बुवाले ‘बेचिसकेको’ जग्गा छोराले पनि बेचिदिए, २७ परिवारमा उठिबासको त्रास

धनुषाधाममा ५० वर्षअघि स्थानीय जमिन्दारबाट खरिद गरेको जग्गा कानुनी प्रक्रिया पूरा नगरी बसोबास गर्दै आएका २७ परिवार उठिबासको अवस्थामा पुगेका छन् । जमिन्दारका छोराहरूले ती जग्गा अन्य व्यक्तिलाई बिक्री गरेपछि स्थानीयहरू न्यायको खोजीमा छन् ।
११ चैत, जनकपुरधाम । जनकपुरमा आइतबार भेटिएका ८० वर्षीय विशेश्वर यादवको अनुहारमा गहिरो बेचैनी झल्किन्थ्यो । जीवनको उत्तरार्द्धमा आइपुग्दा आफ्ना तीन छोरा उठिबासको अवस्थामा पुगेको पीडा बोकेर उनी जनकपुर आइपुगेका हुन् ।




धनुषाधाम नगरपालिका-४, सर्सा चिरैयाका टोलका विशेश्वर स्थानीय वडाध्यक्ष मनोज यादवसँग कानुनी सल्लाह लिन केही गाउँलेसहित जनकपुर आएका थिए ।
विशेश्वर ५० वर्षअघि स्थानीय जमिन्दार केसी यादव (अधिकारी)सँग एक हजार रुपैयाँमा दुई कठ्ठा घडेरी खरिद गरेर बस्न थाले । राप्रपाका तत्कालीन नेता हेमबहादुर मल्लका विश्वासपात्र केसी यादवले जग्गा पछि पास गरिदिने आश्वासन दिएका थिए । विशेश्वर ढुक्क थिए । अहिले त्यो जग्गामा उनका तीन छोराको परिवार बसोबास गर्छन् ।
तर, केसीका तीन छोरा दिनकर यादव, चन्देश्वर यादव र भरत यादवले उक्त जग्गा भागबण्डा गरी अन्य व्यक्तिलाई बिक्री गरिदिएपछि विशेश्वरको परिवारको बास उखेलिने स्थिति भएको छ ।
‘म ३० वर्षको हुँदा कठ्ठाको ५ सय रुपैयाँका दरले केसीसँग २ कठ्ठा घडेरी किनेँ । केसीले पछि पास गरिदन्छु भन्नुभयो । यत्रा जिम्दार (जमिन्दार)ले के बेइमानी गर्लान् र भन्ने सोँचे । यही बीचमा केसी बिते । अहिले उनका छोराहरुले हाम्रो घरघडेरी बेचेका छन् । बुढेसकालमा न्यायको खोजीमा छु,’ विशेश्वरले गुनासो गरे ।
विशेश्वरकै जस्तो अवस्था ८१ वर्षीय रामहित यादवको पनि छ । कानुनी सल्लाहका लागि उनी पनि जनकपुर आएका थिए । रामहितले पनि त्यही बेला केसीबाटै ७ सयका दरले ४ कठ्ठा ७ धुर जग्गा किने, जहाँ अहिले उनका पाँचजना छोराको परिवार बसोबास गरिरहेका छन् ।
‘केसीले त्यतिबेला पास गरिदिन्छु भनेका थिए । जिम्दार (जमिन्दार) जस्तो मान्छेले हामी जस्तालाई धोका दिन्छ भनेर सोचेकै थिइनँ,’ रामहितले भने, ‘अहिले उनका छोराहरूलाई लोभ पलायो । बुबाले बेचिसकेको जग्गा आफैँले भागबण्डा गरेर हामीलाई छलेर बेचेका छन् । हामीलाई उठिबास गराउने अवस्थामा पुर्याए ।’

