मेयर कप फुटबल चैत २४ बाट
हेटौंडामा चैत अन्तिम साताबाट मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद विकास समितिको समन्वयमा मेयर कपको चौथो संस्करण हुन लागेको हो ।
चैत २४ गतेबाट हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा नगरको १९ वटा वडा सहभागी हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ र उपविजेताले एकलाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा राष्ट्रिय टोलीमा सहभागी भइसकेका खेलाडीले खेल्न पाउने छैनन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ नगदसहित सम्मानित गरिने भएको छ ।
प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही ५,५ हजार रुपैयाँ प्रदान गरिने घिमिरेले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्