प्रतिनिधि सभा बैठकको अवरोध हटाउन सहमतिको प्रयास जारी

३० जेठ, काठमाडौं । विपक्षी दलहरुको विरोधका कारण जेठ १३ गतेदेखि प्रभावित प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आजको बैठक दिउँसो १ बजे बोलाइएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादी केन्द्र, रास्वपासहितका प्रतिपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आएका छन् । जेठ १५ गते बजेट प्रस्तुत हुन दिएका प्रतिपक्षी दलहरुले त्यसपछिका बैठकमा भने अवरोध पुर्याउँदै आएका छन् ।




गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हटेर प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने माग राख्दा पनि सत्ता पक्ष तयार नहुँदा सहमति जुट्न सकेको थिएन । जसका कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।
दुवै पक्षका पछिल्ला बैठक र छलफलहरुमा भिजिट भिसा प्रकरणमा छानबिन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले लचक हुँदै छानबिन समिति गठनमा प्रतिबद्धता जनाएका छन् ।
यद्यपि समिति कस्तो हुने, त्यसको कार्यादेश के हुने लगायतका विषयमा सहमति भइसकेको छैन । त्यसैले आज पनि सहमतिको प्रयास गर्ने नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विहीबार पत्रकारहरुसँग कुरा गर्दै सहमति नजिक फुगेकाले शुक्रबारको बैठक सुरु हुन सक्ने बताएका थिए ।
माओवादी केन्द्रका अर्का नेता माधव प्रसाद सापकोटाले सत्तापक्षले ल्याउने प्रस्ताव हरेर सदनको अवरोध हट्ने कि नहट्ने भन्ने निश्चित हुने बताए ।
यदि शुक्रबार सदनको अवरोध हटेमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन् ।
यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन् ।
साथै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गर्ने लगायतका सम्भावित कार्यसूची पनि छन् ।
प्रतिक्रिया दिनुहोस्