विशेश्वर र रामहित मात्र होइन, यहीँको १ बिघा ५ कठ्ठा जग्गा किनेर बसेका २७ घरपरिवारको निद्रा हराएको छ ।
विशेश्वरका अनुसार धनुषाको साविक तेजनगर गाविस वडा नम्बर ८ (क) मा पर्ने कित्ता नम्बर ३०७ को १ बिघा ५ कठ्ठा जग्गा विभिन्न व्यक्तिलाई बिक्री गरिएको थियो । तर त्यसको पास प्रक्रिया पूरा गरिएन । पछि पास गरिदिने आश्वासन दिएपछि घर बनाएर बस्न थाले । उक्त जग्गा केसी अधिकारीको कान्छो भाइ मोहनको नाममा रहेकाले पारिवारिक विवादका कारण पास हुन सकेन । केसीले विवाद समाधान भएपछि पास गरिदिने भन्दै समय टारिरहे, तर विवाद टुंगिएपछि पनि पास गरेनन् ।
केसी अधिकारीको वर्षौंअघि निधन भइसकेको छ । पछि स्थानीयले उनका छोराहरूलाई पास गरिदिन आग्रह गरे । तर छोराहरूले आश्वासन मात्र दिएर समय बिताइरहे ।
अन्ततः गत फागुन १८ गते दिनकर यादव, भरत यादव र चन्देश्वर यादवको संयुक्त स्वामित्वमा रहेको १ बिघा ५ कठ्ठा जग्गा विभिन्न व्यक्तिहरूको नाममा धनुषाको मालपोत कार्यालयबाट पास भएको पाइएको छ । जग्गा किन्नेहरुमा अशोक ठाकुर सोनार, कृष्ण यादव, जुगेश्वर यादव, प्रतिभाकुमारी यादव, विनोद यादव र हरिलाल यादवको नाम लालपुर्जामा उल्लेख छ ।

पीडित मोहन यादवका अनुसार झण्डै १० महिनाअघि केसी अधिकारीका छोराहरू अमिनसहित जग्गा नापजाँचका लागि आएका थिए । त्यतिबेला स्थानीयले कारण सोध्दा उनीहरूले नाप-जाँचपछि पास गरिदिने आश्वासन दिएका थिए । मोहन भन्छन्, ‘१० महिनाअघि उनीहरू नापी गर्न आए । सोध्दा भने, नापजाँचपछि पास गरिदिन्छौं । त्यसैले हामीले नापी गर्न दियौं । तर अहिले आएर थाहा भयो, बेइमानहरुले जग्गा नै बेचिसकेछन् ।’
उक्त जग्गा बेच्ने सुरसार गरिरहेको सुईंको पाएपछि स्थानीयहरुले २७ जेठ २०८१ मा घरबाटो सिफारिस नदिन, जग्गा रोक्का गरिदिन र अधिकारीका छोराहरुलाई बोलाएर छलफल गराइदिन निवेदन दिएका थिए ।
यता, केसी अधिकारीका छोरा दिनकर यादवले त्यो जग्गाको बारेमा पछि आएर लालपुर्जा हेर्दा मात्र आफूहरुलाई थाहा भएको दाबी गरे । ‘मेरो बुबाले जग्गा बेच्नु भएको थियो भने यत्तिका दिन जग्गा किन्नेहरु कहाँ हराएका थिए ? त्यो जग्गामा के आधारमा बसे ? मेरो बुबाले जग्गा बेचेको हामीलाई थाहा छैन । किनेको भए केही प्रमाण त राख्नुपर्थ्यो नि !,’ छोरा दिनकरले भने । केसीका छोराहरुको धनुषाको विदेह नगरपालिका- ८ मा घर छ ।
वडा नम्बर ४ को जग्गा ७ नम्बर वडाको सिफारिसले पास भएको खुलासा
दिनकर, भरत र चन्देश्वरको संयुक्त नामबाट बेचिएको १ बिघा ५ धुर जग्गा धनुषाधाम नगरपालिका- ४ मा पर्छ । तर उक्त जग्गा वडा नम्बर ७ को घरबाटो सिफारिसबाट पास भएको पाइएको छ । वडा कार्यालयको मिलेमतोमा अन्य वडाको सिफारिस प्रयोग गरी जग्गा पास हुनुले स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उब्जिएको छ।
वडा नम्बर ७ कार्यालय र वडाध्यक्ष हेमनारायण यादव र मालपोत कार्यालयका कर्मचारी प्रलोभनमा परेर कानुन विपरीत अन्य वडाको जग्गाको सिफारिस गरेको स्थानीयको आरोप छ । ‘वडा नम्बर ४ को जग्गाको घरबाटो सिफारिस वडा नम्बर ७ कार्यालयले कसरी गर्छ ? मालपोत कार्यालय अर्को वडा कार्यालयको सिफारिसले कसरी जग्गा पास गर्छ । सबैलाई प्रभावमा पारेर, मिलेमतो गरेर साविकमा नै केसी अधिकारीले बेचिसकेको जग्गा पुनः अर्कालाई बेचेका छन् । सबैमाथि छानबिन गरी कानुनी कारबाही हुनुपर्छ,’ पीडितको माग छ ।

