व्यवसायीको प्रश्न : कुन अदृश्य शक्तिले गौतमबुद्ध विमानस्थल चल्न दिएन ?

नियमित यात्रु पाउँदा पनि कतिपय वायुसेवा कम्पनीहरूले उडान कटौती गरेकाले त्यस्तो किन भएको हो भन्ने प्रश्न गर्दै व्यवसायीहरुले कटौती भएका उडानहरू पुनः फिर्ता ल्याउन सरकारले सक्दो पहल गर्न नसक्नुको कारण माग गरेका छन् ।
२६ चैत,बुटवल । उद्घाटनको तीन वर्ष बित्न लाग्दासमेत गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय नियमित हुन नसकेपछि रुपन्देहीका होटेल तथा पर्यटन व्यवसायीहरु निराश र छटपटीमा छन् । कारण उनीहरुको लगानी हो । अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर तारे होटेलसहित पर्यटन सम्बन्धित विभिन्न व्यवसायमा करिब एक खर्ब लगानी भएको छ । व्यवसायीहरुमा यसले प्रतिफल दिनुको साटो डुब्ने चिन्ता छ ।




मंसिर पहिलो साता एक नेपाली र चार विदेशी वायुसेवा कम्पनी कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई, जजिराले उडान सुरु गरेपछि रुपन्देहीका पर्यटन व्यवसायी र निजी क्षेत्र उत्साहित भएर बैंकबाट ऋण लिएर व्यवसायमा थप लगानी गरे ।
तर उनीहरूको उत्साह एक महिना पनि टिकेन । एक महिना नबित्दै विदेशी एयरलाइन्सले ‘भिजिबिलिटी’ को समस्या र कतिपयले यात्रु अभावका कारण देखाउँदै उडान रोके ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भिजिबिलिटीको समस्या समाधान गर्न आईएलएसको विकल्पमा आरएनपीएआर प्रविधि लागू गर्यो । त्यसपछि मार्च २९ अर्थात गत चैत १६ गतेसम्म विमानस्थलमा चहलपहल बढ्यो । एअरलाइन्सले उल्लेख्य यात्रु पाउन थाले । तर अप्रिल १ देखि फेरि अन्तर्राष्ट्रिय उडान रोकिएको पछि व्यवसायीहरु फेरि निराश छन् ।
अहिले नेपाल एयरलाइन्सले मात्रै साताको तीन अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । विभिन्न बहानामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र आक्रोशित बनेको छ । सरकारले गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनका लागि कुनै कसर बाँकी नराखेको दाबी गरेपनि परिणाम नदेखिएको भन्दै निजी क्षेत्रले विमानस्थल सञ्चालन हुन नदिने अदृष्य शक्ति को हो ? भन्ने प्रश्न गरेको छ ।
निजी क्षेत्रका लुम्विनी प्रदेश स्तरीय संघसंस्थाहरुले संयुक्त वक्तव्य जारी गर्दै ‘कुन अदृश्य शक्तिले लुम्बिनी प्रदेशको सम्मृद्धिको आधारको रुपमा स्थापना भएको गौतमबुद्ध विमानस्थल सञ्चालन हुन रोकिरहेको छ ? त्यस्ता अवरोधहरु छिचोल्न निजी क्षेत्रका तर्फबाट सरकारलाई कस्तो खालको सहयोगको आवश्यकता परेको हो ?’ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
टिकट बिक्रीको सिन्डिकेट अन्त्य गर्न लुम्बिनीका मुख्यमन्त्रीसँग पटक-पटक आग्रह गरे पनि सुनुवाइ नभएकाले कतै गौतमबुद्ध विमानस्थल चल्न नदिन केन्द्रदेखि प्रदेश सरकारकै मिलेमतो छ कि भन्ने शंका व्यवसायीको छ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेल,उद्योग वाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्मा,उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलम र नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष गणेशप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा विमानस्थल सञ्चालनका लागि सरकारले तदारुकता देखाएको भनेपनि आवश्यक आधारभूत सरकारी कार्यालयहरु स्थापना गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।
