पार्टी एकताबारे प्रचण्ड : बाबुरामको दिमागै छैन, के एकता गर्नु

नेसपासँग जेठ १२ गते एकता
अब बाबुरामलाई के गरी ल्याउने ? उनको दिमाग चाहिँ ठाउँमा हुन पर्यो र पो ल्याउन सकिन्छ।
तपाईहरू सबैले चिन्ताको साथ उठाउनुभएको छ, माओवादी वा क्रान्तिकारी कम्युनिष्टहरू एक हुनुपर्यो, बलियो हुनुपर्यो र आउँदो चुनावमा ०६४ जस्तै एक नम्बर पार्टी हुनुपर्यो । हाम्रा समस्या समाधान हुनुपर्यो ।




हामी समाजवाद र साम्यवादको निम्ति भनेर अगाडि बढेको हो। त्यो यात्रा निरन्तर अगाडि बढ्न पर्यो । तपाईंहरुले यो कुरा सबैजसोले उठाउनु भयो। के भएको छ भनेर चिन्ताको साथ उठाउनुभयो ।
म भन्न चाहन्छु- मूल पार्टीले पार्टी एकताको निम्ति लगातार प्रयास गर्दै आएको छ । तपाईंहरूले नै भन्नुभयो यहाँ अघि- म पनि कता कता गएको थिएँ, फेरी फर्केर आएँ ।
पार्टी एकतै भएको हो। अहिले तपाईंले नै भन्नुभयो, महासचिव देव गुरुङ, उपाध्यक्ष पम्पा भुसाल एकता प्रक्रियाबाटै भएको हो। हिजो त हामी अलग-अलग थियौं नि त । अहिले हामी एक ढिका भयौं। हाम्रो वरिष्ठ उपाध्यक्ष (नारायणकाजी श्रेष्ठ) पनि एकता प्रक्रियाबाटै आउनु भएको । उहाँ लगायत थुप्रै साथीहरू पनि । त्यसकारण एकता हुँदै नभएको चाहिँ होइन ।
प्रचण्डको चाहिँ सानो भयो, अरु ठूला भए भन्ने कुरा बिल्कुलै होइन। बरु प्रचण्ड वरिपरि नै क्रान्तिकारी कम्युनिस्टहरू एकताबद्ध हुँदै गएका छन्। अरुबाट पनि एकता भइरहेका छन् । यहाँ त दिनदिनै एकता भइरहेको छ । विप्लवका शिक्षकहरू त करिब करिब सबै आइसक्नुभयो। अरु पनि साथीहरू आइराख्नु भएको छ, दिनदिनै आउनुभएको छ।
विप्लवसँग पनि कुरा भैराखेको छ हामी मिल्न पर्छ भनेर। अनि बाबुरामसँग भएका चाहिँ शिक्षक त शतप्रतिशत एकतामा आए । अहिले बाबुरामसँग भएकामध्ये आधाभन्दा बढी (नेपाल समाजवादी पार्टी) अब सायद १२ गते एकता हुन्छ । यहाँबाट हामी १० गते काठमाडौँ पुग्छौं । १२ गते एकता हुँदैछ।
अर्को एउटा पार्टी छ काठमाडौँको नेवारहरुको बिचमा राम्रै छबि भएको पार्टी- नेपाल राष्ट्रिय पार्टी । हामीसँगै विचार र एजेन्डा मिल्छ, त्यो पार्टीसँग नि एकता हुँदैछ । एकताको बल गरिराखिएको छ र एकता भैराखेको छ भनेर बुझ्नुपर्यो । यो अभियानमा यति धेरै एकता भयो, तपाईहरूले बुझ्नुपर्यो । यो अभियानमा धेरै एकता भइसक्यो । विभिन्न पार्टी परित्याग गरेर हुलाकी मार्गको अभियानमा हाम्रो पार्टीमा हजारौं एकताबद्ध भए । त्यो पनि एकतै हो ।
एकता आखिरमा फेरी विचार, स्पिरिट, दृष्टिकोण मिल्यो भने मात्रै त्यो एकता दिगो हुन्छ । नत्र भने त्यो एकता झन् भाँडभैलो गर्ने एकता पनि हुन सक्छ। हामीले एकचोटी त गरियो नि एमालेसँग एकता । खोइ त त्यो एकता त हामीले चाहिँ टुङगोमा पुर्याउन त सकिएन ।
बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि ! गोर्खामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले लहै अब चाहिँ यो चुनाव मात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो। तर उहाँले पछि कम्युनिस्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिस्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने बाबुरामको लागि ? कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे । अनि त्यस्तोसँग के गरी एकता गर्ने ?
