बच्चा भुलाउने वा फकाउने नाममा मोबाइल देखाउनुहुन्छ भने होस् गरौं

२४ असार, काठमाडौं । आजकल समय धेरै परिवर्तन भएको छ। अझ भनौं प्रविधिले धेरै फड्को मारेको छ। बच्चा जन्मिएको थोरै समयबाट नै बच्चा भुलाउने वा फकाउने नाममा मोबाइलको प्रयोग बढ्दो छ।

दिनप्रतिदिन बढ्दै गइरहेको यो आचरणले विस्तारै ‘एडिक्सन’ तर्फ लैजान्छ। जसको परिणाम निकै नै हानिकारक हुन्छ। आमा-बुवा आफू पनि मोबाइलमा नै व्यस्त हुने र बालबच्चालाई पनि मोबाइलमा नै व्यस्त बनाउने परिपाटीले गफगाफ र भलाकुसारीको ग्राफ ओह्रालो लाग्दै छ।

frontline

यहाँ सम्मकी अब बालबच्चालाई भात खुवाउन मोबाइल चाहिने भएको छ। रुँदा फकाउन मोबाइल चाहिने भएको छ। स्कुल पठाउन मोबाइल चाहिने भएको छ। आफूले भनेको काम अह्राउन वा सजिलै मनाउन मोबाइल चाहिने भएको छ। यो एडिक्सनको बिकराल रुप हो।

मोबाइलको अत्यधिक प्रयोगले विभिन्न नकारात्मक असरहरु बालबच्चामा देखिएका छन्। जस्तै;

१.बाल क्रियाशीलता लोप हुँदै

मोबाइलको प्रयोगले बाहिर चौरमा गएर खेल्ने, आफन्त वा चिनेजानेकासँग घुलमिल भएर बोल्ने, साथीभाई बनाउने आदि सबै गतिविधिहरु नाश हुँदै गएका छन्। बालबालिकामा रहने अत्याधिक रचनात्मकता सबै मोबाइलको गेम, फेसबुकका गतिविधि र युट्युबको भिडियोले खाइदिएको छ। बाहिरी पर्यावरणमा गएर पसिना निकालेर कुनै खेल खेल्नु र मोबाइलमा गेम खेल्नु आकास पातल फरकको कुरा हो। वातावरणसँगको घुलमिलले छुट्टै हर्मोनहरुको विकास गर्छ र बालबालिकालाई सिर्जनशील हुन मद्दत गर्दछ।

२.निद्रा अपुग हुँदा स्वास्थ्य समस्या

स्कुलबाट आएपछि वा बिदाको दिन पनि राती अबेरसम्म फेसबुक चलाउने, घण्टौं म्यासेन्जरमा च्याट गर्ने, गेम खेल्ने जस्ता क्रियाकलापहरुले निद्रामा समस्या ल्याउँछ। चाँडै सुत्ने र चाँडै उठ्ने शरीरको नियमित चक्र नै बिथोलिन्छ। निद्रामा समस्या आएपछि टाउको दुख्ने, आँखाको मुनिको भाग कालो हुने, स्कुलमा दिउँसो पढाएको कुरामा ध्यान दिन नसक्ने जस्ता समस्याहरु झन् उब्जिएर आउँछन्।

३.मानसिक समस्या आउने

मोबाइलको प्रयोगले बालबच्चालाई एकोहोरो बनाउँछ। आफ्नो दाँया बाँया घटेका घट्ना वा अन्य क्रियाकलापमा बालबच्चालाई खासै ध्यान पुग्दैन। कोठाको एउटा कुनामा बसेर एउटा कृत्रिम सोचमा मात्र डुब्दा बालबच्चालाई बिकराल मानसिक समस्या देखिन सक्छ। नयाँ कुरा सोच्ने र गर्ने नहुँदा लामो समयमा डिप्रेशन कै शिकार समेत हुन सक्छन् बालबालिकाहरु।

