रुसमा शक्तिशाली भूकम्प आउँदा पनि धेरै क्षति किन भएन ?

१५ साउन, काठमाडौं । रुसमा बुधबार ८.८ म्याग्निच्युडको भूकम्प गयो । त्यति शक्तिशाली भूकम्प जाँदा पनि मानवीय र भौतिक क्षति खासै भएन ।

कामचाट्का प्रान्तमा बुधबार स्थानीय समय अनुसार बिहान ११:२५ बजे गएको यो भूकम्पलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भनिएको छ । प्रशान्त महासागरको तटीय क्षेत्रका जनतामाझ सुनामीले क्षति पुर्‍याउन सक्ने चिन्ता बढ्यो । लाखौं मानिसलाई सुरक्षित स्थानमा सारियो ।

frontline

तर सुनामी तुलनात्मक रूपमा धेरै कम विनाशकारी देखिएको छ, यद्यपि यसले केही क्षति भने पुर्‍याएको छ ।

त्यसो भए, यो भूकम्प र सूनामी किन आयो ?, र यो किन अनुमान गरिएजस्तो विनाशकारी भएन ? यो प्रश्नको उत्तर खोज्नुभन्दा पहिले भूकम्प गएको भूगोल कस्तो हो र यति ठूलो धक्का कसरी उत्पन्न हुन्छ भन्ने बुझौं ।

मेगा भूकम्प कसरी उत्पन्न हुन्छ ?

बुधबार भूकम्प गएको रुसको कामचाट्का प्रायद्वीप दुर्गम छ । यो ठाउँ ‘प्रशान्त महासागरको रिङ अफ फायर’मा पर्छ । जहाँ धेरै भूकम्प र ज्वालामुखी विस्फोटहरू हुन्छ, त्यो ठाउँलाई ‘रिङ अफ फायर’ भनिन्छ ।

‘प्रशान्त रिङ अफ फायर’ भन्ने यो चाप प्रशान्त महासागर वरिपरिका टेक्टोनिक प्लेटहरूबाट बनेको छ । ब्रिटिश जियोलोजिकल सर्भेका अनुसार, विश्वका ८० प्रतिशत भूकम्पहरू यही क्षेत्रमा हुन्छन् । टेक्टोनिक प्लेटहरू सर्दा र ठोक्किँदा त्यसबाट निस्किने ऊर्जाका कारण जमिन हल्लिन्छ । जसलाई हामी भूकम्प वा भुइँचालो आएको भन्छौं ।

Map showing the epicentre of the earthquake on the Kamchatka Peninsula, where the Pacific plate meets the Okhotsk microplate off the east coast of Russia.

वैज्ञानिकहरु कामचाट्का प्रायद्वीपको किनार नजिकै प्रशान्त महासागर मुनि रहेको प्लेट उत्तरपश्चिम दिशातर्फ वार्षिक करिब ८ सेन्टिमिटर (३ इन्च) को गतिमा सरिरहेको छ । अर्थात् हाम्रो नङ बढ्ने दरको दोब्बर गतिमा । तर यसलाई टेक्टोनिक हिसाबले धेरै छिटो मानिन्छ ।

यहीँ यो प्लेट अर्काे सानो प्लेट ओखोत्स्क माइक्रोप्लेटसँग ठोक्किन्ने वैज्ञानिकहरु बताउँछन् ।

प्रशान्त प्लेट महासागरीय प्लेट हो, जसमा धेरै घना चट्टान हुन्छ, जसले गर्दा त्यो कम घनत्व भएको माइक्रोप्लेट मुनि जान खोज्छ । यो प्लेट पृथ्वीको केन्द्रतर्फ धसिँदै जाँदा तातिन्छ, पग्लिन थाल्छ र अन्तत: बिलाउँछ ।

तर यो प्रक्रिया सधैं सहज हुँदैन । प्राय: यी प्लेटहरू एक–अर्कासँग सर्दा अड्किन्छन् र माथिल्लो प्लेट तानिँदै तलतिर जान थाल्छ । यो घर्षण हजारौं वर्षसम्म संचित हुन सक्छ, तर केही मिनेटमै अचानक मुक्त हुन्छ । यसलाई ‘मेगाथ्रस्ट’ भूकम्प भनिन्छ।

