राष्ट्रिय राजनीतिकै घुम्ती बन्न सक्छ कांग्रेस महाधिवेशन

अहिलेकै अवस्था यथावत् रहे संसद्को ठूलो दल कांग्रेसले अर्को वर्ष महाधिवेशन गर्नेछ । तर आगामी महाधिवेशन थुप्रै कारणले उसका लागि मात्रै होइन, राष्ट्रिय राजनीतिकै लागि महत्वपूर्ण मोड बन्न सक्ने देखिन्छ ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- महाधिवेशनले पार्टीको नेतृत्व चयन, नीति निर्माण र संगठनको पुनर्गठनमा महत्वपूर्ण कार्य मात्रै गर्दैन, भावी दिशाको छनक समेत दिनेछ ।
- पार्टीको ठूलो पङ्क्ति आमूल रूपान्तरणको पक्षमा भएको हुँदा १५औं महाधिवेशन मार्फत बदलिएको कांग्रेस देखिने नेताहरु दाबी गर्छन् ।
- कांग्रेससँग नजोडिएका तर मत भने दिइरहेका मतदातालाई आफूसँग कायम राख्ने चुनौती कांग्रेससँग छ ।
९ जेठ, काठमाडौं । ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लागि २०७८ साल ठूलै महत्वको वर्ष थियो । चार वर्षअघि ती दलहरूले आ–आफ्ना नेता चुन्न महाधिवेशन आयोजना गरेका थिए ।
कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक चुनिएका थिए । देउवा सत्तामै थिए, पार्टी सत्तामा दोहोरिन कत्ति पनि कठिन थिएन ।
उसो त देउवाले एकैपल्ट पाएको सफलता थिएन त्यो । उनी त दशौं महाधिवेशनदेखि नै कांग्रेसको नेतृत्वका लागि लड्दै हार्दै गरिरहेका थिए । कहिले गिरिजाप्रसाद कोइरालासँग लड्थे, कहिले सुशील कोइरालासँग । १३औं महाधिवेशनमा मात्रै उनी रामचन्द्र पौडेललाई हराएर सभापति बन्न सफल बनेका थिए ।
अब उतापट्टि एमालेको महाधिवेशन सम्झौं । २०७८ मै एमालेले पनि चितवनमा १०औं महाधिवेशन गर्यो । तर एमालेभित्रको प्रतिस्पर्धी माहोल कांग्रेसको जस्तो हुन सकेन ।
अध्यक्षमा केपी शर्मा ओलीको प्रतिस्पर्धी उत्रिन नदिनका लागि मूल नेतृत्वकै आडमा जोड लगाइयो । नेता भीम रावलको जोडबलले ओली समूह लतारिएर निर्वाचनमा पुग्न त पुग्यो, तर रावलका पक्षमा मत खसाल्न नदिन ओली पक्षले कार्यकर्ता पंक्तिमा अभियान नै चलायो ।
अन्तिममा नाम मात्रैको निर्वाचन भयो, जसमा ओलीले चाहे अनुसारको नतिजा प्राप्त गरे । आफू अनुकूल हुने गरी नेताहरूलाई जिम्मेवारीमा ल्याए । २०७१ सालमा भएको नवौं महाधिवेशनबाट अध्यक्ष बनेका ओलीका लागि दोस्रोपटक सोही पदमा पुग्न हरसम्भव लोकतान्त्रिक विधि लत्याउन चाहे ।
प्रतिनिधिसभाको तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले पनि त्यही वर्ष नेतृत्व चयन गर्यो । साढे तीन दशकदेखि नेतृत्वमा विराजमान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टक्कर दिने गरी दोस्रो व्यक्ति अघि सरेन । राष्ट्रिय सम्मेलनलाई अन्तिम घडीमा महाधिवेशनमा रूपान्तरण गरेर प्रचण्डलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको थियो ।
