बेथितिले नासिँदै ‘हिटी’

श्रोत : ईन्टरनेट

१८ कार्तिक, काठमाडौं ।  कुनै समय काठमाडौं उपत्यकाको पानीको मुख्य स्रोत ‘हिटीहरू’ (धारा)को महत्व जोडिएर आउँछ । उपत्यकाका प्राचीन टोलहरूको हिटी जोडिएर आउने नामहरूले समेत हिटीको महत्व दर्साउँछ । तर, कंक्रिटका संरचनाले लगभग ढाकिसकेको काठमाडौं उपत्यकामा प्राचीन संस्कृति झल्काउने ‘हिटी’ नाममा मात्र सीमित हुन थालेका छन् ।

नेपाल भाषामा हिटीको अर्थ ‘धारा’ वा ‘पानीको मुहान’ भन्ने बुझिन्छ । तर, हिटीमा अहिले पानी देखिँदैन, संरक्षणको अभावमा न त प्राचीन कला, संस्कृति र चित्रकला नै देख्न पाइन्छ । काठमाडौं उपत्यकामा लिच्छवीकालदेखि सुरुवात भएको मानिने हिटीको परम्परागत संस्कृति लोप हुने अवस्थामा छ । परम्परागत कलाअनुसार एउटै हिटीको एकदेखि २२ वटासम्म धारा हुने ऐतिहासिक हिटीहरूलाई पुनर्निर्माण गरिए पनि संरचनामा मात्रै सीमित छन् भने केही नासिँदै गएका छन् । 

frontline

उपत्यकाकै सबैभन्दा ठूलो मकरधारा (सुन्धारा)मा सर्वसाधारणको आवतजावत रोकिएको लगभग चार वर्षभन्दा बढी भयो । ०७२ सालमा भूकम्पले नजिकै रहेको धरहरामा क्षति पुगेपछि लगाएको तारबारले ‘सुन्धारा’ सर्वसाधारणको पहुँचभन्दा बाहिर पुग्यो । सुन्धाराको चारैतर्फ धरहरा र हुलाक कार्यालयको पुनर्निर्माण सुरु भइरहे पनि बीचमा रहेको सुन्धारा भने नासिँदै गएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण थालेको धरहराका संरचनाहरू निर्माण भइरहे पनि नासिँदै गएको सुन्धारालाई भने बेवास्ता गरिएको छ । वर्षौंदेखि आवजावत बन्द हुँदा संरचनाहरू भत्किँदै गएका छन् भने चारैतर्फ उम्रेको घाँसले हिटीको पहिचान नै मेटाउँदै गएको भान हुन्छ । 

‘सुन्धारा’ उपत्यकाकै सबैभन्दा कान्छो र क्षेत्रफल र संरचनाका आधारमा सबैभन्दा ठूलो मानिने गरिन्छ । यो सुन्धाराकै डुँडमा रहेको सुवर्णपत्रका अनुसार सन् १८२९ मा महारानी ललितत्रिपुरा सुन्दरीले बनाउन लगाएको हो । त्यसैले प्राचीनकालमा काठमाडौंको यो सुन्धारालाई त्रिपुराधाराको नामले समेत चिनिने गरिन्थ्यो । डा. साफल्य अमात्यको पुरातत्व, इतिहास र संस्कृति नामक पुस्तकका अनुसार ‘सधैँ पानी बगिरहने कलात्मक मकरको मुख भएको धातुको टुटी अथवा जलद्रोणीमा सुन मुलम्मा गरी बनाइएको हुनाले यो हिटीलाई पनि सुन्धारा भन्ने गरिन्छ ।’ 

प्राचीन कलाकृतिदेखि सुन्धारा चारओटा सतहमा निर्माण गरिएको छ । पुरातत्वविद्हरूका अनुसार सुन्धारामा उत्तरतर्फ भित्तामा तीन धारा, पूर्व र पश्चिममा पाँचओटा धारा थिए । तर, अहिले उत्तरपट्टिका तीनओटा धाराको टुटी मात्रै छ । पुरातत्वविद्, आलोकसिद्धि तुलाधरका अनुसार मल्लकालसम्म बालाजुदेखि असन र बागबजारसम्मको एरियामा पानीका मुख्य स्रोतहरूमध्ये बाइसधारापछि सुन्धारा नै थियो । फराकिलो संरचना, नुहाउन र लुगा धुन प्रशस्त ठाउँ भएकाले तत्कालीन समाज पानीका लागि सुन्धारामा निर्भर थियो । उनी भन्छन्, ‘बिस्तारै घरहरू बन्दै गए, सामान्य धारा र पाइपबाट पानीको पूर्ति हुन थालेपछि हिटीमाथि निर्भरता घट्दै गयो । वरिपरि बन्दै गएका ठूला भौतिक संरचनाले पनि प्राचीन सम्पदाको महत्व निमिट्यान्न पार्दै गए ।’

काठमाडौं मल बन्दा सुकेको हिटी अझै बेवारिसे
करिब दुई रोपनी चार आनामा फैलिएको ‘सुन्धारा’को भत्किन लागेको संरचना मात्रै बाँकी छ । उत्तरपट्टि रहेको कर्मचारी सञ्चय कोषको भवन निर्माणका क्रममा फलामका पाताहरू धाराभन्दा तल गाड्दा धारामा पानी आउन बन्द भएको थियो । पुरातत्व विभागका अनुसार सुन्धाराको मुख्य स्रोत खुलामञ्चलाई मानिन्छ । तर, धाराको सतहभन्दा निकै मुनिसम्म खनेर संरचना निर्माण हुँदा पानीको स्रोत नै बन्द भएको पुरातत्वविद्हरूको भनाइ छ ।

