प्रजिअ भन्छन्– जोखिम छैन, क्षतिको विवरण संकलन हुँदैछ

२९ कार्तिक, काठमाडौं । ११ जना घाइते हुने गरी मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मानापाथी हिमालको फेदमा आइतबार गएको हिमपहिरोको जोखिम तत्काललाई टरेको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्रप्रसाद शर्माका अनुसार, उक्त स्थानमा तत्काल हिमपहिरोको खतरा देखिएको छैन । जोखिम टरेकाले जनजीवन सामान्य अवस्थामा फर्काउन प्रशासनले पहल गरिरहेको उनले बताए ।

frontline

आइतबार हिमपहिरो गए पनि अहिले त्यो स्थानमा खतरा छैन । अवस्थाबारे जानकारी गराएर जनजीवन सामान्य अवस्थामा फर्काउन पहल  भइरहेको छ ।’ 

हिमपहिरोले पुगेको क्षति, अहिले त्यहाँको अवस्था र प्रशासनले खेलिरहेको भूमिकाबारे उनले  यसरी सुनाए :

मुस्ताङको थासाङ गाउँपालिका–२, नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीमा आइतबार भीषण हिमपहिरो गएको थियो । घटनामा कुनै मानवीय क्षति भएको छैन । भागदौडका क्रममा ११ जना घाइते हुनुभएको छ । जसमा कोवाङ गाउँस्थित जनआदर्श माध्यमिक विद्यालयका दुई शिक्षिका, एक शिक्षक, एक कर्मचारी र सात विद्यार्थी छन् । उक्त विद्यालयमा हिमपहिरोको कुनै खतरा त थिएन तर उहाँहरू डराएर भाग्दा घाइते हुनुभएको हो । घाइते सबैको अवस्था सामान्य छ । अवस्था सामान्य भए पनि तीनजना थप उपचारका लागि बाहिर जान चाहनुभयो । उहाँहरूलाई आइतबार नै जिल्लाबाहिर पठाइएको छ । 

हिमपहिरोबाट चरण क्षेत्रका चौरी गोठहरू पनि पुरिएको अनुमान छ । तर घटनास्थलमा गइहाल्ने अवस्था नबनिसकेकाले यकिन विवरण आउन सकेको छैन । पशुचौपाया छाडेका किसान आज त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँहरूले जानकारी दिएपछि मात्रै क्षतिको विवरण प्राप्त हुन्छ । त्यसपछि नै राहतलगायत विषयबारे सोच्नेछौं । 

घटनालगत्तै जिल्ला सदरमुकाम र स्थानीय प्रहरी पोस्टबाट थासाङ पुगेका प्रहरी अहिले त्यहीँ छन् । तर प्रतिकूल अवस्थाका कारण चौरी गोठतर्फ जान सकेका छैनन् । चौरीपालक किसान गएका छन् । 

तपाईंले जस्तै धेरैले मुस्ताङ जिल्लाका कुन–कुन स्थानमा हिमपहिरोको जोखिम छ भनेर सोध्नुभएको छ । यसको पूर्वानुमान हाम्रो ल्याकतमा छैन । त्यसैले कतिबेला कहाँ हिमपहिरो जान्छ भन्न सकिँदैन । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here