प्रशासनिक कार्यको लागि आफ्नै भवन निर्माण- बडिगाड गाउँपालिका
स्थानीय सरकार गठनपछि प्रशासनिक कार्य संचालनको लागि आफ्नै भवन निर्माण तथा व्यवस्थापनमा केन्द्रित बनेको बडिगाड गाउँपालिकाले पालिकाका सबै प्रशासनिक काम आफ्नै भवनबाट दिन थालेको छ ।
चालु आर्थिक वर्ष मात्रै गाउँपालिकाले तीन वटा वडा कार्यालय भवनको औपचारिक उद्घाटन गरेको छ । निर्माण कार्य सकिएर सेवा शुरु गरेका वडा कार्यालय ६, ७ र २ को औपचारिक उद्घाटन गरिएको हो ।
बाडिगाड गाउँपालिका वडा नं. २ खर्वाङको वडा कार्यालयको असार १९ गते गण्डकी प्रदेश सभाका उपसभामुख बिना थापाले उद्घाटन गरिन् । ६३ लाख ५० हजार लागतमा उपभोक्ता समितिमार्फत भवन निर्माण गरिएको थियो ।
२०७७ सालमा निर्माण कार्य थालिएको भवनको काम २०८१ मा सकेर २०८२ मंसिरबाट सेवा संचालन गरिएको वडाध्यक्ष ढाल प्रसाद शेरचनले बताए । त्यसअघि वडा कार्यालयको काम जिल्ला समन्वय समितिको भवनबाट हुँदै आएको थियो ।
असार १ गते बडिगाड–७ भिमगिठे वडा कार्यालयको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उद्धघाटन गरिन् । २०७६ सालमा काम शुरु भएर २०७९ मा सकिएको ७० लाख लागतको यस भवन उपभोक्ता समितिमार्फत निर्माण गरिएको वडाध्यक्ष दिपेन्द्र प्रताप केसीले जानकारी दिए ।
दोस्रो कार्यकालमा निर्वाचित जनप्रनिधिले सिंधै नवनिर्मित भवनबाट सेवा शुरु गरेको वडाले यसअघि मासिक १५ हजार भाडा तिरेर कार्यालय संचालनमा थियो ।
यस्तै बडिगाड गाउँपालिका वडा नं. ६ खालमा ६३ लाख ६० हजार ८८२ रूपैयाँ लागतमा निर्मित वडा कार्यालय भवनको जेठ २९ गते गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले औपचारिक उद्धघाटन गरिन् ।
२०८१ मंसिर २४ मा सम्झौता गरेर २०८१ भदौ ५ गते वडा कार्यालय निर्माण शुरु गरेको जय दुर्गा निर्माण सेवाले २०८२ असार १५ मा भवन निर्माण सम्पन्न गरि साउनबाट भवनबाट सेवा सुचारु गरिएको वडाध्यक्ष विर बहादुर खत्रीले जानकारी दिए । यसअघि भाडाको घरबाट वडा कार्यालयले सेवा दिँदै आएको थियो ।
बडिगाड गाउँपालिका उपाध्यक्ष भिमसेन वनका अनुसार बडिगाड–१ दगातुम्डाँडाको पुरानो गाविस भवन बाहेक सबै वडा तथा पालिकाले आफ्नै नयाँ भवनबाट सेवा दिईरहेका छन् ।
“निर्माण सकेर आफ्नै भवनबाट सेवा संचालनमा रहेको केही वडाको औपचारिक उद्घाटन भने गरिएको छैन । केही वडामा कार्यालय सुरक्षाको काम गर्नुपर्ने छ । तर सेवा भने आफ्नै भवनबाट दिइरहेका छन्” वनले भने ।
२०८० माघमा ५ करोड १८ लाख ५४ हजार रुपैयाँमा निर्मित गाउँपालिका भवनको उद्धघाटनपछि सेवा शुरु गरिएको पालिका पनि त्यसअघि भाडाकै घरबाट संचालनमा थियो ।






प्रतिक्रिया दिनुहोस्