शौर्यद्वारा प्रदूषित खानेपानी मुहान, मेयर मौन

शौर्य सिमेण्टको चुनढुङ्गा ढुवानीका क्रममा उत्पन्न धुलो उडेर खानेपानी प्रशोधन गरिने ट्याङ्कीमा मिसिँदा उदयपुरको कटारीका बासिन्दा प्रदूषित पानी पिउन विवश छन् । ३, ४ र ५ नम्बर वडाका २५ सय घरधुरी उक्त अवस्थाबाट पीडित छन् ।  

कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णु पौडेलका अनुसार पानी सङ्कलन तथा प्रशोधनस्थलसँगै जोडिएको सडक हुँदै ढुङ्गा बोकेर दैनिक ७ सय ट्रिपर गुड्छन् ।

frontline

धुलाम्मे कच्ची सडकमा लाम लागेर चल्दैआएका ती ट्रिपरहरूले उडाएको धुलोले खानेपानी पूर्णरूपमा प्रदूषित भएको सँस्थाका अध्यक्ष पौडेलले स्वीकारे । भन्छन्, ‘ ट्रिपरको धुलोले खानेपानी प्रदूषित बनाएकोमा शौर्यलाई पत्र काटेरै ध्यानाकर्षण गराइयो , मेयरकोमा डेलिगेसन पनि गइयो तर सुनुवाई भएन । ’

सिन्कौले र मरूवा मर्ज भएर कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गठन गरिएको छ । धुलोले पानी प्रशोधन गर्ने मुख्य ट्याङ्कीमा लेउ लागेको छ भने हरियो रङ्गका भ्यागुताहरू पनि उफ्रेको स्थानीय बताउँछन् । पानीलाई प्रदूषाणमुक्त बनाउन हरप्रयत्न गरिरहेको संस्थाका कार्यालय प्रमुख शुमन कार्कीको दाबी छ । 

उनले भने, ‘फिल्टरको विधी अनुसार ट्याङ्कीको माथिल्लो भाग खुल्ला राख्नुपर्छ । किनभने फिल्टर गर्न जम्मा गरिएको पानीमा हावाको बहाव र घामको प्रकाश अनिवार्य रूपमा पर्नैपर्छ ।’ भ्याक्टोरियालाई रोक्न माथिल्लो ट्याङ्कीमा बिछ्याइएको बालुवा ट्रिपरको धुलोले कालो बनाइदिने भएकाले पानी प्रदूषित बन्नेको कार्कीको दाबी छ ।

पानीलाई प्रदूषणमुक्त बनाउन एकाध महिनामा ट्याङ्की सफा गर्दै आएको कार्कीले भने,  ‘जबकी ट्रिपर चल्नुअघि वर्ष दिनमा एक पटक ट्यांकी सफा गर्दा पुग्थ्यो ।’ वर्षमा ६ पटक सफा गर्नुपर्दा संस्थाको व्ययभार बढेको उनले जानकारी दिए ।

मयरको ‘शंकास्पद’ मौनता 

स्थानीय प्रदूषित पानी पिउन विवश हुँदा मेयर राजेशचन्द्र श्रेष्ठमाथि यस विषयमा मौनता साँधेको आरोप लागेको छ । कतिपयले मेयरको मौनतालाई शंकास्पद पनि भनेका छन् । 

शौर्य सिमेण्टमा मेयर श्रेष्ठको सेयर रहेको दाबी गर्नेहरू पनि भेटिएका छन् । ट्रिपर किनेर आफैं चलाइरहेका एक स्थानीय युवा भन्छन्, ‘हामीसँग प्रति ट्रिप एक टन हिसाब छुट्टै देखाइन्छ । दैनिक सयौं ट्रिपरसँग लिइएको त्यस्तो हिसाबसँग जोडेर आरोप लगाइएको छ ।’

यता मेयर श्रेष्ठले धुलोले पानी प्रदूषित नहोस् भनेर सर्वसम्मतीमा खानेपानी प्रशोधनस्थल क्षेत्रको कच्ची सडकमा ढलान गरेको बताए । भने, ‘करोड बढी लगानीमा  बाटो ढलान गरियो । तरपनि धुलो उड्न रोकिएन । यसबारे दीर्घकालीन समाधान खोजिरहेका छौँ । जनतालाई शुद्व पानी खुवाउने दायित्वबाट च्यूत भएको छैन ।’  

सिमेण्ट उद्योगहरूबाट मेयरले कमिसन लिएको, शेयर लगानी गरेको भन्ने विरोधीहरूले जनतामा भ्रम छरेको आरोपमा कुनै सत्यता नरहेको मेयर श्रेष्ठको दाबी छ । उनले ती आरोपलाई प्रमाणित गर्न चुनौती दिएका छन् । ‘भगवानलाई साक्षी राखेर म के प्रार्थना गर्छु भने कुनैपनि ढुङ्गाखानी र सिमेण्ट उद्योगहरूबाट यदि मैले व्यक्तिगत लाभ लिएको भए एक रात पनि कट्न नपाउँ,’ मेयर श्रेष्ठले भावुक हुँदै भने, ‘भ्रमको पछी कोही पनि नलागौँ । सम्पत्ति कमाउन होइन, सेवा गर्न राजनीतिमा लागेको हुँ । धन कमाउने उद्देश्य थियो भने राजनीतिमा होइन, व्यापार÷व्यवसायमा लाग्थेँ ।’ 

ट्रिपरका लागि खानेपानी प्रशोधन केन्द्रभन्दा टाढाबाट वैकल्पिक सडक बनाउनुपर्ने सुझाव छ । तर सरोकारवाला निकायले यसतर्फ ध्यान नदिएको स्थानीयको गुनासो छ । नागरिक स्वास्थ्य तथा पर्यावरण संरक्षण समितिका अध्यक्ष सन्तोष बराइलीले प्रदूषित खानेपानी वितरण गरेर जनताको स्वास्थ्यसँग खेलबाड नगर्न आग्रह गरेका छ

यसबाट नागरिकको स्वच्छ खानेपानी पिउने अधिकार कुण्ठित भएको छ । प्रदूषित खानेपानी पिउन विवश कटारीबासीको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको भन्दै मेयर श्रेष्ठलगायत, खानेपानी संघका पदाधिकारीहरुको सर्वत्र आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here