पुरातत्वविद् प्रकाश दर्नालका अनुसार सुन्धारामा खुलामञ्चको जमिनबाट माटोको पाइपबाट पानी ल्याइएको इतिहास छ, जसलाई ‘टेराकोटा’ पनि भन्ने गरिन्थ्यो । टुँडिखेलको सहतमा जम्मा भएको पानी टेराकोटाका माध्यमबाट बाह्रै महिना सुन्धारामा आउने गथ्र्यो । कर्मचारी सञ्चय कोष भवन निर्माणका क्रममा पानीको मुख्य स्रोत बन्द हुने भन्दै स्थानीय र पुरातत्व विभागले विरोधसमेत गरेको पुरातत्वविद् दर्नाल बताउँछन् । उनी भन्छन्, ‘त्यतिवेला स्थानीय वडाध्यक्षलाई लोभमा पारेर, ट्यांकीबाट पानी सप्लाई गरिदिने भन्दै सञ्चय कोष भवनको जग गहिरो खनियो ।’

हिटीसँग जोडिएको ‘जरु’
अधिकांश हिटी अर्थात् धारानजिक ‘जरु’ अर्थात् सानो पानीट्यांकी राखिएको हुन्छ । प्राचीन सभ्यताको उपज मानिएको जरु अर्थात् जलद्रोहणीले कला संस्कृतिसँग मात्रै नभई प्राचीन मानव सभ्यताको झल्को दिने गर्छ । पुरातत्वविद्हरूका अनुसार धारासम्म पुग्न नसक्ने पैदलयात्रीका लागि बाटोनजिक पिउने पानीका लागि सानो ट्यांकी राखिने गरिन्थ्यो । जसमा पानी भरेर लैजाने प्रत्येक व्यक्तिले गाग्री वा भाँडाबाट अलिकति पानी खन्याएर जाने चलन थियो । पुरातत्वविद्, तुलाधर भन्छन्, ‘धारानजिक राखिएको सानो ट्यांकी हेर्दा सामान्य लाग्छ, तर टाढा रहेको धारासम्म पुग्न नसक्नेहरूका लागि पानीको व्यवस्था गर्नु र यसलाई संस्कृतिसँग जोड्ने विषय कल्पनाभन्दा बाहिरको विषय हो ।’

अधिकांश हिटीहरूमा मुख्य धारानजिकै महिलाको स्तन आकारमा जलद्रोहणी राखिएको पाइन्छ । जसमा माथिबाट पानी हाल्ने तीनवटा प्वाल र तल सानो धारा हुन्छ । संस्कृतिविद्हरूका अनुसार जलद्रोहणीमा नियमित पानी चढाए महिलाले छिटै सन्तान प्राप्त गर्ने र सन्तान नभएकाहरूले पानी चढाएमा पुण्य कमाइने मान्यता छ ।

धाराबाट पानी थापेर लैजाने हरेकले जरुमा पानी खन्याउने मान्यता रहेको र उक्त पानी बाटो हिँड्नेहरूले खाँदा पुण्य कमाइने विश्वास थियो । पुरातत्वविद् दर्नाल भन्छन्, ‘संस्कृतिसँग जोडिएका यस्ता सम्पदा प्रत्यक्ष रूपमा दैनिक जीवनयापनसँग जोडिएका हुन्छन् । वैज्ञानिक रूपमा अर्थपूर्ण मानिने सम्पदाहरू नासिँदै जानु इतिहास मेटिँदै जानु हो ।’

तीनधारा पाठशाला छेउकै तीनवटा ढुंगेधारा पनि वर्षौंदेखि सुक्खा छन् । यस्तै, ठमेलमा रहेको यंगाः हिटीको पनि अवशेष मात्रै बाँकी छ । ऐतिहासिक कमलपोखरी रहेको स्थानमा छायादेवी कम्प्लेक्स बनेको छ । यसबाहेक काठमाडांैका हरेकजसो बस्तीमा सानो–ठूलो ढुंगेधारा भए पनि अहिले बर्खामा फोहोर पानी मात्रै बग्छन् । 

हराउँदै गएको ऐतिहासिक महत्व 

सुन्धारालाई परापूर्वकालमा बागदरबारनजिकको पानीको मुख्य स्रोत मानिन्छ । तत्कालीन समयमा ढुंगेधारामा नियमित पानी नआउने भएकाले वरिपरिको सम्पूर्ण बस्ती सार्वजनिक धारामा आश्रित रहेको ‘आर्किलोजिकल एन्ड कल्चरल हेरिटेज अफ काठमाडौं भ्याली’ नामक पुस्तकमा उल्लेख छ । पुनर्निर्माण प्राधिकरणले धरहरासँगै सुन्धारा पुनर्निर्माण पनि गरिने बताउँदै आएको छ । तर, पुरातत्वविद् तुलाधर भन्छन्, ‘हिटीसँग प्राचीन संस्कृति जोडिएको छ । आधुनिक संरचना बन्दैमा सम्पदा नासिँदै गएको ख्याल गरिएको छैन । पाइपको पानी ल्याएर सुन्धारामा राख्नु सम्पदाको ऐतिहासिक मूल्यको धज्जी उडाउनु बराबर हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here