मोरङ कारागारभित्र कैदी बन्दीको पीसीआर परीक्षण सुरु, ६२० कैदी बन्दीलाई खोप

३२ असार, विराटनगर । कोरोना भाइरसको संक्रमण फैलिएको विराटनगर महानगरपालिका-८ स्थित जिल्ला कारागार मोरङमा रहेका कैदी बन्दीको पीसीआर परीक्षण सुरु गरिएको छ। 

कारागारभित्रका कति कैदी बन्दीमा कोरोनाको संक्रमण भएको रहेछ भनेर यकिन गर्न परीक्षण सुरु गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। 

frontline

उनका अनुसार कारागारभित्रै परीक्षणको व्यवस्था मिलाइएको छ। ४८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि ल्याबमा लगिए पनि रिपोर्ट आइनसकेको उनले बताए। 

दाहालका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाको परीक्षणका लागि धमाधम नमुना संकलन गर्ने काम भइरहेको छ। 

स्वास्थ्य अवस्था गम्भीर रहेका थप ३ जनाको भने शुक्रबार परीक्षण गराउँदा एन्टिजेन रिपोर्ट पोजिटिभ आएको उनले बताए। योसँगै कोरोनाबाट संक्रमित हुने कैदी बन्दीको संख्या १९ पुगेको छ। 

उच्च ज्वरो देखिएपछि उपचारका लागि कोसी अस्पताल ल्याइएका १६ जनामा शुक्रबार बिहान कोरोना पुष्टि भएको थियो। कारागारमा ज्वरोको प्रकोप फैलिएपछि बिहीबार १९ जना कैदी बन्दीलाई अस्पताल भर्ना गरिएको थियो। 

उपचारकै क्रममा एक जना कैदीको मृत्यु भइसकेको छ। परीक्षण नगरिकन शव आफन्तले बुझेर लगेका कारण मृत्यु कोरोनाले भएको हो कि हैनभन्ने खुल्न सकेन। 

संक्रमण पुष्टि भएकालाई थप उपचारका लागि कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको प्रजिअ दाहालले जानकारी दिए। 

उनका अनुसार इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका ३ जना थुनुवामा पनि कोरोना पुष्टि भएको छ। १९ जना कैदी बन्दी, ३ थुनुवा र १ जना सर्वसाधारणसहित २३ जनाको कोसी कोभिडमा उपचार भइरहेको दाहालले बताए। 

कोरोना संक्रमित आउन छाडेपछि गत चैत १५ गते कोभिड अस्पताल बन्द गरिएको थियो। 

पुनः संक्रमण बढ्दै गएर बिरामी उपचारका लागि आउन थालेसँगै साढे ३ महिनापछि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ। 

अस्पतालका फोकल फर्सन अनुपम राजवंशीका अनुसार संक्रमितलाई भर्ना लिएर उपचार सुरु गरिएको छ। 

‘संक्रमित आउन छाडेपछि कोभिड अस्पतालको सेवा बन्द गरिएको थियो,’ उनले भने, ‘संक्रमण बढ्दै गएका बेला उपचारका लागि बिरामी आउन थालेपछि भर्ना लिएर पुनः कोरोना संक्रमितको उपचार थालिएको हो।’

प्रजिअ दाहालका अनुसार शुक्रबार कारागारभित्रका ६ सय २० जना कैदी बन्दीलाई कोरोनाविरुद्धको काभिशील्ड खोप दिइएको छ। ‘यसअघि कति कैदी बन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको थियो भन्ने विवरण संकलन गर्न थालिएको छ,’ उनले भने, ‘यसअघि नपाएका र डोज पूरा नगरेकालाई खोप लगाइने छ।’ 

कोरोना फैलिएको कारागारभित्र धेरै कैदी बन्दी रहेकाले व्यवस्थापन तथा उपचारमा समस्या हुन थालेको छ। धेरै कैदी बन्दीमा कोरोनाको लक्षण देखिएको छ। 

कोरोनाको लक्षण देखिएका, तर रिपोर्ट आइनसकेकालाई कारागारभित्र अलग्गै बस्ने व्यवस्था मिलाइएको दाहालले बताए।  उनका अनुसार स्वास्थ्य अवस्था जटिल बनेमा उपचारका लागि अस्पताल भर्ना गरिने छ। 

३ सय जना क्षमताको कारागारमा अहिले ९ सय २६ पुरुष र ८६ महिला गरेर १ हजार १२ जना कैदी बन्दी रहेको प्रजिअ दाहालले बताए। 

उनका अनुसार महिला कैदी बन्दीमा भने समस्या देखिएको छैन।

संक्रमण बढ्दै गइरहेको अवस्थामा कारागारभित्र कोरोना फैलिएको पुष्टि भएपछि नियन्त्रणका लागि शुक्रबार प्रजिअ दाहालको अध्यक्षतामा जिल्ला कोरोना व्यवस्थापन समिति (डीसीएमसी)को आकस्मिक बैठक बसेर विभिन्न निर्णयसमेत गरेको छ।  बैठकमा विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेल, सहायक प्रमुख जिल्ला अधिकारीहरु शरदकुमार पोखरेल, महेशराज तिम्सिना र प्रदीप साह, जिल्ला समन्वय अधिकारी राजु अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापामगर, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख वासुदेव सिग्देल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहतासहित शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला र निजी अस्पतालका प्रतिनिधि उपस्थित थिए। 

बैठकले संक्रमण फैलिएको कारागारमा सावधानी अपनाउने, कैदी बन्दीको कोरोना परीक्षण गराउने, कोसी कोभिड अस्पताल सञ्चालन गरेर संक्रमितको उपचारमा आवश्यक जनशक्तिको व्यवस्थापन, आमनागरिकमा स्वास्थ्य मापदण्ड पालना र जनचेतनाका लागि सम्बन्धित स्थानीय तहमार्फत माइकिङ, सम्भावित जोखिमका बारेमा नागरिकलाई जानकारी दिने तथा सबै क्षेत्रमा मास्क अनिवार्य गराउने लगायतका निर्णय गरेको छ। 

बैठकमा संक्रमितको उपचारका लागि आवश्यक औषधि तत्काल आपूर्ति गर्न प्रदेश १ को स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने, उपचाररत कैदी बन्दीको सुरक्षामा नेपाल र सशस्त्र प्रहरी परिचालन, संक्रमित कैदी बन्दीलाई खाना र खाजाको व्यवस्था कोसी अस्पतालले गर्ने, कोभिडका बिरामीको उपचारमा निजी अस्पताललाई तयारी अवस्थामा राख्ने, खोप नलगाएका कैदी बन्दीको विवरण संकलन, लामो समय भारत बसेर नेपाल फर्किएका र भारतीय नागरिकको सीमा क्षेत्रमा कोरोना परीक्षण गर्ने तथा सबै पालिकाले कोरोनाको परीक्षणलाई तीव्र बनाउने लगायतका निर्णय भएको छ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here