४.मोटोपना बढ्न सक्ने

बालबच्चाको उमेर भनेको शारीरिक रुपमा अत्यधिक बिकास हुने उमेर हो।तर यही उमेरमा नै एकै ठाउँमा बसेर मोबाइल हेर्न थालेपछि मोटोपना बढ्नु कुनै अपवादको कुरा होइन। खाना खाने नियमित चक्रलाई मोबाइलको प्रोयगले डिस्टर्ब गर्ने हुनाले कुनै बेला अत्यधिक खाइदिने त कुनै बेला भोकै बस्ने परिपाटीले पनि मोटोपनामा बढवा ल्याउँछ।

५.छिटो कुलतमा फस्न सक्ने-

बालबालिकाको दिमाग भनेको काँचो माटो जस्तै हुन्छ भनिन्छ। जस्तो आकार दिन सकियो उस्तै बन्न सक्छ।तर मोबाइलको लतले कुलतको बाटो डोर्‍याउन सक्छ। आफू भन्दा अग्रजको आनीबानीलाई सिको गर्दै प्रत्यक्ष राम्रा कुराहरु व्यवहारमा उतार्ने उमेर हो यो। तर मोबाइलमा आउने अव्यवहारिक एवं हानि पुर्‍याने अनेकौं श्रृंखलाको ट्र्यापमा परेछि बालबच्चालाई उम्काउन गाह्रो हुन्छ। त्यसैले नराम्रो कुलतमा फस्ने चान्स बढि हुन्छ।

६.पढाइमा समस्या हुने-

स्कुल बाट घर पुग्ने बित्तिकै नियमित क्रिया भन्दा पनि मोबाइल समात्न हतार हुने बालबच्चाको पढाइ बिग्रने समस्या रहन्छ।होमवर्क गर्ने, स्कूलका कुरा रिभिजन गर्ने, नयाँ कुरा पढ्ने यी सबै सबै मोबाइलसँगको लतले खाइदिएको छ। जसले गर्दा परीक्षामा पनि राम्रो नतिजा ल्याउनबाट बिमुख हुन्छन् बालबच्चाहरु।

७.आँखामा समस्या हुने

मोबाइललाई चहकिलो बनाएर एकोहोरो हेर्दा आँखा थाक्ने समस्या रहन्छ। मोबाइलको प्रकाशलाई फिल्टर गर्न छुट्टै चस्माको प्रयोग गर्नुपर्ने हुन्छ। र चलाउनै पर्ने बाध्यता भए पनि आँखाका ढकनीले आँखालाई विश्राम दिँदै मोबाइल चलाउनुपर्ने हुन्छ। तर बालबच्चाहरुले यस्ता सावधानी अपनाएको देखिँदैन।

८.छिटो रिसाउने बानी

मोबाइलको लतमा लागि सकेपछि हत्तपत्त यो छोड्ने मन कसैलाई हुँदैन। अनि सानो तिनो काम कसैले अह्राउँदा वा गर्न पर्दा पनि रिसाउने र ठाडो ठाडो बोल्ने समस्या बालबच्चामा देखिन्छ। रिसलाई काबुमा राख्न सक्ने र सहनशील हुने क्षमतामा पनि मोबाइलको लतले ह्रास ल्याउँछ।

९.अरु सम्पूर्ण विकासमा अवरोध पुर्‍याउने

मानसिक र शारीरिक मात्र नभइ बालबच्चाको सामाजिक,सांस्कृतिक विकासमा समेत मोबाइलको लतले हानि पुर्‍याउछ। १८ वर्ष मुनिकाले हेर्न नहुने हिंसात्मक गतिविधि,यौनका अनैतिक क्रियाकलाप जस्तामा बालबालिकाको सहजै पहुँच हुँदा विकृति फैलन्छ र व्यवस्थित समामजिक संरचनामा नै खलल पुर्‍याउछ। 

के मोबाइलमा राम्रा कुराहरु हुँदैनन्?