‘हामी जब भूकम्पको कुरा गर्छौं, सामान्यत: एउटा सानो केन्द्रबिन्दुको कल्पना गर्छौं । तर यति ठूला भूकम्प जाँदा सयौं किलोमिटर लामो क्षेत्रमा चिरिएको हुन्छ,’ युनीभर्सिटी कलेज लन्डनका वातावरणीय भूकम्पशास्त्रका लेक्चरर डा. स्टिफन हिक्स भन्छन्, ‘त्यो विशाल चिरा र चिप्लिने क्षेत्रले उच्च म्याग्निच्युड उत्पन्न गर्छ ।’

यही मेगाथ्रस्टका कारण चिली, अलास्का र सुमात्रा टापुमा इतिहासकै सबैभन्दा शक्तिशाली भूकम्प गएको रेकर्ड छ । र, रुसको कामचाट्का प्रायद्वीप पनि यस्तै शक्तिशाली भूकम्पहरूका लागि संवेदनशील मानिन्छ ।

बुधबारको भूकम्पको केन्द्रविन्दुभन्दा करिब ३० किमी (१९ माइल) टाढा सन् १९५२ मा ९ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो ।

बुधबार कामचाट्कामा गएको भूकम्पको गहिराइ करिब २० कि.मि. मुनि थियो । जसले गर्दा सतहमा तीव्र कम्पन भयो र असर व्यापक भयो । यसले जापान, हवाई, अलास्का, अमेरिकी पश्चिमी तट, चिली लगायत प्रशान्त महासागरीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरियो । यद्यपि धेरै क्षेत्रहरूमा समुद्री लहरको उचाइ अनुमान गरिएभन्दा निकै कम भयो र क्षति पनि उल्लेख्य भएन ।

सुनामी किन त्यति विनाशकारी भएन ?

गहिरो महासागरमा सूनामीको गति प्रतिघण्टा ५०० माइल (८०० किमी) भन्दा बढी हुन सक्छ । यो गति भनेको सामान्य यात्री जहाजको जत्तिकै छिटो हो ।

यस्तो अवस्थामा समुद्री छालहरूबीचको दुरी धेरै लामो हुन्छ र छालहरू खासै अग्ला हुँदैनन् । विज्ञहरुका अनुसार यस्ता छाल प्राय: एक मिटरभन्दा अग्ला हुँदैनन् ।

तर सुनामी जमिन नजिकको छेउको कम गहिराइ भएको पानीमा प्रवेश गर्दा, यसको गति घटेर २०–३० माइल प्रति घण्टा जति हुन्छ ।

छालहरूबीचको दुरी जति कम हुन्छ त्यति अग्ला बन्छन्, जसले गर्दा तटीय क्षेत्रमा पर्खालजस्तै अग्लो छाल आउन सक्छ । तर सबै शक्तिशाली भूकम्पले धेरै अग्लो छाल आउने र धेरै टाढासम्म असर गर्ने भन्ने हुँदैन ।

भूकम्पपछि जापानमा देखिएको समुन्द्री छाल ।

बुधबारको भूकम्पका कारण पूर्वी रुसका केही भागमा ४ मिटर (१३ फिट) अग्ला छाल ल्याएको अधिकारीहरूले बताएका छन् । तर यो सन् २००४ को बक्सिङ डे वा २०११ को जापानमा देखिएको दर्जनौं मिटर अग्ला छालको तुलनामा निकै कम थियो ।

‘सुनामीको उचाइ तटीय क्षेत्रमा समुद्री सतहको बनावट र जमिनको आकारबाट पनि प्रभावित हुन्छ,’ साउथह्याम्पटन विश्वविद्यालयकी टेक्टोनिक्सकी प्रोफेसर लिसा म्याकनिल भन्छिन्, ‘यी पक्षहरूका साथै तटीय क्षेत्रमा जनसंख्या कति घना छ भन्ने कुराले असरको गम्भीरता निर्धारण गर्छ ।’

अमेरिकी भूगर्भ सर्भेका प्रारम्भिक विवरण अनुसार, रुसमा बुधबार गएको भूकम्प पृथ्वीको सतहभन्दा करिब २०.७ किमी (१२.९ माइल) गहिराइमा केन्द्रित थियो।

यस्तो कम गहिराइले समुद्रको सतह बढी विस्थापित गर्न सक्छ, जसले गर्दा सूनामीको उचाइ बढ्न सक्छ । तर निश्चित भन्न भने सकिन्न । ‘सम्भवत: सुनामी मोडलहरूमा भूकम्पको गहिराइलाई केही सतर्क रूपमा आँकिएको हुनसक्छ,’ डा. हिक्सले बीबीसी न्यूजलाई भनेका छन्, ‘यदि यो भूकम्प अझै २० किमी गहिरो हुन्थ्यो भने समुद्री छालको उचाइ अझै कम हुन सक्थ्यो ।’

