महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

बिहीबार, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

काठमाडौंमा उपलब्ध सातै प्रदेशका प्रतिनिधिमुलक युवाहरुको बैठकले ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ शुरु गर्दै पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

frontline

अभियानमा संलग्न नेविसंघ पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले भने, ‘साउन १२ मा वडा अधिवेशन गर्न तोकेको वडा अधिवेशन भएन, त्यसपछि के भइरहेको छ भनेर पार्टीले अहिलेसम्म आधिकारिक रुपमा भन्दै भनेन । पार्टीका निम्ति यो दुर्भाग्यपूर्ण र लज्जास्पद कुरा हो ।’

२०७८ साउन १२ बाट वडा अधिवेशन सुरु भई भदौ १६–१९ मा सम्पन्न हुने भनिएको कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बन्दा पार्टीको गरिमामा ठूलो क्षति पुगेको भन्दै कांग्रेस युवा नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

ध्यानाकर्षण पत्रमार्फत् क्रियाशील सदस्यताको विवाद समाधान गरी तत्काल महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्नुपर्ने, वडा तहबाट नै सिफारिसको आधारमा क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखिएको छ ।

आफ्ना मागहरु पूरा नभए पार्टीको केन्द्रीय कार्यालय र ७७ वटै जिल्ला कार्यालयहरुमा धर्ना, अनसन र आमरण अनसन लगायतका थप कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।

महाधिवेशनको सुनिश्चितताका लागि दबाव दिन भन्दै गठन गरिएको ‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’मा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण, मनोजमणि आचार्य, सुवास पोखरेल, डिल्ली सुवेदी, मिथिलेस मिश्र, नारायण भट्टराई, मन्जित ताम्राकार, रिता खनाल, विजुला बर्मा, प्रतिमा गौतमलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here