धनुषाधाम- ४ का वडाध्यक्ष मनोज यादवले उक्त जग्गाको घरबाटो सिफारिस रोकेका थिए । ‘पटकपटक दिनकर मकहाँ आउँदा मैले घरबाटो सिफारिस दिइनँ । किनभनेक्क, धेरै पहिला जग्गा केसी अधिकारीसँग किनेको र पास नगरेको कुरा मलाई पनि थाहा छ । निवेदन पनि आयो,’ वडाध्यक्ष यादवले भने । तर अर्कै वडाको सिफारिसबाट जग्गा पास भइसकेको पाइएपछि उनले आइतबार विज्ञप्ति निकालेर गैरकानुनी सिफारिस दिनेलाई कारबाहीको माग गर्दै कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन् ।
‘वडा नम्बर ४ को क्षेत्राधिकार मिची वडा नम्बर ७ ले गैरकानुनी रुपमा घरबाटो हुँदाहुँदै नभएको सिफारिस दिएको र राजस्व छली समेत भएको हुँदा यस्तो अनाधिकृत तथा गैरकानुनी कार्यप्रति वडा नम्बर ४ को गम्भीर ध्यानाकर्षण भएकोले गैरकानुनी कार्यको घोर भर्त्सना गर्दै यस्ता गैरकानुनी कार्य गर्नेलाई प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रियामा जाने र आगामी दिनमा यस्ता गैरकानुनी कार्यप्रति सचेत रहन आम जनसमुदायमा सुचित गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।
यता, वडा नम्बर ७ का वडाध्यक्ष हेमनारायण यादवले उक्त जग्गा कुन वडामा रहेको भन्नेमै अनभिज्ञता प्रकट गर्दै साविकको यज्ञभूमि गाविसको जग्गा रहेको आधारमा घरबाटो सिफारिस दिएको तर्क गरे ।

तपाईंले घरबाटो सिफारिस दिनु भएको दिनकर, भरत र चन्देश्वरको संयुक्त नाममा रहेको १ विघा ५ कठ्ठा जग्गा अहिले कुन वडामा पर्छ भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘अहिले कुन वडामा पर्छ भन्ने मलाई थाहा छैन । तर साविक यज्ञभूमि गाविसको आधारमा सिफारिस दिएको हुँ ।’
जग्गा पास भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका अधिकृत तेजप्रसाद रेग्मीले गरेका छन् । वडा कार्यालयबाट आएको सिफारिसका आधारमा जग्गा पास गरेको उनको दाबी छ । ‘वडा नम्बर ४ हो कि ७ हो हामीले जग्गा र कित्ता नम्बर हेर्ने हो । साविकको गाविस, कित्ता नम्बर थाहा हुन्छ । अहिले कुन वडा अन्तर्गत पर्यो भन्ने कुरा हामी वडाको सिफारिस अनुसार हेर्छौं । अहिले ठ्याक्कै कुन वडा हो भन्ने थाहा नहुन सक्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्