जुन विधि अपनाएर होस्, तीन प्रमुख दलले नेतृत्व चयन गरे । तर, आम नागरिकलाई उनीहरू नेतृत्वमा आउँदा खुशी/उत्साह थपिएको देखिएन ।
त्यही वर्ष राप्रपाले गरेको महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देन चयन भए । लिङ्देन अध्यक्षमा निर्वाचित हुँदा राप्रपा कार्यकर्तामा आशाको सञ्चार देखियो । पार्टीमा एकछत्र रजाइँ गर्दै आएका कमल थापा हटेकोमा बहुसंख्यक राप्रपा कार्यकर्ता खुशी देखिए, भलै थापा त्यसपछि निर्मलनिवास अर्थात् पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टीभित्र चलखेल गरेको आरोप लगाउँदै पार्टीबाटै बाहिरिए । जेसुकै भए पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व परिवर्तन भई पार्टीभित्र नयाँ अनुहार आउँदा खुशी, आशा, अपेक्षा देखिएको दृष्टान्तका रूपमा लिङ्देनको जितलाई लिन सकिन्छ ।
२०७१ सालदेखि पार्टी नेतृत्व पाएका ओलीका बारेमा आम रूपमा जेसुकै टिप्पणी चलिरहे पनि पार्टीको ठूलो तप्काभित्र ‘फेरि पनि अध्यक्ष नै हुन्’ भन्ने धारणा भेटिन्छ । माथि नै भनिसकियो, चालीसको दशकदेखि पार्टीलाई काबुमा राखेका प्रचण्ड आजपर्यन्त अध्यक्ष छन् । तर, कांग्रेसले भने आसन्न महाधिवेशन मार्फत परम्परागत नेतृत्वलाई बिदा गर्नेछ । अनि पार्टी सभापतिमा नयाँ अनुहार आउने छन् । यस अर्थमा महाधिवेशन कांग्रेसको आन्तरिक जीवनका लागि मात्रै होइन, राष्ट्रिय राजनीतिकै लागि महत्वपूर्ण प्रस्थानविन्दु बन्न सक्ने देखिन्छ ।
कांग्रेसको विधानलाई याद गरौं । त्यसमा पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधि भन्दा बढी सोही पदमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । विधान कार्यान्वयन हुँदा सभापतिमा देउवा तेस्रोपटक उम्मेदवार हुन पाउँदैनन् । तेस्रोपटक सभापति हुने सुविधा देउवालाई विधानले नदिंदा मूल नेतृत्वमा नयाँ अनुहार देखिने छन् ।
विगत उदाहरणबाट देखिएकै छ, मूल नेतृत्वमा परीक्षण हुन बाँकी व्यक्ति पार्टीको सत्तामा पुग्दा नागरिकको अपेक्षा स्वतः वृद्धि हुन्छ । अन्य दलमा नेतृत्व परिवर्तन हुनै नसकेको अवस्थामा कांग्रेसमा नयाँ व्यक्ति सभापति पदमा पुग्दा त्यो समय समग्र राजनीतिको मोड अर्थात् ‘टर्निङ प्वाइन्ट’ हुने विश्लेषण शुरू भएको छ । कांग्रेसभित्र हुने रूपान्तरण र पुस्तान्तरण अवलम्बन गर्न अन्य परम्परागत दललाई पनि दबाब सिर्जना हुने परिस्थिति बन्नेछ ।
यसकारण ‘टर्निङ प्वाइन्ट’
देउवा, ओली र प्रचण्ड इतिहासमा जतिसुकै ठूलो संघर्ष, अनि त्यागका शृंखला रचेर आएका भए पनि बहुदलयताका वर्षहरूमा खेलेका उज्याला–अँध्यारा सबै खाले भूमिकाका कारण उनीहरू यति बेला आम समीक्षाको केन्द्रमा छन् । आजको दिनमा आम मान्छेलाई वितृष्णाको मुख्य कारण सोधियो भने तीन ठूला पार्टीका यिनै तीन नेताको नाम लिन्छन् ।

