रास्वपाको उम्मेदवार घोषणा

रास्वपा सभापति उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा परिवारवाद नचल्ने बताएका छन् । एमालेले पूर्वसभामुख सुवास नेम्वाङका छोरा सुहानलाई उम्मेदवार बनाएकोतर्फ लक्षित गर्दै रास्वपा सभापति लामिछानेले इलाममा परिवर्तन चाहिएको बताए ।

रास्वपाबाट इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार घोषणा गर्न इलाम पुगेका लामिछानेले परिवर्तनका लागि राजनीतिमा आएको बताएका हुन् । ‘राजनीतिमा राजनीति चल्छ । परिवारमा टीका लगाउने दसैँ–तिहारमा मात्र हो । राजनीतिलाई राजनीतिजस्तै बनाउन राजनीतिमा प्रवेश गरेका हौँ,’ उनले भने । लामिछानेले जनताको विश्वासको जगमा टेकेर राजनीतिमा प्रवेश गरेको बताए । ‘दुधको ग्लासबाट झिँगा निकालेर फालेजस्तो सत्ताभित्रको खराबी फाल्न सरकारमा गएका हौँ,’ उनले भने 
उनले इलामले परिवर्तन चाहेकाले युवा उम्मेदवार बनाएको बताए । ‘इलामले परिवर्तन खोजेकाले मिलन लिम्बूजस्ता युवालाई अघि सारेका छौँ,’ उनले भने, ‘वादबीचको लडाइँ स्थगन गरेर इलामलाई जिताउन लाग्नुपर्छ । इलामको परिवर्तनका लागि नेतृत्व परिवर्तन आवश्यक छ । अहिलेसम्म पार्टीले जित्यो । इलामले कहिले जितेन ।’ उनले इलामको कृषि उत्पादनमा जोड दिए । घोषणासभामा उम्मेदवार लिम्बूले परिवर्तनका लागि रास्वपा रोजेको बताए । ‘स्वतन्त्र उम्मेदवारी दिने मनसायले निर्वाचन क्षेत्र घुमेँ । जनताले शक्तिसहित आउन आग्रह गरे,’ उनले भने, ‘परिवर्तनकारी शक्तिका रूपमा रास्वपा पाएँ र यही दल रोजेँ ।’

frontline

इलाम २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । हालसम्म रास्वपा र एमालेबाहेकले उम्मेदवार घोषणा गर्न सकेको छैन । एमालेले सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । सत्तागठबन्धनको रास्वपाले आफ्नै उम्मेदवार बनाएपछि माओवादीले भने सहयोग गर्ने एमालेको विश्वास छ । ‘सुवासजीले यसअघि थोरै मतान्तरले जित्नुभयो । सुहाङले जित्नुहुन्छ, तर टुपुक्क जितेर मात्र भएन, भारी मतले जित्नुपर्छ । झापा इलामसँग जोडिएको जिल्ला हो । यहाँबाट सहयोग गर्नुपर्छ,’ झापाको एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले भनेका थिए, ‘माओवादीले निर्णय गरेर नै एमालेको उम्मेदवारलाई सहयोग गर्नेछ । अरू पार्टीले पनि सहयोग गर्छन् । माओवादीको सहयोग हुँदा विगतमा कांग्रेससँग थोरै मतले जितियो, माओवादीको मत आउँदा राम्रो मतले जित्छौँ । अरू पार्टीले उम्मेदवार पाएका छैनन् । नानीभन्दा नाना ठूला भए ।’

यद्यपि, माओवादी प्रदेश समितिले पनि आफ्नै उम्मेदवार केन्द्रमा सिफारिस गरेको छ । ‘सत्तागठबन्धन भए पनि निर्वाचनमा भने एक्लै लडेर शक्ति प्रदर्शन गर्नुपर्छ भन्ने हाम्रो माग हो । हामीले अध्यक्षलाई पनि भेटेरै भनेका छौँ,’ माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले भने, ‘हामी केन्द्रको निर्णय पर्खिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here