अवश्य पनि अहिलेको इन्टरनेटको दुनियाँमा राम्रा नराम्रा दुवै पक्षहरु मोबाइल मार्फत पाउन सकिन्छ। तर बालबच्चाहरुले कुन राम्रो र कुन नराम्रो छुट्याउन खासै सक्दैनन्। जहाँ अभिभावकले भूमिका खेल्नु पर्ने हुन्छ। ज्ञानगुनका कुराहरु सिक्न पनि आजकल प्रविधि नभई हुँदैन। यस्को सकारात्मक फाइदा लिन, मोबाइलमाथिको जथावाभी प्रयोग रोक्न पनि यसको उचित सदुपयोग चाहिन्छ।

बालबच्चामा मोबाइलको लत कसरी हटाउने?

आजको भोलि नै यो लत हटाउने प्रयास गर्दा दुष्परिणामहरु निस्कन सक्छन्। बालबच्चा मात्र नभएर ठुलाबडा समेत यसको लतमा लागिसकेको यो अवस्थामा बालबच्चालाई विशेष यो लतबाट उम्काउन संवेदनशील भएर तल दिइएका क्रियाकलापहरु गर्न सकिन्छ;

१.बालबच्चालाई एकपटकमा मात्र १ देखि २ घण्टासम्म मात्र मोबाइल हेर्न दिने। यो समय सीमा पछि अन्य कार्यमा सारिक हुनुपर्ने पूर्व सूचना दिने।

२.खाना खाने समय, ठूलाबडासँगको गफगाफको समय अनि घरमा पाहुना आउँदाको समयमा बालबच्चालाई मोबाइलबाट परै राख्ने ता कि घुलमिल हुन सकून्।

३.राती सुत्ने बेला हुनु १ घण्टा अगावै मोबाइलबाट बालबच्चालाई टाढै राख्ने र कथाहरु सुनाएर प्रेरणा दिने।

४.मोबाइलको प्रयोगले हुने हानिका बारेमा अभिभावकहरु आफू पनि जानकार हुने र बालबच्चालाई घुमाउरो हिसाबमा कथाहरु मार्फत बुझाउने कोसिस गर्ने।

५.अभिभावकले बालबच्चालाई मोबाइलको साट्टो अन्य खेलाउनाहरु, चित्र कोर्ने सामग्री, गीत गाउने सामग्री, नाँच्दा लगाउने लुगाहरु किनिदिएर लतबाट विस्तारै टाढा लैजान सक्छन्।

६.बालबच्चालाई फूर्सदको समयमा चौरमा गएर खेल्न प्रेरित गर्ने र बिदा हुँदा अभिभावक आफैंले पनि घुमफिर गर्न रमाइला स्थानहरुमा लैजानुपर्छ।

७.अभिभावकले आफ्नो लामो समय बालबच्चा सँग व्यतित गर्नुपर्ने हुन्छ। उनीहरुको उत्तरको सहज जवाफ, स्कुलमा भए गरेका गतिविधिको छलफल, होमवर्क गर्दा पनि आफैं सहभागी हुने जस्ता क्रियाकलापले मोबाइलको लत छुटाउन मद्दत पुर्‍याउछ।

सबैजना बा-आमालाई आफ्ना बालबच्चाको मायाभन्दा ज्यादा अर्को केही लाग्दैन। तर दिनानुदिन आफ्नो बालबालिकामा बढ्दै गइरहेको मोबाइलप्रतिको आशक्तिमा उनीहरु बेखबर जस्तै हुन्छन्।

मुतको क्षणिक न्यानो जस्तै आफ्नो काम निम्ट्याउन बालबच्चालाई मोबाइल दिएर भुलाउन त सजिलो छ तर कालन्तरमा यसले पार्ने नकारात्मक असर हाम्रो सोच भन्दा धेरै पर पुग्नेछ। घरमा हुँदा अभिभावक र स्कुलमा हुँदा शिक्षक यी दुवै पात्रद्वारा अब बालबच्चालाई यो मोबाइलको लतबाट मुक्त पार्न लाग्नै पर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here