रास्वपाभित्र सरकारप्रति व्यापक असन्तुष्टि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संसद्मा सरकारको खुलेर विरोध गर्न थालेपछि पार्टी एउटै भए पनि सरकार भने दुई दलीय गठबन्धनको जस्तो देखिएको छ । सभापति रवि लामिछाने पक्षका सांसदहरूले सरकारको कार्यशैलीप्रति खुलेर विरोध गर्दा प्रधानमन्त्री बिरक्तिएर सामाजिक सञ्जालमा ‘आफू एक्लै लड्नु परेको’ धारणा सार्वजनिक गरेका छन् ।

करिब दुई तिहाइको सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीमा पाँच महिनामै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ । यो असन्तुष्टि केबल एउटै पार्टीको सकारको रूपमा मात्रै होइन, दुई अलग–अलग दलको गठबन्धन भएजस्तो देखिएको छ ।

frontline

एकले अर्कालाई अनदेखा गर्ने शैलीमा बालेन सरकार अघि बढेपछि रास्वपाका सांसदहरूले संसद्मा विरोध गरेर सरकारलाई एक प्रकारको थ्रेट गरेका छन् । यो थ्रेटपछि प्रधानमन्त्री साहले ‘कहिलेकाहीँ एक्लै लड्नुपर्दछ’ भन्दै सामाजिक सञ्जालमा निराशाजनक अभिव्यक्ति दिएका थिए । त्यसलगत्तै पुनः अर्को स्टाटस लेख्दै ‘टिमवर्क’ ले सरकारी उद्योगहरूको पुनःसञ्चालनमा सुधार हुन सकेको उदाहरणहरू पेश गर्दै पार्टीभित्रको द्वन्द्वलाई अन्यत्र मोड्ने प्रयास गरेका छन् ।

पार्टी र सरकारबीच खटपट उत्पन्न भएपछि पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन साहबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा लामो छलफल भयो । दुवै नेताले दिउँसो लन्चसहित रातिसम्म लामो संवाद गरेका थिए ।

पछिल्लो समय सरकारको कामकारबाहीप्रति रास्वपाभित्र असन्तुष्टि बढ्दै गएपछि प्रधानमन्त्री साह र सभापति लामिछानेबीच एक्लाएक्लै छलफल भएको हो । दुवैले एक्लाएक्लै छलफल गर्ने निर्णय गरेपछि सचिवालयका कुनै पनि सदस्यलाई बैठकमा सहभागी समेत गराइएन । छलफलमा पार्टी र सरकारलाई थप प्रभावकारी बनाउने, मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्दै आवश्यक परे हेरफेर गर्ने, तथा आगामी राजनीतिक र सरकारी रणनीतिबारे गम्भीर छलफल भएको थियो ।

सभापति लामिछाने र प्रधानमन्त्री साहबीच मतभेद बढेको हल्लाले राजनीतिक वृत्त तातेपछि त्यसलाई मत्थर पार्न रवि आफैँ बालुवाटार गएका थिए । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनपछि दुई पक्षबीच दुरी बढेको भएपनि सभापति लामिछानेले त्यसलाई सार्वजनिक मञ्चबाट अस्वीकार गर्दै आएका छन् । तर प्रधानमन्त्री भने यो विषयमा बोल्न चाहेका छैनन् । उनी सार्वजनिक मञ्चभन्दा पनि सामाजिक सञ्जालमा झुल्किएर आफ्नो धारणा राख्ने गर्छन् ।

‘कहिँकतै सुनिन्छ, केही गडबढ भयो कि केही बिग्रियो कि, राजनीतिक रूपमा अप्ठेरो प¥यो कि, झगडा पो प¥यो कि भनेर ¥युमरहरू आउँछन्, त्यो ¥युमरहरूलाई आज विकेन्ड पनि हो, त्यो ¥युमरहरूलाई आज स्न्याक्सको रूपमा ग्रहण गर्नुहोला । ¥युमरहरू स्न्याक्स मात्रै हो । त्यसको खास त्यो भन्दा बढी भ्यालु केही पनि छैन,’ भन्दै सभापति लामिछानेले सार्वजनिक रुपमै रक्षात्मक अभिव्यक्ति दिएका छन् । रविले रास्वपाले प्राप्त गरेको अभुतपूर्व अवसर गुमाउन नचाहेको बताए । ‘हामी यो अवसर गुमाउन चाहँदैनौँ ।

‘चिन्ता नगर्नुहोला, यो उडान जसलाई गन्तव्यमा लिएर हिँडेका छौँ । कहिलेकाहीँ मौसमले गर्दा टर्बिलेन्स आउन सक्छ, तर हामी गन्तव्यमा सुरक्षित पु¥याउँछौं । हामी छौँ । अप्ठेरो प¥यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ । यो पार्टीमा तपाईँहरू जस्तै केही गरौँ भनेर हुटहुटी बोक्नुभएका युवाहरू हुनुहुन्छ । यात्रामा हिँडिरहँदा बाटोमा कहिलेकाहीँ बादलका टुक्रामा जहाज छिर्दा जहाज हल्लिन्छ । तर जहाज हल्लियो भन्दैमा लौ जहाज दुर्घटनामा पर्ने भयो कि भनेर डर मान्नुपर्ने पनि हुँदैन । हामी सही ढंगले असल नियतका साथ जहाजलाई गन्तव्यमा पु¥याउँछौं,’ उनले युवाहरूलाई ढाडस दिँदै भनेका छन् ।

नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले सरकार र पार्टीभित्र असमझदारी भएको भन्ने हल्लाहरू यसरी व्याख्या गर्दा पार्टीले चलाएको जहाज बादलको टुक्राभित्र परेको आभास हुन्छ । तर उनी खुलेर यो विषयलाई बाहिर ल्याउन चाहँदैनन् ।

