शिक्षक परीक्षा दिन, विद्यालय नै बन्द गरेर !

सान्केतिक तस्बिर

१६ चैत, रामेछाप । रामेछाप नगरपालिकाका दुई विद्यालयका शिक्षक शिक्षक सेवा आयोगको परीक्षा दिन गएका छन्।

तर, विद्यालय नै बन्द गरेर। जसकारण रामेछाप–७ भालुखोपको पटनादेवी मावि र वडा नम्बर १ गोठगाउँको चण्डेश्वरी माविमा यति बेला पठनपाठन ठप्प छ।

frontline

मंगलबार सुरु भएको परीक्षा दिन पटनादेवीबाट ११ र चण्डेश्वरीबाट १२ शिक्षक गएका हुन्। एसईई तयारीमा रहेका दुई विद्यालयका करिब १ सय ११ विद्यार्थीको पढाइ अन्योल भएको छ।

एसईई तयारीमा रहेकी सम्झना तामाङले आफूले घरमै अध्ययन गरिरहेको सुनाइन्। विद्यालय बन्द हुँदा दुःख लागेको उनको भनाइ छ। अब कसरी आफ्नो फलामे ढोका पार गर्ने हो भन्ने चिन्ताले सताएको तामाङले बताइन्।

विद्यालय एक साता बन्द हुने भएपछि अभिभावक छोराछोरीको पढाइ बिग्रने र एसईईमा राम्रो नतिजा नआउने हो कि भन्ने चिन्तामा परेका छन्। १० वर्षको कमाइ खेर जाने हो कि भन्ने चिन्तामा छिन इन्द्रकुमारी तामाङ।

यस्तो बेला सबै जना शिक्षक आफ्नो भविष्य बनाउँदै गर्दा आफ्ना बाबुनानीको भविष्य भने बिग्रने चिन्ता व्यक्त गर्छिन् इन्द्रकुमारी।

एसईई आइरहेका बेला पढाइ प्रभावित हुने गरी सरकारले आयोगको परीक्षा सञ्चालन गर्नु नै गलत भएको र स्थानीय बिदा बाँकी रहेको हुनाले शनिबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय व्यवस्थापन समितिबाट गराएर शिक्षकलाई परीक्षामा पठाइएको विद्यालय प्रशासनले जनाएको छ।

कुनै पनि विकल्प नभेटेपछि शिक्षकलाई परीक्षामा पठाइएको पटनादेवीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोपबहादुर लामाले बताए। ‘शिक्षकको पनि त व्यक्तित्व बर्बाद बनाउनु भएन नि !’, अध्यक्ष लामाले भने।

शिक्षा नीति र पद्धति नै गलत रहेको नेपाल शिक्षक संगठन रामेछापका अध्यक्ष केशरबहादुर श्रेष्ठले बताए। ‘निजामती सेवामा देशभरबाट तत्काल कर्मचारी व्यवस्थापन गर्ने सरकारले शिक्षकलाई किन व्यवस्थापन गर्न सक्दैन ?’, अध्यक्ष श्रेष्ठको प्रश्न छ, ‘शिक्षकको पनि त आफ्नो करियर हुन्छ। पदोन्नतिको आश कसलाई हुन्न र ?’

एसईईजस्तो संवेदनशील कुरामा विद्यालयले स्थानीय सरकारसँग कुनै पनि सहकार्य नगरेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। शिक्षक नै मनोमानी ढंगले चलेको रामेछाप नगरपालिका–१ का वडाध्यक्ष नरबहादुर थापाको भनाइ छ।

स्थानीय तहसँग चण्डेश्वरी माविका प्राध्यापक केशव सापकोटाले कुनै परामर्श नगर्ने र आफ्नै ढंगले चल्ने गरेको आरोप वडाध्यक्ष थापाले लगाए। 

दुवै विद्यालयका शिक्षकले नगरपालिकालाई औपचारिक जानकारी नगराई विद्यालय नै बन्द गरेर गएको रामेछाप नगरपालिकाका शिक्षा शाखा प्रमुख नमराजप्रसाद बडुले बताए। केही शिक्षकले मात्र फोनमा जानकारी गराएको तर विद्यालय नै बन्द गराएर जानू राम्रो नभएको बडुको भनाइ छ। 

विद्यार्थीको पीडा भने छुट्टै छ। विद्यालय बिदा हुँदा घरको काम सघाउनुपर्ने पटनादेवीका विद्यार्थी सुदीप पाख्रिनले बताए।

‘मकै रोप्ने बेला भएको छ। घरको काममा बाबा ममिले लगाउनु हुन्छ’, पाख्रिनले भने, ‘विद्यालय खुलेको भए आफ्नो तयारी त गर्न सकिन्थ्यो नि !’

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here