बूढीगण्डकीको बाढीले ४ जलविद्युत् आयोजनामा क्षति, निर्माण उपकरण बगायो
बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, बेलिब्रिज तथा पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।
बाढीबाट ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भएको देखिएको छ। टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरणसमेत बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
त्यस्तै, २४.५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ। दोभान खोला हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गरेको उक्त आयोजनाको बेलिब्रिजसमेत बाढीले बगाएको छ।
३०.९१ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ। यारु हाइड्रो पावर प्रालिले प्रवर्द्धन गरेको आयोजनाको बेलिब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरण बाढीले बगाएको विवरणमा उल्लेख छ।
यस्तै, १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा पहुँच सडक र आयोजनास्थल पुग्ने पुलमा क्षति पुगेको छ। वाटर इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको उक्त आयोजनामा बाढीले पुर्याएको क्षतिले निर्माण तथा आयोजनास्थलसम्मको आवागमन प्रभावित हुन सक्ने देखिएको छ।
चारवटै आयोजनाको क्षतिको विवरण प्रारम्भिक रहेको छ। बाढीबाट भएको कुल आर्थिक क्षति, आयोजनाको निर्माण कार्यमा परेको असर तथा पुनर्निर्माणका लागि लाग्ने समयबारे भने विवरणमा खुलाइएको छैन।






प्रतिक्रिया दिनुहोस्