माउन्टेन फ्लाइटबाटै सगरमाथा संवादका पाहुनाले गरे हिमाल अवलोकन (तस्वीरहरू)

सगरमाथा संवादका लागि आएका पाहुनालाई माउन्टेन फ्लाइटमार्फत् हिमालहरूको अवलोकन गराइएको हो ।
News Summary
Generated by OK AI. Editorially reviewed.




- नेपाली विज्ञहरूको टोलीले माउन्टेन फ्लाइटमार्फत् सगरमाथासहितका हिमालहरूको अवलोकन गरेको छ।
- जलवायु परिवर्तनले हिमालहरूमा देखिएको प्रभावको प्रत्यक्ष अवलोकन गराउने उद्देश्यले विदेशी पाहुनालाई हिमालहरूको दृश्यावलोकन गराइएको हो।
- सगरमाथा संवादमा सहभागीहरूले जलवायु परिवर्तन र हिमालहरूको भविष्यबारे छलफल गरेका छन्।
४ जेठ, काठमाडौं । नेपाली विज्ञहरूको टोलीले माउन्टेन फ्लाइटमार्फत सगरमाथा सहितका हिमालको अवलोकन गरेका छन् ।
आइतबार बिहान २४ जना विदेशी सहितको टोलीले माउन्टेन फ्लाइटमार्फत सगरमाथासहित ल्होत्से, चोयु, शिसापाङ्मा, अमादब्लम, गौरीशंकर, मकालु, लाङटाङ लगायत हिमालहरूको अवलोकन गरेका हुन् ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको नेतृत्वमा भएको उक्त माउन्टेन फ्लाइटको उद्देश्य नेपालमा जलावायु परिवर्तनले देखिएको असरबारे विदेशी पाहुनालाई प्रत्यक्ष अवलोकन गराउनु रहेको बताइएको छ ।
सगरमाथा संवादका लागि आएका पाहुनालाई माउन्टेन फ्लाइटमार्फत हिमालहरूको अवलोकन गराइएको हो ।
यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले नीलो आकाशमुनि चाँदीका घेराझैँ टल्किने मनमोहक हिमशृंखलाको दृश्यावलोकन गरेका थिए ।
साहसिक गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।
‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयक पहिलोपटक आयोजित अन्तर्राष्ट्रियस्तरको ‘सगरमाथा संवाद’मा स्वदेशी र विदेशी गरी तीन सय ५० जनाभन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ ।
वनमन्त्री शाहीले नेपालका हिमालहरूमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको प्रतिक्रिया दिए ।
‘पहिले जता हेर्यो त्यतै सेता हिमाल देखिन्थे। तर अहिले काला पहाडहरू देखिन थालेका छन् । पहिले सेतै देखिने हिमालहरू अहिले काला पहाड बनेका छन्,’ उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्