भिजिट भिसा प्रकरण : अख्तियारले सुरु गर्यो सहसचिव भट्टराईको बयान

२० जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईको बयान शुरु गरेको छ ।
१८ जेठमा उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरेको अख्तियारले गत आइतबारदेखि बयान थालेको स्रोतले बताएको छ ।




‘दुई दिनदेखि उहाँलाई आयोगमा उपस्थित गराएर अनौपचारिक सोधपुछ गरी त्यसपछि बयान समेत थालिएको छ’, अख्तियार स्रोतले भन्यो, ‘यसबीचमा उहाँबारे केही प्रमाणसमेत संकलन भएकाले त्यसबारे समेत सोधपुछ सुरु भएको छ ।’
अख्तियार स्रोतका अनुसार, अध्यागमन कार्यालयबाट केही कर्मचारीहरुले मानव तस्करीको काम समेत गरेको खुलेको छ ।
नेपाली महिला कामदारका लागि जोखिमयुक्त मुलुकमा लैजानका लागि भिजिट भिसाको प्रयोग गर्ने क्रममा चर्को रुपमा असुलीको काम भइरहेकोबारे केही सूचना आएको र त्यसबारे समेत अनुसन्धान भइरहेको अख्तियार स्रोतले बतायो ।
अख्तियारमा नियमित बयान दिन जानुपर्ने भएपछि गृहमन्त्रालयका सहसचिव भट्टराई एक दिन गृह मन्त्रालयमा हाजिर भएर बिदामा बसेका छन् । उनलाई कार्यालयले दिएको र व्यक्तिगत दुवै फोन अख्तियारको नियन्त्रणमा छ ।
सहसचिव भट्टराई यही जेठ ७ गते पक्राउ परेका थिए । हाजिरी जमानीमा छुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्