वैदेशिक रोजगारीमा जान चाहने श्रमिकहरुका लागि म्यानपावर कम्पनीका कार्यालयहरु र श्रम तथा स्वास्थ्य परीक्षण कार्यालयहरुको स्थापनाका लागि निजी क्षेत्रका तर्फबाट पटक-पटक आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेको भन्दै उनीहरुले विमानस्थलको दूरावस्था देखेर निजी क्षेत्र चिन्तित भएको उल्लेख गरेका छन् ।
विमानस्थल निर्माण सुरु भएसँगै उत्साहित भएर सरकारकै आह्वानमा पर्यटन व्यवसायीहरुले यस क्षेत्रमा गरेको करिब एक खर्ब लगानी जोखिममा रहेको भन्दै उनीहरुले विभिन्न बहानामा निजी क्षेत्रलाई पटक-पटक निराश बनाउने काम नगर्न चेतावनी दिएका छन् ।
नियमित यात्रु पाउँदा पनि कतिपय वायुसेवा कम्पनीहरुले उडान कटौती गरेको सुनिएकाले त्यस्तो किन भएको हो र कटौती भएका उडानहरु पुनः फिर्ता ल्याउन सरकारले सक्दो पहल गर्न नसक्नुको कारण पनि व्यवसायीहरूले माग गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनीका अध्यक्ष गणेश अधिकारीले सरकारले तत्काल अन्तर्राष्ट्रिय उडान नियमित नगरे प्रदेशभरका व्यवसायिक संस्थाहरु वैशाखदेखि चरणवद्ध संयुक्त आन्दोलनमा उत्रिन बाध्य हुने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका क्रममा गौतमबुद्ध विमानस्थलबाट उडान भएपनि १८ घण्टा सञ्चालनमा भएपछि भैरहवाबाट उडान बन्द हुनु संयोग मात्र नभएको चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलले बताए । ‘सरकार काठमाडौं केन्द्रित व्यवसायीको अनुचित दबाब र प्रभावमा परेर गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न नसकेको हो कि भन्ने गहिरो आशंका यहाँका व्यवसायीमा छ, यसलाई सरकारले स्पष्ट पार्नुपर्छ’, पोखरेलले भने ।
भैरहवा विमानस्थलबाट चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेका, एयरलाइन्स कम्पनीहरूले भैरहवामा सम्पर्क कार्यालय पनि नखोलेका र स्थानीय ट्राभल एजेन्सीलाई टिकट काट्न पोर्टल खुला नगरेकाले ९५ प्रतिशत टिकट काठमाडौंबाटै बिक्री हुँदा गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा चल्न नदिइएको टुर तथा ट्राभल व्यवसायी चन्द्र थापाले गुनासो गरे ।
टिकट बिक्रीको सिन्डिकेट अन्त्य गर्न लुम्बिनीका मुख्यमन्त्रीसँग पटक-पटक आग्रह गरे पनि सुनुवाइ नभएकाले कतै गौतमबुद्ध विमानस्थल चल्न नदिन केन्द्रदेखि प्रदेश सरकारकै मिलेमतो छ कि भन्ने शंका लागेको थापाले गुनासो गरे ।
पर्यटन व्यवसायी सञ्जय बजिमय भैरहवाबाट उडान गर्ने सबै एयरलाइन्सको टिकट काउन्टर र सम्पर्क कार्यालय विमानस्थलमा हुनुपर्ने, अनलाइन ई-भिसा र इन्टरनेसनल डिजिटल डाइरेक्ट पेमेन्ट प्रणाली हुनुपर्ने बताउँछन् ।
ट्राभल व्यवसायी सागर अधिकारीले विमानस्थल दिगो सञ्चालन गर्न बौद्धमार्गी बाहुल्य देशबाट भैरहवामा सिधा उडान हुनुपर्ने बताउँछन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार जजिरा एयरलाइन्स, फ्लाई दुबई र थाइ एयर एसियाले ‘समर शेड्युल’ तय नगरेका कारण उडान बन्द भएको हो । जजिरा एयरलाइन्सले मे महिनाबाट उडान सुरु गर्ने आश्वासन दिएको उनले बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय |विमानस्थल व्यवसायी
प्रतिक्रिया दिनुहोस्