मनको ढङ्ग, उही आकाश उही तरङ्ग

भनिन्छ, शरीरभन्दा आत्मा पर छ । त्यस्तै धर्तीभन्दा पर धेरै पर देखिन्छ आकाश । तर,यो भौतिक धर्ती अभौतिक आकाशकै बलमा जसरी टिकेको छ, चलेको छ, त्यसरी नै हाम्रो पार्थिव देह र इन्द्रियहरुलाई अलौकिक आत्मा अर्थात् मनले चलाइरहेको छ ! हाम्रो मन उही आकाशकै अंश हुनुपर्छ ।
पृथ्वीमा घाम लाग्छ,पानी पर्छ, दिन हुन्छ, रात हुन्छ, हावा बहिरहेछ,बोटबिरुवाको जीवनचक्र आदि इत्यादि यी सबै आकाशीय तरंगकै प्रवाहले हो भने मन पनि एउटा तरंगसिवाय केही होइन । जसरी आकाशको उचाइ,आयतन मापन हुन सक्दैन, त्यस्तै मनको स्वरुप आजसम्म कसैले पत्ता लगाउन सकेको छैन । हामीभित्रै छ वा बाहिर हाम्रो वरपरबाट तरङ्गित भएर हामीलाई जीवन दिइरहेछ, त्यो पनि वास्तवमा कसैलाई थाहा छैन । न आकाश तरंग स्वरुप बाहिरबाटै छायाँसरी हामीलाई पछ्याइरहेछ वा सोही लहरलाई पछ्याउँदै हामी चलिरहेछौं रहस्यमयी छ । जेहोस्,मान्छेको मन सधैं बाहिरी संसार र वरपरको वातावरणबाट प्रभावित भएरै जीवन चल्दै आएको छ । वरपरको गुरुत्व बलको प्रभाव हामीमा निरन्तर छ । मान्छे होस् वा अन्य जुनसुकै चीजबीचको चुम्बकीय प्रभाव हमेशा रहँदै आएको छ । त्यसमा आकाश तरंगको विशेष भूमिका यहाँ उल्लेख गर्न खोजिएको हो ।




बिहानपख शरीरमा एकखाले तरङ्ग हुन्छ भने दिउँसो वा घाम लागेको बेला र घाम अस्ताएको वा पानी परेको बेला मनको अवस्थिति पनि भिन्नै हुन्छ । साँझको गोधुलीमा अर्काे छुट्टै अनुभूति हुन्छ । खासगरी रातको निस्पट्टतामा शरीरलाई निद्रामा भुलाएर मन अझ पर आफ्नै सपनाको संसारमा पुग्ने गरेको हामी पाउँछौं ।
हाम्रो शरीर पञ्चतत्वबाट बनेको मानिन्छ । यदि जल,वायु,पृथ्वी,अग्नि र आकाशको पूर्ण रुप शरीर हो भने मन आकाशतत्व नै हो । कुनै पनि भौतिक वस्तुले मनलाई पूर्ण आनन्द दिन सक्दैन । अदृश्य तरंग वा भावहरुमै निहित छ मनको सुख–दुःख । निरोगिता र शान्तिको लागि योग,ध्यान महत्वपूर्ण मानिँदै आएको छ, सायद आकाश तत्वसँग सही संयोजनको प्रयत्न हुनुपर्छ । मनको शून्य अवस्थामा पुग्ने अभ्यासलाई ध्यान भनिँदै आएको छ । आकाश भनेकै शून्य स्थान हो । योग पनि आसमानको शून्यतामा मनैलाई लीन गराउने कला होला । हाम्रो शाश्वत मन अनन्त आकाशमै पूर्ण समाहित हुँदा ध्यान–ज्ञान हुँदो रहेछ ।
त्यसमा पनि हामी एउटा आत्मा हौं भनेर सबैले स्वीकारेकै विषय हो । शरीर चलाउने मन जो छ, त्यही हाम्रो आत्मा भनेर मानेका छौं र आत्मालाई परमात्माको अंश भनेरै बुझिएको छ । मान्छेको मनमै ईश्वर छ भन्छौं र परमात्मालाई पुकार्दाचाहिँ आकाशतिरै हेर्छौं ।
मुसलमानहरु प्रार्थना गर्दा केही थापे जसरी दुईहात आकाशतिरै फर्काएर अल्लाहलाई अलाप्छन्,मान्छे हिन्दू होस् या क्रिश्चियन भगवानलाई पुकार्दा हात छातीमा लग्छन् र निधारमा समेत ढोग्छन् । छातीबीच जहाँ मुटु धड्किन्छ, हामीलाई जीवन दिने मन मुटुमै होला भन्ने धेरैको कल्पना छ ।
मुसलमानहरु प्रार्थना गर्दा केही थापे जसरी दुईहात आकाशतिरै फर्काएर अल्लाहलाई अलाप्छन्,मान्छे हिन्दू होस् या क्रिश्चियन भगवानलाई पुकार्दा हात छातीमा लग्छन् र निधारमा समेत ढोग्छन् । छातीबीच जहाँ मुटु धड्किन्छ, हामीलाई जीवन दिने मन मुटुमै होला भन्ने धेरैको कल्पना छ । अर्काे, मन भन्ने कुरा मस्तिष्कबाट प्रवाहित दिमागको विषय पनि मान्ने छन् । जेहोस्,छाती र टाउकोमा छुँदै शून्य आकाशमा ईश्वरको निम्ति प्रार्थना पठाउने चेष्टा गरिँदै आएको छ । बौद्ध धर्ममा त झन् मनको शून्यतामा पुग्ने ध्यानको उच्चतम् अवस्थालाई नै ईश्वर प्राप्तिको मार्ग मानिएको छ । तसर्थ, यदि हामी आत्मा हौं भने आकाश परमात्मा हो र हाम्रो आत्मतत्वमा आकाशतत्व निहित छ ।
