फल्चा काठमाडौँ उपत्यकाको पहिचान हो, यसको संरक्षण गर्न आवश्यक छ : बालेन

समाचार सारांश

  • काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फल्चा काठमाडौं उपत्यकाको सांस्कृतिक धरोहर भएको बताएका छन्। महानगरले यसको संरक्षण र पुनर्निर्माणमा जोड दिँदै आएको छ।
  • फल्चा प्राचीनकालदेखि सामाजिक एकताको केन्द्र रहँदै आएको र यसले यात्रुहरूलाई विश्रामस्थलको रूपमा सेवा दिने गरेको उल्लेख छ।
  • महानगरपालिकाले विभिन्न सडकखण्डमा बस बिसौनी (फल्चा) निर्माण गरिरहेको छ। हालसम्म दुईवटा फल्चा निर्माण सम्पन्न भइसकेका छन् भने थप २४ वटा निर्माणाधीन छन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फल्चा केवल ऐतिहासिक संरचना मात्र नभएर काठमाडौँ उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर भएको उल्लेख गरेका छन् । यसको संरक्षण र पुनर्निर्माणमा महानगर निरन्तर लागिपरेको उनले बताए । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्त्व ठुलो छ तर यी विस्थापित हुँदै छन् । यसलाई तस्बिर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्द्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ । त्यसैले सोच्थेँ, कम्तीमा, हरेक बस स्टपमा यात्रुहरूलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो । अहिले त्यहीअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउँदछौ ।’

frontline

फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको उनले उल्लेख गरेका छन् ।  चैत्य वा पाटीसँग जोडिएका फल्चामा भजन, पूजा र पर्वका तयारीसमेत हुने गरेको उनले स्मरण गरे ।

उनी लेख्छन्– ‘प्राचीन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्रामस्थल बनेका ती ठाउँहरूले काठमाडौँ गल्लीहरूमा थकित शरीरलाई विश्रामको मौका दिई फुर्तिलो बनाउँथे । बुढापाका मानिसहरूले फल्चामा बसेर कथा, इतिहास र परम्परा सुनाउँदा  पुस्तान्तरण हुँदै मौलिक इतिहास संरक्षणमा ठूलो योगदान पुग्थ्यो । यसैले फल्चा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौँ उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो ।’ 

काठमाडौँ महानगरपालिकाले विभिन्न सडकखण्डमा बस बिसौनी (फल्चा) निर्माण कार्य निरन्तर गर्दै आएको शाहले बताएका छन् ।  ‘आर्थिक वर्ष २०७९–८० देखि नै फल्चा बनाउन बजेट विनियोजन गरिएको हो । विजुली बजारमा रहेका दुईवटा फल्चा आर्थिक वर्ष २०८०–८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन् । माघ २०८१ मा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको तयारी भइरहेको छ, जसमध्ये आठवटाको निर्माण भइसकेको र ती माघ २०८२ भित्र सम्पन्न हुने जानकारी गराउँछौँ । यी सबै फल्चाको कुल लागत करिब रु। ९ करोड रहेको छ’, उनले भने ।

शाह भन्छन्- ‘कंक्रीटाइजेसनले छोपेको यो समयमा काठमाडौँको सभ्यता झल्काउने झिंगटीको छानो, थामलगायत तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा दृष्यका लागि पनि मनोरम बन्ने छ । सुविधाका लागि हरेक फल्चामा दुईतर्फी यात्रु विश्रामको सुविधा छ र बिचको बाटोबाट पैदल आवतजावत सहज हुने गरी डिजाइन गरिएको छ । यो अपाङ्गमैत्री पनि छ । ‘

#बालेन #फल्चा# बालेन शाह #काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here