अब उहाँ त खिइँदै खिइँदै खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नु भएको छ। प्रतिक्रियावादीले नै पत्याउँदैन आजकल । हाँसोको पात्र भएका छन् बाबुराम के देशभरि कस्तो बुद्धि नभएको डाक्टर … (लामो हाँसो) । सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले ।
त्यस्तासँग के गरी एकता गर्ने एकता गर्ने जति त गर्ने भइयो नि । गंगानारायण श्रेष्ठ लगायतका थुप्रै त्यहाँ उहासँग भ्रममा परेर गएका सबै फर्किंदै हुनुहुन्छ पर्सि । यो एकता होइन त ?
अब बाबुरामलाई के गरी ल्याउने अब ? उनको दिमाग चाहिँ ठाउँमा हुन पर्यो र पो ल्याउन सकिन्छ। सबै एकता भनेर निरपेक्ष एकता भन्ने हुँदैन । त्यो सापेक्ष हुन्छ । त्यो विचार, दृष्टिकोण, प्रवृत्ति मिल्न पर्छ। फेरी एकता गरेछि ठूलो भैहाल्ने एकता नगरेपछि सानो भैहाल्ने भन्ने पनि होइन त्यो फर्मुला ।
कहिलेकाहिँ सही विचार र लाइन भयो भने सानो पार्टी पनि ठूलो भैहाल्छ तुरुन्तै । हामी जनयुद्ध सुरु गर्दा कहाँ चाहिँ ठूलो थियौं र हामी ? विशाल पार्टी त होइन नि हामी थोरैऽऽऽ हो । तर हाम्रो विचार, स्पिरिट, त्याग, तपस्याले गर्दा यो ठूलो भयो।
पछि विभाजन भएपछि कमजोर त भएकै हो । फेरि अब बलियो हुन थालेको छ । तपाईंहरू झन् यो पूर्वी रुकुमकाले त यो कुरा सबभन्दा बढी बुझ्न पर्ने हो । यहाँ हामीले अहिले आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने भनियो। तपाईंहरूले त यहाँ उपचुनावमा जित्नु भयो । कांग्रेस र एमाले मिल्दा खेरि पनि चुनाव जित्नुभयो । कयौं ठाउँमा कांग्रेस, एमाले, विप्लव, बाबुराम सबै एकातिर हुन्छन्, हामीलाई मात्र एक्लो पार्छन् । गोर्खामा ठ्याक्कै त्यही भयो ।
गोर्खाको उपचुनावमा जहाँ म अहिले चुनाव लडेर जितेको ठाउँ हो, त्यहाँ एउटा वडामा भएभरका पार्टी एकातिर माओवादीलाई एक्लो पारेर हराई छाड्ने भनेर सबैभन्दा बढी बाबुराम … । तपाई त्यसलाई माओवादी भन्नुहुन्छ ? पूर्व माओवादी ? पूर्व माओवादी त्यस्ता । उनले त गएर अझ जनतालाई बेसरी प्रभाव पार्छु भनेर धान झाँटे के । खलामा गएर बेसरी धान झाँटे । (हाँस्दै) देखाउनलाई तिनले गरे । नाटक गर्न सक्ने जति गरे ।
कांग्रेस-एमालेलाई उत्तेजित पारेर जसरी नि माओवादीलाई हराउनु पर्छ है भन्ने भए । तर फेरी लास्टमा माओवादीले जित्यो । माओवादी बलियो नभएको भए सारा मिल्दा खेरि चाहिँ पूर्व माओवादीदेखि भरका कांग्रेस एमाले मिल्दा पनि जित्ने भ त अहिले त हामी बलियो हुन थालिए छ नि त !
यो बुझ्नु पर्यो । के हामीले एकता नगरेको भए बलियो भइन्थ्यो त ? हामीले एकता पनि गर्नुपर्नेसँग गरेका छौं, नगर्नु पर्नेसँग गरेका छैनौं । यही कुरा हो । तर भाँडभैलो पार्ने भयो भने त त्यस्तासँग त सकिंदैन नि !
अब यहीँभित्रै बसेर भाँडबैलो …., अहिले दुश्मनले माओवादीको बढ्दै जान थालेको देखेपछि यहाँभित्र कसरी भाँड्ने होला, के गरी भ्रम पार्ने होला भनेर लगानी गर्ने पनि छन् फेरि । विभिन्न किसिमले आर्थिक लगानी गरेर, दलालहरू, प्रतिक्रियावादीहरू फेरि फुटाउन सकिन्छ कि भनेर बल भइराख्या हुन्छ, भइराख्या हुन्छ। त्यसमा तपाई हामी सबै सतर्क हुनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्