संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालमा बिरामीको चाप

सोमबार, काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालमा बिरामीको चाप फेरि बढेको छ । कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको समय अर्थात वैशाख मशान्तकै जस्तो आईसीयू र आकस्मिक कक्षमा शय्या अभाव हुन थालेको छ । बेडको पालो पर्खिएर अस्पतालबाहिर बस्ने संक्रमितको संख्या बढ्दै गएको छ ।

अस्पतालका सबै शय्या संक्रमितले भरिएपछि बिरामी बाहिरै पर्ने अवस्था आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोला बताउँछन् ।

frontline

आइतबार साँझ टेकु अस्पताल परिसरको टहरामा कामदारहरु बेड राख्दै थिए, इलेक्ट्रिसियनहरुले बत्ती जोड्दै थिए । बेड तयार नहुँदै २ जना संक्रमित अक्सिजनको सहरामा त्यही पल्टिएका थिए । आकस्मिक कक्षबाहिर ३ जना संक्रमित अक्सिजनको सहारामा पालो कुर्दै थिए । संक्रमितका आफन्तलाई चिकित्सकले भन्दै थिए, ‘आईसीयू खाली छैन, आकस्मिक कक्षमा कतै म्यानेज गर्नुपर्ला… नत्र अरु अस्पतालमा रेफर गर्नुपर्छ ।’

गत वैशाख दोस्रो सातादेखि शुरु भएको कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दा टेकु अस्पतालमा दिनमा ६० जना संक्रमित उपचारका लागि आउथे । त्यसपछि क्रमश संख्या घट्दै गएको थियो । तर केही दिनयता फेरि उपचारका लागि आउने बिरामीको संख्या बढेको छ । अस्पताल प्रशासनका अनुसार शनिबार ५० जना भन्दा बढी संक्रमित उपचारका लागि आएपछि अस्पताल परिसरको टहरामा पुन: बेड राखिएको हो । पछिल्लो साता बढेको संक्रमितको संख्याले दोस्रो लहरको उत्कर्षको झल्को दिएको निर्देशक डा. बास्तोला बताउँछन् ।

टेकु अस्पताल प्रांगणको टहरामा तत्कालका लागि १० बेड थपिएको छ । तर यो बेड संख्या पनि अपुग हुने चिकित्सकहरु बताउँछन् । निर्देशक डा. बास्तोलाका अनुसार अहिलेकै दरमा बिरामी बढ्दै गए दोस्रो लहरको उत्कर्षकै अवस्था दोहोरिन धेरै दिन लाग्दैन ।

टेकु अस्पतालमा अहिले आईसीयू, क्याबिन र आकस्मिक कक्षमा गरी ९० जना संक्रमित उपचाररत छन् । यो सङ्ख्या २ दिनमा नै दोब्बर हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

अघिल्लो सातासम्म एक सय जना संक्रमित उपचाररत पाटन अस्पतालमा आइतबार २ सय भन्दा बढी संक्रमित छन् । कोभिड फोकल पर्सन डा. बिमल पाण्डेका अनुसार पछिल्लो केही दिनयता आईसीयू बेड अभाव हुन थालिसकेको छ । ‘अबको केही दिनमा दोस्रो लहर उत्कर्षमा पुग्दाको झैं सरकारी अस्पतालमा बेडको हाहाकार हुनसक्छ’ उनले भने ।

त्रिवि शिक्षण अस्पतालमा पनि आइतबार ११ वटा बेड थपिएको छ । सोमबार अझै ३० वटा बेड थप्न लागेको अस्पतालका कोभिड व्यवस्थापनमा खटिएका श्वासप्रस्वास रोग विशेषज्ञ डा. निरज बम बताउँछन् । उनका अनुसार दोस्रो लहर उत्कर्षमा हुँदा शिक्षण अस्पतालमा आईसीयूसहित कुल ३ सय ७५ बेड सञ्चालनमा थिए । पछिल्लो महिना संक्रमितको संख्या घट्दै गएपछि १ सय १० बेडमा झारिएको थियो । संक्रमित बढेसंगै फेरि बेड संख्या थप्दै लगेको डा. बम बताउँछन् । उनी भन्छन्,  ‘हामी अर्को ठूलो क्षतिको नजिक छौं ।’

कोरोना महामारीको दोस्रो लहर शुरु गरेपछि सरकारले वैशाख दोस्रो सातादेखि करिब डेढ महिना कडा निषेधाज्ञा लगायो । त्यस अवधिमा बिरामीको संख्या घट्दै गएको थियो । असार पहिलो हप्तादेखि निषेधाज्ञा खुकुलो बनाएपछिको एक महिना कोरोना संक्रमितको संख्या खासै बढेको थिएन । तर साउन पहिलो हप्तादेखि संक्रमितको संख्या पुन: बढेको छ ।

कोरोना संक्रमितको संख्या घट्दै गएपछि सरकारी अस्पतालले विस्तारै अरु रोगको उपचार शुरु गरेका थिए । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताललाई दिँदै आएको रकम बन्द गरेको थियो । तर अब पहिलाकोझै स्वास्थ्य प्रणाली कोरोना संक्रमितको उपचारमा सक्रिय राख्नुपर्ने पाटन अस्पतालका चिकित्सक डा. पाण्डे बताउँछन् । ‘हामी २ महिनाअघिकै अवस्थामा पुग्न सक्छौं त्यसैले स्वास्थ्य प्रणाली तयारी अवस्थामा बस्नुपर्छ’ उनले भने ।

कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी नअपनाउँदा दोस्रो लहरमा धेरै मानिसले ज्यान गुमाए र संक्रमितको संख्या पनि अत्यधिक बढ्यो । शिक्षण अस्पतालका चिकित्सक डा. बम दोस्रो लहरअघिको गल्ती दोहोरिसकेकाले अहिले तत्कालको अवस्थामा अक्सिजनको जोहो गर्नुपर्ने बताउँछन् ।

अनियन्त्रित भिडभाड, नारा जुलुसको कारण संक्रमण समुदायमा फैलिइसकेकाले संक्रमित अझै बढ्ने उनको दाबी छ । उनका अनुसार डेढ महिनासम्म निषेधाज्ञा गर्दा पनि परीक्षणको दायरा विस्तार नगर्दा महामारीको सही आकलन हुन सकेको थिएन । ‘निषेधाज्ञाको बेलामा होस् या निषेधाज्ञापछि कहिले पनि हाम्रो प्राथमिकतामा महामारी निर्मूल गर्नु रहेन, त्यसैले अब अक्सिजन जोहो गर्नुको विकल्प छैन’  डा. बम भन्छन् ।

टेकु अस्पतालका निर्देशक डा. बास्तोला पनि निषेधाज्ञापछि जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले डेढ महिनाकै अवधिमा पुन कोरोनाबाट हुने क्षति बढ्ने स्थिति आइपुगेको बताउँछन् । समुदायमा भाइरस रहिरहेकै बेला स्वास्थ्य मापदण्ड नअपनाउने र भीडभाड गर्ने जस्ता गतिविधिको कारण संक्रमण सबैतिर फैलिएको उनको दाबी छ ।

डा. बास्तोलाका अनुसार पछिल्लो समय नेपालमा तुलनात्मक रुपले धेरै खोप आएको छ र खोप लगाउनेको संख्या पनि बढेको छ । हालसम्म नेपालमा ४० लाख ६४ हजार २८८ जनाले पहिलो डोज खोप लगाएका छन् । त्यस्तै १८ लाख १३ हजार ४७१ जनाले दुबै डोज खोप लगाएका छन् ।

तर यो खोप लगाउनेको संख्या कुल जनसंख्याको तुलनामा ज्यादै कम भएकाले संक्रमण फैलिँदा फेरि मानवीय क्षति बढ्न सक्ने उनी बताउँछन् । ‘पहिलेको गल्तीबाट केही नसिकेको कारण हामी जोखिमको नजिक नै छौं, विगतका केही साताको लापरवाहीको परिणाम देखिने बेला हो यो अझै धेरै देखिन सक्छ’ उनी भन्छन् ।

संक्रमितको चाप बढ्न थालेपछि उपचारात्मक सेवाले मात्र नधान्ने शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दास बताउँछन् । अस्पतालमा संक्रमित बढ्नुको कारण राज्य र समाजको लापरवाही रहेको उनको निचोड छ ।

डा. दासका अनुसार विगतका गल्तीबाट नसिक्दा फेरि धेरै मानिसले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ । ‘अब कस्तो अवस्था आउन सक्छ सायद सबै चिकित्सकले कल्पना गरिसकेका छन्, त्यसैले उपचारात्मक सेवा संगसंगै महामारी नियन्त्रणको लागि परीक्षण बढाउनुपर्छ’ उनी भन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोजसम्ममा तेस्रो लहर आउने अनुमान गर्दै स्वास्थ्य प्रणाली तयारी अवस्थामा राखेको बताएको छ । तर मन्त्रालयले आकलन गरेको भन्दा अघि नै ठूलो क्षति हुन सक्ने विज्ञहरु बताउँछन् ।

महामारीविज्ञ डा. केदार बराल संक्रमणदर २० प्रतिशतको हाराहारीमा नै रहेकाले दोस्रो लहर सकिएको भन्न नमिल्ने बताउँछन् । ‘हामीले समुदायबाट संक्रमण निस्तेज गर्न प्रयास नगरुञ्जेल संक्रमण बढ्ने क्रम जारी नै रहन्छ’ उनी भन्छन् ।

जनस्वास्थ्यविद डा. शरद वन्त समुदायमा लामो समयसम्म भाइरस रहन दिँदा धेरै क्षति गर्ने बताउँछन् । संक्रमणलाई नियन्त्रण गर्न कुनै प्रयास नगर्नुको अर्थ भाइरस फैलिने वातावरण निर्माण गर्नु रहेको उनको भनाइ छ ।

उनका अनुसार अहिले नेपालमा भाइरस फैलिने वातावरण निर्माण भइरहेको छ । ‘जबसम्म समुदायबाट भाइरस निस्तेज हुदैन तबसम्म नयाँ नयाँ भेरियन्ट बनेर भाइसले सताइरहन्छ, हाम्रो गतिविधि र व्यवहारका कारण संक्रमण बढ्नु स्वाभाविक नै हो’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here