दलहरूको मूल नेतृत्वमा पुगेपछि त्यसको जिम्मेवारीबाट मुक्त हुन नखोज्ने प्रवृत्ति र अपेक्षा अनुसार डेलिभरी गर्न नसक्दा शीर्ष नेतृत्वप्रति वितृष्णाको मात्रा बढेको छ । साझा नेतृत्व भन्दा अध्यक्षात्मक प्रणालीमा तीन दलले जोड दिएको हुँदा मूल नेतृत्व झनै शक्तिमान हुन गयो, अनि सामूहिक निर्णय प्रक्रिया सधैं ओझेलमा ।
नागरिकमा अलोकप्रिय भए पनि पार्टीका संरचना कब्जा गरेका कारणले त्यही शक्तिको आडमा मूल नेतृत्वमा पुगिरहेका छन् । पार्टी कब्जा गरिरहने अवस्था किन बन्यो ? जवाफमा कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘नियन्त्रित सदस्यता प्रणाली छ । खुला सदस्यता प्रणाली हुने हो भने यी वितृष्णा जगाउनेहरू चुनिनै सक्दैनन् । जो जति लामो समय माथि रह्यो त्यसले पार्टी कब्जा गर्ने विधि अपनाइरहेको हुन्छ ।’
मुलुकका प्रमुख तीन दलका मूल नेतृत्वको कार्यशैलीबाट नागरिक आजित देखिन्छन् । पार्टीको सत्ता कब्जा गर्दै देशको कार्यकारी पदमा पुग्दा परिणाम दिन नसकेको प्रति उनीहरूमाथि नागरिकहरूमा चरम आक्रोश छ । उनीहरूको कार्य क्षमताका कारणले वर्तमान शासन प्रणालीप्रति प्रश्न उठ्ने अवस्था बनेको छ । उनीहरूको ‘अक्षमता’ भारी व्यवस्थालाई व्यवस्थाले भोग्नु परेको टिप्पणी हुँदै आएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्रले ‘डेलिभरी’ दिन नसकेकै कारणले त्यसकै जगमा वितृष्णा फैलाएर त्यसबाट लाभ लिन खोज्ने शक्तिहरू पनि छन् ।
पुरानो पुस्ताले वितृष्णा बढाइरहेको मतहरू बढिरहँदा कांग्रेसले आगामी महाधिवेशनबाट छुट्कारा पाउने अवस्था बन्न सक्छ । देउवा, ओली, प्रचण्डलाई देखिरहेको नागरिकले कांग्रेसलाई फरक रूपमा पाउन सक्छ । ‘भूतपूर्व प्रधानमन्त्रीहरूको क्लबमा एउटा नयाँ मान्छेको प्रवेश हुन्छ । त्यो कांग्रेसबाट मात्रै सम्भव छ । देउवाको ठाउँमा नयाँ व्यक्ति आउँछ’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘त्यो नयाँ मान्छेको प्रवेशले तिनीहरू बीचमा हुने बैठकका विषय बदलिन सक्छ ।’
पार्टीको भावी दिशाको छनक पनि दिन्छ । कांग्रेसको विधानमा खुला सदस्य नभई नियन्त्रित प्रणाली भए पनि देउवाले नेतृत्व छोड्नैपर्ने बाध्यात्मक अवस्था छ । देउवा सभापतिबाट बिदा हुँदै गर्दा ‘शंकाको लाभ’ उनको पद सम्हाल्ने व्यक्तिले प्राप्त गर्दछ । पात्र फेरिने तर प्रवृत्ति उस्तै राख्ने व्यक्ति नेतृत्वमा आए महाधिवेशन टर्निङ प्वाइन्ट भने हुन नसक्ने नेताहरू दाबी गर्छन् । ‘शैली र अन्तर्य फेर्न सक्ने नेतृत्व आएन भने एउटा व्यक्तिको ठाउँमा अर्को व्यक्ति आएको त हो नि भन्ने हुन्छ’ कांग्रेसका शीर्ष तहका नेताले अनलाइनखबरसँग भने, ‘रूपान्तरण सहित पुस्तान्तरण हुने अवस्था भयो भने त्यसले आशा साँच्चै जगाउँछ ।’
