रुपन्देहीबाट नेपाली युवाको अपहरण
२ मङ्सिर, रुपन्देही । रुपन्देहीबाट भारतीय व्यक्तिहरुको समूहले नेपाली युवालाई अपहरण गरेको परिवारले दावी गरेको छ । रुपन्देहीको दक्षिणी भेगमा पर्ने रोहिणी गाउँपालिका–२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले समूहले हिजो साँझ अपहरण गरेको परिवारको दाबी छ ।
परिवारका सदस्यहरुले भारततर्फका सञ्जय यादव, बाबुराम यादव, बेचु यादव र अनिल यादवले फोन गरेर अनिललाई दशगजामा बोलाएर अपहरण गरेको दावी गरेका छन् ।
अनिलकी आमा सुधा कहारले आफ्नो छोरालाई मोटरसाइकलमा भारततर्फ नै लगेको बताएकी छन् । यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने कहारलाई नेपालबाट नभई भारतबाट नै नियन्त्रणमा लिएको बुझिएको बताए । उनले घटनाबारे थप अनुसन्धान शुरु भएको बताए ।
प्रतिक्रिया दिनुहोस्