बहुमूल्य कस्तूरीको बिना तस्करी

श्रोत : ईन्टरनेट

१ मंसिर, म्याग्दी : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका जंगलबाट बहुमूल्य कस्तूरीको बिना तस्करी हुने गरेको छ । बाह्रगाउँ–मुक्तिक्षेत्र गाउँपालिका–१ पाण्डाखोला सिरानको निज्जा जंगलबाट कस्तूरीको बिना तस्करी भइरहेको सूचना पाएपछि एक्याप, प्रहरी र संरक्षण समितिका पदाधिकारीले पाँच दिनसम्म बृहत् गस्ती गरेका थिए ।

गस्तीका क्रममा बिना झिकेको अवस्थामा २ वटा भाले र तीन पोथी कस्तूरी मृत फेला परेका थिए । पासोमा परेको एउटा जिउँदै पोथीलाई उद्धार गरी वनमा छाडिएको थियो । कस्तूरीलाई थापेको पासोमा परी दुइटा रातो स्याल पनि मरेको फेला परेका थिए । मरेको भेटिएका कस्तूरी र स्यालको शव ताजै थियो । गस्तीका क्रममा तस्करले थापेका १ सय ७१ वटा पासोसमेत भेटिएको प्रहरीले जनाएको छ ।

frontline

‘तस्करले थापेको धरापमा परेर मरेको भेटिएको कस्तूरी पासोमा बेरिएको थियो । यति धेरै पासो थापेको फेला पर्नुले संरक्षण क्षेत्रबाट कस्तूरीको बिनाबाहेक वन्यजन्तुको सिकार र तस्करीको गम्भीर अवस्था देखाएको छ,’ एक्यापको जोमसोम इलाका कार्यालयका प्रमुख ऋषि बरालले भने, ‘स्थानीय बासिन्दाको संलग्नताबिना यति धेरै पासो थाप्न, वन्यजन्तु मार्न र अंग झिकेर ओसारपसार गर्न सम्भव कुरा होइन, यसमा हामीले अनुसन्धान सुरु गरेका छौं ।’ यति धेरै पासो वनका थापेको अवस्थामा र बिना झिकेको अवस्थामा मरेका कस्तुरी भेटिएको मुस्ताङमा सम्भवतः पहिलो घटना भएको उनले बताए ।

गस्ती टोलीले कात्तिक १५ मा १८ वटा, १६ मा २३, १७ मा १ सय र १८ मा २८ पासो भेट्टाएको थियो । कात्तिक २२ मा घरपझोङ गाउँपालिकामा नेपाली सेनाको कैसाङ क्याम्प क्षेत्रको जंगल र टिकीलुङ जंगलमा २ वटा ब्यान्डिङ तार, मोटरसाइकलको ब्रेकको तार र प्लास्टिकका डोरी प्रयोग गरिएका पासो फेला परेको एक्याप मुस्ताङले जनाएको छ । ‘लुप्रामाथि र खम्पा क्याम्पदेखि उत्तरपूर्वी जंगलबाट पासोमा पारेर कस्तूरी मारेर बिनाको तस्करी भइरहेको सूचनाका आधारमा एक्यापसँगको सहकार्यमा वन गस्ती गरेका थियो, धेरै पासो फेला परे । पासोमा मरेको भेटिएका वन्यजन्तु एक्यापलाई बुझाएका छौं,’ जिल्ला प्रहरीका निरीक्षक आशिष अधिकारीले भने, ‘यहाँबाट वन्यजन्तुको अंग अवैध ओसापसार भइरहेको पुष्टि भएकाले प्रहरी पनि सतर्क छ ।’

कस्तूरी मार्न जंगलमा पासोको जाल बिछ्याएको भेटिएपछि गत मंगलबारदेखि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पासो खोज्ने र नष्ट गर्ने अभियान चलाइएको छ । सेनाको उच्च शिखर तालिम केन्द्र रहेको कैसाङ तालिम केन्द्रवरपरको जंगल, टिकीलुङ जंगलसमेत तल्लो मुस्ताङमा पर्ने वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङलगायतका तीनवटै गाउँपालिकाभित्रका वनमा अभियान चलाइएको एक्याप मुस्ताङले जनाएको हो । मुस्ताङका विभिन्न क्षेत्रमा कस्तूरी, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, रेडपान्डालगायत वन्यजन्तु पाइन्छन् । कस्तुरी मार्नेलाई ५ देखि १० लाख जरिवाना, १० देखि १५ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था ऐनमा रहेको एक्यापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here