महाधिवेशनले पार्टीको नेतृत्व चयन, नीति निर्माण र संगठनको पुनर्गठनमा महत्वपूर्ण कार्य मात्रै गर्दैन, भावी दिशाको छनक समेत दिनेछ । कांग्रेस महामन्त्री गगन थापाका अनुसार वर्तमान राजनीतिक शक्तिहरूमा कांग्रेसको भूमिका अभिभावकीय र मियो शक्तिका रूपमा हुनुपर्दछ । विगतमा देशले भोगेका राजनीतिक कठिन कालखण्डमा समाधान निकाल्ने र सबैलाई सम्हालेर अघि बढ्न सक्ने शक्ति कांग्रेस भएको दाबी थापा गर्छन् ।
थापाका अनुसार नेपाली समाजमा निराशा नभई असन्तुष्टि, आक्रोश र बेचैनी छ । नागरिकमा भएको बेचैनी अन्त्य गर्ने शक्ति कांग्रेस भएको उनी दाबी गर्छन् । दलभित्रको सुधारसँग जोडिने १५औं महाधिवेशन कांग्रेसका लागि महत्वपूर्ण अवसर भएको थापा बताउँछन् ।

तर, कांग्रेस मियोको भूमिकामा देखिने भन्दा पछिल्लो समय सरकार बनाउन एमाले र माओवादीको सारथि हुँदै आएको छ । संसद्को पहिलो दल बनेर पनि कांग्रेसले सरकारको नेतृत्व गर्न सकेको छैन । कांग्रेस २०७९ को चुनावपछि क्रमशः माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र हाल एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएर सरकारमा सहभागी भएको छ ।
कांग्रेस राजनीति माथि विश्लेषण गर्दै आएका सुदर्शन आचार्य आफूले बसालेको पद्धतिलाई कार्यान्वयन गर्न कांग्रेस चुकेको बताउँछन् । उनी भन्छन्, ‘कांग्रेसलाई डोर्याउने वामपन्थी शक्ति छन् । कांग्रेसले कहिले माओवादी, कहिले एमालेलाई बोक्छ । कांग्रेस अलमलमा देखिन्छ । आफ्नो नेतृत्वदायी भूमिका यतिबेला दिन सकेको छैन ।’
पुराना दल सबै उस्तै र ‘असफल’ पार्टी नेतृत्वबाट रुष्ट व्यवस्था विरोधीलाई मलजल पुगेको टिप्पणी हुँदै आएको छ । पुराना दलहरूप्रति विशेषतः मूल नेतृत्वप्रति देखिएको वितृष्णा र त्यसकै जगमा मौलाएका शक्तिहरूको चुनौती सामना गर्ने र नागरिकमा असन्तुष्टि हटाउने राजनीतिक टर्निङ प्वाइन्ट कांग्रेस महाधिवेशन हुने विश्लेषण उक्त पार्टीका नेताहरू गर्छन् ।
पार्टीको ठूलो पङ्क्ति आमूल रूपान्तरणको पक्षमा भएको हुँदा १५औं महाधिवेशन मार्फत बदलिएको कांग्रेस देखिने केन्द्रीय सदस्य मधु आचार्य बताउँछन् । ‘एजेण्डामा आधारित नेताको खोजी भइरहेको छ । पहिले कांग्रेस बदल्ने र बदलिएको कांग्रेसले जनताको अवस्था बदल्नुपर्दछ’ आचार्य भन्छन्, ‘जनताको अवस्था परिवर्तन गर्ने नेतृत्व चयन गर्न पार्टी पङ्क्ति आतुर छ ।’ कांग्रेसभित्रको रूपान्तरणले अन्य दललाई पनि दबाब पुग्ने आचार्यको विश्वास छ ।
