राष्ट्रिय अपाङ्ग संघको मानव अधिकार आयोग, लाई ध्यानाकर्षण- भूमिकला पौडेल

राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालको नेतृत्वमा राष्ट्रिय मानव अधिकार आयोग, नेपाललाई एक ध्यानाकर्षणपत्र बुझाइएको छ । अपाङ्गता भएका व्यक्तिहरूका विविध समस्याहरूलाई संवोधन गरी आयोगले सोही विषयमा सरकारलाई सिफारिस गरोस भन्ने उद्धेश्यका साथ सो ध्यानाकर्षणपत्र बुझाइएको हो । राष्ट्रिय शारीरिक अपाङ्ग संघ–नेपालका अध्यक्ष किरण शिल्पकारले राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष टोपबहादुर मगरलाई सो ध्यानाकर्षणपत्र बुँझाउँनु हुँदै यस ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका कुराहरूलाई आयोगले प्राथमिकताका साथ संवोधन गर्नेछ भन्नेमा आशावादी रहेको बताउँनु भयो । ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका कुराहरूमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी २००६, अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ तथा नियमावली २०७७ को कार्यान्वयनका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्ने, निःशुल्क स्वास्थ्य सेवा तथा स्वास्थ्य बिमाको लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्ने, सर्वोच्च अदालतबाट निर्णय भएका सबै आदेशहरूलाई अविलम्ब कार्यान्वयनका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूको शिक्षामा पहुँच छ कि छैन भनेर सहजिकरणका साथै अनुगमन गर्नुपर्ने, शिक्षक सेवा आयोग पास गरेर नियुक्तिपत्र पाएतापनि अपाङ्गता भएका व्यक्तिहरूले विद्यालयमा प्रवेश गर्न नपाएको विषयमा सहजिकरणका साथै अनुगमन गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई दिइएको आरक्षण कोटा सही व्यक्तिले प्रााप्त गरेको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने र सो आयोगबाट अपाङ्गता सवालमा विभिन्न अनुसन्धान र यस क्षेत्रसँग कार्य गर्ने व्यक्तिहरूको रोष्टर तयार गरी आवश्यक निकायहरूसँग मिलेर समन्वय र कार्यगत एकतालाई आवश्यक व्यवस्थाको लागि सहजिकरण गर्नुपर्ने रहेका छन् । त्यसैगरी छलफलमा उठेका अन्य मुख्य सवालहरूमा पूर्ण तथा अतिअशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता रोक्न वा बन्द गर्न नहुने, अपाङ्गता भएका व्यक्तिहरूको शैक्षिक तथा राजनितिक अधिकार सुनिश्चित गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त वातावरण हुनुपर्ने, अपाङ्गता भएका महिलाहरूको न्यायमा पहुँचका लागि पहल गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरूको लागि अत्यन्तै आवश्यक ह्विलचेयर लगायतका सहयोगी सामग्रीहरू उपलव्ध गराउनु पर्ने लगायतका कुराहरू रहेका छन् । ध्यानाकर्षणपत्र तथा छलफलमा उठेका सवालहरूलाई संवोधन गर्नुहुँदै आयोगका माननिय अध्यक्ष तथा सदस्यहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका बारेमा आयोगको सधै चासो रहेको बताउँनुहुँदै यस सम्बन्धमा आवश्यकता अनुसार सरकारलाई सिफारिसपत्र पेश गर्ने गरेको तथा त्यसलाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण समेत गराउँदै आएको पनि जानकारी दिनुभयो । यसका साथै आगामी दिनहरूमा पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका बारेमा अझै विशेष रूपले आवाज उठाउने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । यस ध्यानाकर्षण कार्यक्रममा आयोगका तर्फबाट माननीय अध्यक्ष सहित माननीय सदस्य डा. सूर्यप्रसाद शर्मा ढुङ्गेल, निमित्त सचिव मुरारी प्रसाद खरेल लगायत अन्य प्रतिनिधिहरू र अपाङ्गता भएका व्यक्तिहरूको संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here