रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको झलनाथको आरोप
नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाएका छन्।
पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको बताएका हुन्।
वि.सं. २०६२/६३ को परिवर्तनपछि नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेको स्मरण गराउँदै उनले अहिले रास्वपा त्यो शक्तिका रूपमा अघि आएको दाबी गरे । कम्युनिस्ट पार्टीको मुख्य वर्ग शत्रु अब रास्वपा नै भएको उल्लेख गर्दै खनालले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको बताए।
सरकारका आर्थिक नीति, नीति तथा कार्यक्रम र बजेटले तल्लो वर्गका जनताको हित नगरेर माथिल्लो वर्गलाई मात्रै फाइदा पुर्याएको उनी बताउँछन्। जनतामाथि भारी कर थोपरिएको र आर्थिक नीतिहरू सीमित वर्गको पक्षमा रहेको उनको भनाइ छ।
पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजयलाई सामान्य मान्न नसकिने भन्दै उनले विगतका कमजोरीका कारण यस्तो शर्मनाक हार व्यहोर्नुपरेको स्पष्ट पारे। बाह्य शक्तिको प्रभावलाई गौण कारण मान्दै उनले नेतृत्वको असफलताका कारण कार्यकर्ता र समर्थकमा व्यापक असन्तुष्टि बढेको र त्यसको फाइदा अन्य शक्तिहरूले उठाएको दाबी गरे।
वर्तमान सरकारले सुकुमबासी , विद्यार्थी, मजदुर र पत्रकारका समस्या समाधान गर्न नसक्ने बताउँदै खनालले भने, ‘हिजो राजतन्त्र रहँदा मुख्य शत्रु भन्थ्यौँ। अहिलेको संसदीय व्यवस्थामा मुख्य प्रतिद्वन्द्वी भन्छौँ। ६२६३ पछि नेपाली काँग्रेस मुख्य प्रतिनिधि हुन्थ्यो, ‘अहिले रास्वपा त्योभन्दा बढी दलाल पुँजीपति वर्गको प्रतिनिधि भएर आएको छ,’ सत्ता उसकै हातमा छ।’
विगतका कमीकमजोरी सच्याएर सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध भई नयाँ ढङ्गले समाजवादी क्रान्ति र रूपान्तरणको आन्दोलनमा लाग्नुपर्नेमा उनले जोड दिए।






प्रतिक्रिया दिनुहोस्