठक नै हुन नसकेको एकजना बोर्ड सदस्यले बताए । 

‘बोर्ड बैठक हुनुअघि नै युनियनका कर्मचारीले केही साथीहरूलाई प्रवेश निषेध गराउन ठिक परेर बसेको खबर आएपछि कोही पनि कार्यालय गएनन्,’ उनले भने, ‘तर, अध्यक्षले चाहने हो भने जुम मिटिङमार्फत या मन्त्रालयमै बसेर पनि बैठक गर्न सकिन्छ ।’

त्यसकारण कार्यकारी अध्यक्ष युवराज अधिकारी नै बोर्र्ड बैठक गराउने पक्षमा नरहेको ती सदस्यले बताए । हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले बोर्डका ती चार सदस्यलाई हटाउने प्रपञ्चमा लागेका कारण पनि तत्काल बैैठक बस्न सक्ने अवस्था नरहेको स्रोतले बतायो । 

अर्कोतर्फ निगम कर्मचारी युनियनका अध्यक्ष मानबहादुर कुँवर भने निगमको नियमित काम कारबाहीका विषयमा बैठक बस्नबाट युनियनले कुनै रोक नलगाएको तर्क गर्छन् । 

उनका अनुसार नयाँ कार्यकारी अध्यक्षको रूपमा युवराज अधिकारी आइसकेपछि दुईपटक बोर्ड बैठक बसिसकेको छ । यसबाट पनि बैठक बस्ने विषयलाई युनियनको तर्फबाट कुनै रोकावट नभएको पुष्टि हुने उनको भनाइ छ । 

‘दुईपटक त उहाँहरू बैठक बस्नुभएकै हो । अहिले पनि कार्यालय छिर्नै नदिने भनेर हामी सशक्त ढंगमा लागेका छैनौं,’ उनले भने, ‘गएको हप्ता पौने चार बजे बोलाइएको बैठकमा पाँच बजेसम्म एकजना मात्रै आउनुभयो । चारजना पनि नपुगेपछि बोर्ड बैठक हुन नसकेको हो ।’

मन्त्री आलेले स्वार्थ बाँझिने व्यक्तिलाई विस्तारै सञ्चालक समितिबाट हटाउने आश्वासन दिइसकेपछि यो आन्दोलनलाई केही खुकुलो पारिसकेकोे उनी बताउँछन् । यद्यपी सञ्चालक समिति सदस्यबाट ईश्वरी पौडेल, फुर गेल्जे शेर्पा, किशोर प्रधान र डिम प्रकाश पौडेल हट्नैपर्ने अडानबाट युनियन पछि हटेको छैन । 

जहाज थन्किँदा करोडौं घाटा

निगमको न्यारोबडी जहाजले सामान्य अवस्थामा दैनिक सरदर साढे दुईवटा उडान गथ्र्यो । १ सय ५० सिट क्षमताको जहाज ग्राउण्डेड हुँदा निगमले दैनिक सरदर एक करोड ८७ लाख ५० हजार रूपैयाँ नोक्सानी व्यहोरिरहेको एक उच्च अधिकारीले बताए । 

निगमको जहाज नबनेको फाइदा अर्कोतर्फ निजी वायुसेवा तथा विदेशी कम्पनीले उठाइरहेका छन् । पछिल्लो केही दिनको उडान रिपोर्ट हेर्दा अन्तर्राष्ट्रिय उडान गर्ने निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले दैनिक दशवटा उडान गर्दा निगमले भने ६ वटामात्रै उडान गरिरहेको देखिन्छ ।

नेपालबाट दैनिक ३० देखि ३५ वटा अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ । विमानस्थल कार्यालयका अनुसार निगमले औसत ६ वटामात्रै उडान गर्ने गरेको हो । चारवटा जहाजमार्फत निगमले जापान, क्वालालम्पुर, हङकङ, दुबई, दोहा र दिल्लीमा उडान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here