मान्छे मर्दा प्राण पखेरु उडेर गयो भन्छौं हामी । कहाँ गयो त ? उही शून्य आकाशमा । हाम्रो मृत्युपछि आत्माको परमात्मासँग मिलन हुन्छ भनी सदियौंदेखि भनिँदै आएकै हो । आकाश–मण्डलमा सूर्य,तारालगायत थुप्रै ग्रह–उपग्रहहरुको साम्राज्य रहेझैं मन–मण्डलमा पनि अथाह सोचविचार र भावनाहरुको साम्राज्य छ । विचारहरुको पनि आफ्नै तरङ्ग हुन्छन् र बिजुलीको वेगजस्तै विचारको पनि तीव्र प्रवेग हुन्छ भनी विद्वानहरुले भन्दै आइरहेका छन् । ती शून्य आकाशमै तरङ्गित हुन्छन् र सजातीय विचारहरु हामीमा आउँछन् भन्ने छ । जसको जस्तो सोच–विचार छ,उस्तै भाव र विचारहरु हामीमा आकर्षित हुन्छ र झ्यांगिँदै जान्छ सायद । कसैको आपसमा ग्रह नमिलेको भन्छौं, सोच नमिलेको हो ।
जड धर्तीमा चेतना भर्ने काम आकाश तत्वले गरेकै छ । बिउ उम्रनु,फूल फुल्नु,फल लाग्नु,हावाको गति फेरिनु,घाम लाग्नु–नलाग्नु,पानी पर्नु–नपर्नु वा भूकम्प जानुमा आकाश तरंगको गहिरो सम्बन्ध छ । त्यस्तै मूढ शरीर मनको तरंगबाटै चलायमान हो । आकाश तरंगविना यो मन पनि तरंगित हुन सक्दैन । कसैको मनको विचार वा भावनाका तरङ्गहरु आकाश तरङ्गमार्फत् नै हामीमा आउँछन् र उसैगरी हाम्रा भावना र विचारका छाल अरुमा जान्छन् भन्ने छ ।
क्षितिज भन्ने ठाउँमा आकाश र धर्तीको मिलन जस्तै मन र शरीरको संयोजन बडो अद्भूत नै छ । धर्तीले यो आकाश थामेजस्तै मान्छेले आफ्नो मनलाई थाम्न सक्नुपर्ने रहेछ । बिजुली,चट्याङ्,घामपानी, असिना, शित आँधीबेहरी सबै सहेर धर्तीले आफ्नो सृष्टि धानिरहेछ । हामीले पनि मनको उतारचढावलाई थेग्न सक्यौं भने जीवन ठिक ठाउँमा अडिने र सही गतिमा चल्ने हो ! आकाशको वर्षा थेग्न नसक्दा भूतलमा बाढी–पहिरो जान्छन् । तैपनि आकाशलाई माया गर्दै हरदम आकाशको साथ खोजिरहन्छ धर्ती किन त ? आकाशकै आधार यो धर्ती बाँचेको छ ।
मान्छेले पनि सबैभन्दा पहिले त आफ्नो मन वा आफैंलाई माया गर्ने हो । अरु त आउँछन्–जान्छन् । सबै कुरा बिस्तारै मिल्दै जान्छन् । मान्छेको मनै त हो नि जिउने आधार । महत्वपूर्ण कुरा यो कि आकाशकै हावामा श्वास जोडिएर हामी बाँचेका छौं । धर्तीको अन्न–पानी भन्दा पनि बढी जीवनदायी त वायु नै हो ।
यो मन कहिले आकाश खुलेझै छ्याङ्ग हुन्छ । कहिले कालो बादल लागेझैं मडारिन्छ । मन भारी हुँदा शरीर पनि भारी हुने । कहिले पानी परेझैं त कहिले घाम लागेझैं हुन्छ मनमा । कहिले आँधी चलेसरी उथलपुथल हुँदै बेसरी बतासिन्छन् मनका भावहरु । आकाशको शून्यतामा तरंगित प्रकृतिका उर्जाहरुबाटै सांसारिक राग हामीले पाएका छौं । शून्य आकाशमा हावा चलेझैं मान्छेका मनमा भाव तथा विचारहरुको बहावले शरीरकै चाल र गति निर्धारण गर्दै आएको छ ।
मान्छेले सदा आफ्नो मनको सुन्नुपर्छ भन्ने गरिन्छ । सदियौंदेखि आकाशवाणीको चर्चा पनि छ । अहिले वैज्ञानिक युगमा समेत आकाशवाणीलाई अन्तरज्ञानको रुपमा व्याख्या गरिएको छ । अतः आकाशसँग मनको अन्योन्याश्रित सम्बन्ध छ । तसर्थ पनि हामीले आफ्नो मनलाई आकाशझैं फराकिलो बनाइराख्न जरुरी छ । मनलाई जति खुम्चायो, सोचलाई साँघुरो बनायो, बाँच्नलाई उति नै उकुसमुकुस हुने अनुभव सत्य सिद्ध नै छ ।
प्रतिक्रिया दिनुहोस्