कांग्रेस विधानको दफा ४३ अनुसार पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने व्यवस्था छ । त्यस अनुसार यही वर्षको मंसिरभित्र कांग्रेसले महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने हुन्छ । विधानमा प्राप्त सुविधा अनुसार कार्यावधि एक वर्ष थप्न सकिने हुँदा २०८३ मंसिरसम्म महाधिवेशन गर्ने छुट कांग्रेसलाई छ । एक वर्ष समयावधि थप्नका लागि ‘असाधारण स्थिति’ हुनुपर्दछ । विगतमा एक वर्ष अवधि थपेर महाधिवेशन गर्ने पद्धति जस्तै बनेको हुँदा यसपटक पनि चारवर्षे कार्यकालभित्र नयाँ नेतृत्व आउने सम्भावना देखिंदैन ।
कांग्रेस नेताहरूका अनुसार महाधिवेशन २०८३ को मंसिर अघि हुने छाँटकाँट देखिन्न । यद्यपि, कांग्रेस महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी, समीकरण, गुट परिवर्तन लगायतमा चर्चा शुरू भइसकेको छ । देउवाकै शैली पछ्याउने व्यक्ति सभापति होलान् वा पुस्तान्तरण सहित नयाँ एजेण्डा बोक्ने नेतृत्वमा आउला भन्ने चासो छ ।
रूपान्तरण सहितको पुस्तान्तरण सम्भव छ ?
कांग्रेसको नेतृत्वमा पुग्न मूलतः दुइटा तप्का खोजिरहेको छ । पहिलो, परम्परागत शैलीलाई अंगीकार गर्ने समूह । नीति, विचार सहितको एजेण्डा सहित पुस्तान्तरण चाहेको समूह । कांग्रेसको केन्द्रीय तहमा ४० देखि ८० वर्ष उमेर समूहका नेताहरू छन् । ८० वर्ष पुगेका सभापति देउवाले मूल नेतृत्वबाट बहिर्गमित हुँदा उनकै हाराहारी उमेर रहेका दोस्रो तहका नेताहरूले उक्त पदमा पुग्ने आकांक्षा देखाएका छन् । उनीहरूको आकांक्षा मात्रै छैन; १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने गरी दौडधुप शुरू गरिसकेका छन् ।
अघिल्लो महाधिवेशनमा सभापतिको उम्मेदवार बनेका डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह फेरि पनि सोही पदमा उठ्ने इच्छा राखेर अघि बढेका छन् । १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार कृष्णप्रसाद सिटौलादेखि पूर्व महामन्त्री डा.शेखर कोइराला पनि सभापति हुने चाहनाले गतिविधि बढाएका छन् । पूर्व पदाधिकारीको छुट्टै समूह बनाउने गरी सात नेताहरूको बैठकले निरन्तरता पाएको छ । उक्त उमेर समूहका नेताहरूको क्षमता माथि प्रश्न उठाउँदै एक केन्द्रीय सदस्य भन्छन्, ‘उमेर र विचारले उहाँहरू विश्राम लिने अवस्थामा पुगिसक्नुभएको छ । सभापति, प्रधानमन्त्री हुने अपेक्षा राख्न पाइयो । उहाँहरूले आशा सञ्चार गर्ने होइन । सभापति हुन्छु भन्दै हिंड्दा कांग्रेसका कार्यकर्ता र पार्टीका शुभेच्छुकलाई निराशा छर्ने काम हुन्छ ।’