उत्कृष्ट चेतावनी प्रणाली

रुसमा क्षति नहुनुको अर्को महत्त्वपूर्ण पक्ष भनेको प्रारम्भिक चेतावनी प्रणालीको विकास हो । प्रशान्त क्षेत्रमा भूकम्पको उच्च सम्भावना भएका कारण धेरै देशहरूमा सुनामी चेतावनी केन्द्रहरू स्थापना गरिएका छन् । ती केन्द्रहरूले जनतालाई सूचना प्रवाह गरेर सुरक्षित स्थानमा जान प्रेरित गर्छन् ।

सन् २००४ को बक्सिङ डे सुनामीको बेला यस्तो प्रणाली थिएन जसका कारण धेरै जना समयमै भाग्न नपाउँदा ठूलो मानवीय क्षति भएको थियो । त्यो घटनामा १४ देशमा २ लाख ३० हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

भूकम्प कहिले आउँछ भनेर भविष्यवाणी गर्न नसकिने भएकाले प्रारम्भिक चेतावनी प्रणालीहरू अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

समाचार एजेन्सी एपीले रुसको प्रशान्त क्षेत्रमा उत्कृष्ट आपतकालीन तयारी र भूकम्प प्रतिरोधि भवन संरचनाको कारणले धेरै क्षति नभएको जनाएको छ ।

रोयटर्सका अनुसार रुसको पेट्रोपावलोव्स्क–काम्चात्स्की शहरको एउटा अस्पतालमा बिरामीको अप्रेसन चलिरहेको भूकम्प आएको थियो । तर शल्यक्रिया टोलीले अत्यन्त संयमका साथ काम जारी राख्यो । बिरामी सुरक्षित रहे । अस्पताल भवनलाई पनि केही भएन । यो अद्भुत क्षणको भिडियो सामाजिक सन्जालहरुमा भाइरल भएको छ ।

भूकम्पको केन्द्रबाट नजिक क्याम्चाट्का प्रायद्वीप कम जनसंख्या भएको विकट क्षेत्र मानिन्छ । तर भूकम्पको जोखिम क्षेत्र भएकाले त्यहाँका भवनहरु भूकम्प प्रतिरोधी प्रविधिमा निर्माण गरिएको छ ।

कहाँकहाँ कस्तो क्षति भयो ?

भूकम्पको इपिसेन्टर क्याम्चाट्कामै खासै क्षति भएको छैन । शहरका भवनहरुका केही भागहरू, विद्यालयको भित्ता, एक किन्डरगार्टनको पर्खाल भत्किएको विवरण छ । अधिकांश भवनहरू भूकम्प प्रतिरोधी भएकाले गम्भीर क्षति भएन । मानिसहरु भौगदौड गर्दा सामान्य घाइते मात्र भएका छन् ।

सहरका केही भागहरुमा विद्युत् आपूर्ति र मोबाइल सेवा अवरुद्ध भएको थियो ।

रुसको सुदूरपूर्वमा पर्ने सेभेरो कुरील्स्क अर्थात् कुरिल टापुमा समुद्री छाल ३ देखि ५ मिटर अग्लो थियो, जसले गर्दा बन्दरगाहहरू र माछा प्रशोधन संयन्त्रहरू डुबानमा परेका थिए । जहाजहरू किनारमा फसेका थिए । धेरै गाउँहरूबाट नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

जापानका उत्तरी क्षेत्रका तटीय शहरहरूमा १.३–१.७ मिटरसम्म सुनामीको लहर आएको थियो । दुई लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।

अमेरिकाको हवाईमा १.५–१.७४ मिटर अग्लो सुनामी छाल आएको थियो । अलास्का, होनोलुलु लगायत सम्पूर्ण प्रशान्त क्षेत्रमा उद्धारका लागि अलर्ट जारी गरिएको थियो । त्यहाँ पनि गम्भीर क्षति नभएको विवरण छ ।

चिली, इक्वेडर लगायतका अन्य प्रशान्त महासागर दीप क्षेत्रबाट समेत हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भएको छैन ।

रुसी विज्ञान एकेडेमी अन्तर्गतको जियोफिजिकल सर्भेले भूकम्पका परकम्पहरु एक महिनासम्म आउन सक्ने भएकाले निगरानी भने जारी राखेको जनाएको छ ।

भूकम्प |रुस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here