बेलका नगरपालिका-बाल प्रतिभा पहिचान तथा सम्मान महोत्सव
बेलका नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बाल प्रतिभा पहिचान तथा सम्मान कार्यक्रम अन्तर्गत बाल साहित्य महोत्सव–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ।
असार २१ र २२ गते बेलका नगरपालिकाको सभाहलमा सञ्चालन भएको दुईदिने महोत्सवको समापन समारोहका प्रमुख अतिथि बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्की रहनुभएको थियो।
बालबालिकामा रहेको सिर्जनशील क्षमता, साहित्यप्रतिको रुचि, अभिव्यक्ति कला तथा नेतृत्व विकासका लागि यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने भएकोले बालप्रतिभाको पहिचान, संरक्षण र प्रवर्द्धनमा नगरपालिका सदैव प्रतिबद्ध रहेको छ ।
कार्यक्रममा बेलका नगरपालिकाकी उपप्रमुख जीरा राई, प्रशासकीय अधिकृत रविकिरण आचार्यज्यु, वडा नं. ५ का वडा अध्यक्ष दीपकराज रेग्मी, कार्यपालिका सदस्य चन्द्रकला परियार, वडा नं. ८ की वडा सदस्य देवीमाया बास्तोला, शिक्षा शाखा प्रमुख हरि कटेल तथा बाल साहित्य प्रशिक्षक टीका आत्रेय लगायत निर्णायक मण्डल, सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दुई दिनसम्म सञ्चालन भएको महोत्सवमा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले कविता, कथा, सिर्जनात्मक लेखन, वाचन लगायतका विभिन्न साहित्यिक विधामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरू लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
दुई दिनको प्रशिक्षण पश्चात् बाल साहित्य प्रतियोगितामा उज्ज्वल राई प्रथम, आकृति थुलुङ द्वितीय, सबिना खत्री तृतीय तथा मुगा बि.क., गुडसन राई र सामना राई सान्त्वना स्थान हासिल गर्न सफल भएका छन । विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो भने सहभागी विद्यालयका विद्यार्थीलाई सहभागिताको प्रमाण-पत्र प्रदान गरिएको छ ।
यस कार्यक्रमले बालबालिकामा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै उनीहरूको अन्तरनिहित प्रतिभाको पहिचान, सिर्जनशीलता विकास र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ ।
समापन समारोहमा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने प्रशिक्षक, निर्णायक मण्डल, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति बेलका नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौ ।






प्रतिक्रिया दिनुहोस्