महामन्त्री थापाले १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने सार्वजनिक रूपमा बोलेका छैनन् । उनी निकटका नेताहरूको दाबी अनुसार महामन्त्री थापा सभापतिको उम्मेदवार हुने गरी सक्रिय छन् । पछिल्लो समय थापाको जिल्ला दौडलाई महाधिवेशनसँग जोडेर विश्लेषण पनि हुने गरेको छ । वर्तमान र पूर्व प्रधानमन्त्रीहरू भन्दा आफू त्यो पदमा पुगे राम्रो परिणाम दिने उनको दाबी रहँदै आएको छ । संसदीय दलको नेता हुने प्रयास गरेका थापाले भावी सभापति हुने गरी गतिविधि बढाएको उनी निकट नेताहरू बताउँछन् ।
सभापति देउवाको नेतृत्वबाट अपेक्षित नतिजा हासिल गर्न नसकेको भन्दै आलोचना भइरहँदा उनकै शैली पछ्याउनेहरू सभापति हुँदा असन्तुष्टि बढ्ने नेताहरू बताउँछन् । पूर्व पदाधिकारी गठजोडप्रति सकारात्मक देखिएका नेताहरू परिपक्व नेतृत्वका लागि राजनीतिमा लामो इतिहास व्यतीत गरेका व्यक्ति नेतृत्वमा आउनुलाई सहज रूपमा लिनुपर्ने धारणा राख्छन् ।
संस्थापन पक्षका केन्द्रीय सदस्य गुरु बराल जोश र जाँगर सहित नयाँ नेतृत्व आउँदा जनतामा आशाको सञ्चार पैदा हुने दाबी गर्छन् ।
‘एउटै नेताले लामो समयसम्म पद छोडेनन् भन्ने भाष्य बनेको छ । १५औं महाधिवेशनले त्यो कुरालाई तोडेर जान्छ’, केन्द्रीय सदस्य गुरु बराल भन्छन् । अर्का एक केन्द्रीय सदस्य पुरानै ढर्रामा चल्ने नेताहरू अघि सर्न खोज्नु प्रणालीलाई संकटतिर धकेल्ने चेष्टाका रूपमा बुझ्छन् । उनी भन्छन्, ‘२०१७ सालमा मुलुकमा अतिवाद हावी हुँदा ३० वर्ष पञ्चायती व्यवस्था बेहोर्नुपर्यो । पुरानै थितिबाट चल्ने पार्टीमा नेतृत्व आए मुलुकले अर्को अतिवाद खेप्नुपर्ने हुन्छ ।’

रूपान्तरण सहित हुने पुस्तान्तरण हुँदा नयाँ आएको नेतृत्वलाई ‘हेरौं न’ भन्ने अवस्था बन्ने नेताहरूको विश्वास छ । शान्तिकाल पछि प्रचण्ड, गिरिजाप्रसाद कोइराला हुँदै संविधान निर्माण पछि जनताले ओलीलाई दिएको शंकाको लाभ कांग्रेसमा आउने सभापतिले प्राप्त गर्ने शीर्ष तहका एक नेता बताउँछन् । भन्छन्, ‘हामीप्रति आक्रोश र संशय छ । यसको बाबजुद पनि २०६३ पछि गिरिजाप्र्रसाद कोइराला, प्रचण्डले जुन विश्वास पाउनुभयो नि ! त्यो विश्वास र अवसर नयाँ नेतृत्वको लागि हुन्छ ।’ उनका अनुसार शंकाको लाभ भने छोटो समयलाई मात्रै हुनेछ ।
नेतृत्वसँग जोडिने चुनावी मत
कांग्रेसको महाधिवेशन नेतृत्व चयनमा मात्रै सीमित हुँदैन । महाधिवेशनले २०८४ मा हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनको तयारीको आधारशिला समेत खडा गर्नेछ । गतिशील नेतृत्व हुँदा चुनावी परिणाममा सकारात्मक टेवा पुग्दछ । कांग्रेसबाट बिच्किएका शुभेच्छुक फिर्ता हुने र समानुपातिकको मत बढ्ने आधार नेतृत्वले निर्माण गर्न सक्दछ ।