सांसदहरूको आलोचनात्मक अभिव्यक्तिलाई कतिपयले पार्टी सभापति लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री साहबीच मतभेदको संकेतका रूपमा व्याख्या गरेका छन् । विधान मस्यौदामा वरिष्ठ नेता एकभन्दा बढी हुन सक्ने, संसदीय दलको नेतालाई बहुमतबाट हटाउन सकिने तथा जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने व्यवस्था प्रस्ताव गरिएपछि पार्टीभित्र विशेष गरी बालेन पक्ष असन्तुष्ट रहेको बेला सरकारमा रहेका मन्त्रीहरूले रवि पक्षका सांसदहरूको काम नगर्दा असन्तुष्टि बढेको हो ।

जब सांसद र सरकारबीच दुरी बढ्दै गयो त्यसपछि रवि लामिछानेले मन्त्रीलाई लगाम लगाउने उपाय निकालेका थिए । पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा हरेक मन्त्रीलाई महिनाको एकपटक दुई घण्टा अनिवार्य सहभागी गराएर रास्वपाले कार्यक्रम सञ्चालन गर्ने भन्दै बालेन सरकारका मन्त्रीलाई लगाम लगाएका छन् ।

प्रधानमन्त्रीको हकमा के हुने भन्ने बारेमा अहिलेसम्म केही बोलिएको छैन । लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु हो  । यसै यथार्थलाई मनन गर्दै जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टीपंक्तिसँग प्रत्यक्ष संवादमा जोडिनुपर्ने लामिछानेको उद्घोष छ ।

प्रधानमन्त्री साहको अपरिपक्व कार्यशैली र निर्णयलाई लिएर रवि र बालेनबीच टकराब सिर्जना हुने तहसम्म पुगेपछि बाहिर पनि यसको चर्चा परिचर्चा सुरु भइसकेको छ । रवि र बालेन अहिले एउटै रथमा सवार छन् । एउटाले सरकारको र अर्कोले पार्टीको नेतृत्व गर्दैछन् । यही जिम्मेवारी र सहमतिका साथ बालेन २०८२ पुस १३ गते रास्वपा प्रवेश गरेका थिए । बाहिर विवादका धेरै चर्चा भए पनि उनीहरूबिच व्यक्तिगत र राजनीतिक सम्बन्ध धेरै बलियो छ । तर पछिल्लो पटक राजनीतिक सन्दर्भमा भने केही खटपट भएका छन् ।

उनीहरूबीचको सामीप्यता कतिसम्म छ भने सभापति लामिछानेको चुनावताकाको‘स्पीच’बाटै थाहा हुन्छ । उनले २०८२ माघ ५ गते जनकपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै भनेका थिए, ‘आमा, बालेनले देश बनाउँछ । बालेनले हाम्रो सपना पूरा गर्छ ।’ रविले बालेनबारे बोलेका यी शब्द केवल चुनावी भाषण मात्र थिएनन्, बालेन माथि रविको विश्वास र भरोसा बोलेको थियो । तर अहिले भने यो विश्वासमा तुषरापात परेको छ ।

दुई तिहाइको सरकार गठन भएको पाँच महिना पुग्न लाग्दा पार्टीभित्र दरार देखिएको छ । प्रधानमन्त्री साहको पछिल्लो कार्यशैलीलाई लिएर सभापति लामिछाने असन्तुष्ट बनेका छन् । विशेष गरी सर्वसाधारणले ग्यासको लाइन बस्नुपरेको अवस्था, पासपोर्ट अभाव, यातायात व्यवस्था कार्यालयबाट काम नहुनु, कप्तानगन्ज घट्ना, सुकुम्बासी व्यवस्थापनमा सरकारको कमजोरी, गणेश नेपाली प्रकरण र मिडिया हाउस अगाडि शंकास्पद गाडी पार्किङको घटनाले बालेन र रविबीच खटपटको रूप लियो । यो खटपटले प्रधानमन्त्री नै फेर्ने, सरकार नै ढल्ने, समीकरण नै बिग्रने तहसम्म भने घटनाक्रमको विकास भइसकेको हो भन्ने प्रश्न पनि उठेको छ ।

एक महिना अघि असार ३० गते मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभापति लामिछाने सम्बोधन गर्ने तयारीमा थिए । संसद्बाटै सरकारलाई सुझाव र विपक्षीले उठाएका प्रश्नहरूको जवाफ दिने मनसाय बनाएका थिए । बैठक चलिरहेकै बेला सभापति लामिछाने र बालेनसँगै त गए तर लामिछानेले सम्बोधन गरेनन् । यसका पछाडि धेरै कारण रहेकाले सम्बोधन नगरी दोस्रो पटक रविले प्रधानमन्त्री भेटेर कुराकानी गरेका छन् । यो कुराकानीलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरेको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलमा प्रधानमन्त्री बालेनसँग बहुमत छैन । बालेनसँग केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत हाराहारीको संख्या मात्र पुग्छ । यसैलाई आधार बनाएर सभापति लामिछानेले केन्द्रीय समितिमा अहिले मनोनीत गर्न आनाकानी गरिरहेका छन् ।

लामिछानेले बालेन पक्षका केन्द्रीय सदस्यलाई तत्काल मनोनीत नगरेर दबाबमा राख्न खोजेका छन् । अहिले भइरहेको खटपटले आगामी दिनमा टकरावको अवस्थासम्म पुग्ने सम्भावना र त्यसले निम्त्याउने परिणामबारे अहिले नै भन्न सकिँदैन । तर रवि र बालेनबीच छोटो समयमै यसरी चुलिएको असन्तुष्टिले सरकार सञ्चालनमा सकारात्मक सन्देश भने प्रवाह भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here