गत स्थानीय तहको निर्वाचनमा युवा पुस्ताबाट काठमाडौंको मेयरमा उम्मेदवार बनाउन महामन्त्री थापाले जोड गरे । सभापति देउवाले सिर्जना सिंहलाई अघि सारे । युवा पुस्ताबाट उम्मेदवार बनाउन सकिएको भए कांग्रेसले जित्ने विश्लेषण थापाको थियो । आखिरमा कांग्रेस र एमाले जस्ता परम्परागत मताधार बलियो भएका, अनि संगठनात्मक शक्ति भएका दलहरूलाई पछि पार्दै मेयरमा बालेन शाहले जिते । यो युवा चुनौती यतिमा रोकिएन । स्वतन्त्र उम्मेदवार बालेनले जितेपछि रवि लामिछानेलाई पार्टी गठन गर्ने हुटहुटी चल्यो । त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर कांग्रेसले भोग्यो । कांग्रेसका शुभेच्छुक, मतदाताहरू रास्वपातिर लागे । समानुपातिकतर्फको मतमा क्षति बेहोर्यो ।

कांग्रेस हाल संसद्को सबैभन्दा ठूलो दल रहे पनि समानुपातिकतर्फ भने पहिलो दल हुन सकेन । पछिल्लो निर्वाचनहरूमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त गर्ने मतहरू घट्दै गएको छ । समानुपातिक मत घट्नुमा पार्टी नेतृत्वको कार्यशैली र छनोट गरिएका अनुहारलाई हेरेर मतदाताले दोस्रो स्थानको मत दिएको कतिपय नेताको बुझाइ छ । २०६४ मा कांग्रेसले समानुपातिकतर्फ २२ लाख ६९ ८८३ प्राप्त गरेको थियो भने २०७० मा २४ लाख १८ हजार ३७० मत प्राप्त गर्यो । २०७४ मा ३१ लाख २८ हजार ३८९ मत पाउँदा गत निर्वाचनमा २७ लाख १५ हजार २२५ मत ल्यायो ।
गत निर्वाचनमा कांग्रेस र एमालेको समानुपातिक मत नयाँ दल रास्वपाले तान्दा उनीहरूको घटेको थियो । दुवै दलले करिब ६ प्रतिशत मत समानुपातिकमा घटाएका थिए । रास्वपाले समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत ल्याएको थियो । कांग्रेससँग नजोडिएका तर मत भने दिइरहेका मतदातालाई आफूसँग कायम राख्ने चुनौती कांग्रेससँग छ । पार्टीले प्राप्त गर्ने मतलाई बढाउन बल पुग्ने प्रस्थानविन्दु आगामी महाधिवेशन हुने कांग्रेस नेताहरू दाबी गर्छन् । महाधिवेशनपछि आउने नेतृत्वलाई ‘गर्न त के गर्छन्, तैपनि हेरौं’ भन्ने जनमत फेरि कांग्रेसतिर देखिने नेताहरू बताउँछन् ।
‘महाधिवेशनले व्यवस्था विरोधी र वैकल्पिक शक्तिहरूसँग मुकाविला गर्ने हिम्मत पनि जुटाउँछ’ एक पदाधिकारी भन्छन्, ‘कमजोरी सुधार्दै हामी नै हो देश सम्हाल्ने भन्ने बल दिन्छ । अलमल हटाउँछ । पार्टी चलायमान हुन्छ । पार्टीमा नेतृत्व फेरिने वित्तिकै शुभेच्छुकहरूको साथ बढ्छ ।’
जनताको अपेक्षा अनुसार रूपान्तरण सहितको कांग्रेस बनाउन नसके जनताले विकल्प खोज्ने केन्द्रीय सदस्य आचार्य बताउँछन् । ‘परिवर्तित कांग्रेस जनताले खोजेका छन् । यदि परिवर्तित कांग्रेस देखेनन् भने कांग्रेसकै विकल्प खोज्छन्’ आचार्य भन्छन्, ‘मुलूक अप्ठ्यारो र असहज अवस्थामा भएको बेला निकासमा पुर्याउने काम कांग्रेसले नै गर्दै आएको छ ।’
प्रतिक्रिया दिनुहोस्