पहिलोको अनुपातमा दोस्रो लहरमा चार गुणा बढी संक्रमितको मृत्यु

सोमबार, वीरगञ्ज । कोरोना संक्रमणको पहिलो लहरको तुलनामा दोस्रोमा वीरगञ्जका अस्पतालमा ४ गुणा बढी मानिसको मृत्यु भएको छ ।

पहिलो लहरमा ८६ जनाको मृत्यु भएकोमा दोस्रो लहरमा ३ सय ४३ जनाको मृत्यु भएको हो ।

frontline

जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको विवरण अनुसार पहिलो लहरमा पर्साका ५५ र अरु जिल्लाका ३१ जनाको मृत्यु भएको थियो । भने दोस्रो लहरमा जिल्लाका १ सय ४० र जिल्ला बाहिरका २ सय ३ जनाले ज्यान गुमाएका छन् ।

वीरगञ्जमा कोरोना संक्रमणबाट पहिलो पटक २०७७ जेठ २८ गते मानिसको मृत्यु भएको थियो । २०७७ सालको असोजमा उच्च विन्दुमा पुगेको कोरोना संक्रमण विस्तारै कम हुँदै गएको थियो ।

तर २०७७ चैतदेखि पुन संक्रमण बढ्न थालेको थियो र यसलाई दोस्रो लहर भन्ने गरिएको छ ।

दोस्रो लहरमा पर्सामा २०७७ चैत ३० गते संक्रमितको मृत्यु भएको थियो । त्यसयता वीरगञ्जमा ३४३ जनाले ज्यान गुमाएका हुन् ।

दोस्रो लहरमा अस्पतालहरुमा जटिल समस्या लिएर आउने संक्रमित बढी थिए । तीमध्ये कतिपयलाई हाइ फ्लोमा अक्सिजन दिनुपरेको थियो ।

वीरगञ्जका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट हालसम्म ४ सय २९ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तव बताउँछन् ।

वीरगञ्जका अस्पतालमा पर्सासहित बारा, रौतहट र सर्लाहीका बिरामी उपचारमा आउने गरेका थिए ।

दोस्रो लहरमा नारायणी अस्पतालमा ७ सय ८१ जना संक्रमितको उपचार गरिएको थियो ।

जसमध्ये १ सय ८४ जनाको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. सरोज रोशन दास बताउँछन् ।

‘दोस्रो लहरमा अधिकांश कोरोना संक्रमितमा स्वास प्रश्वासको समस्या देखियो, एकदमै गाह्रो भएपछि मात्रै अस्पताल ल्याउँथे ।

हाइफ्लोमा अक्सिजन दिनुपर्ने स्थिति बन्यो । कोशिस गर्दा गर्दै पनि हामीले १ सय ८४ जनालाई बचाउन सकेनौं ।’

नारायणी अस्पतालमा हाल चार जनामात्रै उपचारमा छन् ।

नारायणी अस्पतालकै कोभिड संयोजक डा. उदयनारायण सिंह दोस्रो लहरमा देखिएको नयाँ भेरियन्ट कडा संक्रमण गराउने खालको भएकोले बढी मानवीय क्षति भएको बताउँछन् ।

‘दोस्रो लहरमा नयाँ भेरियन्टको भाइरस थियो, कडा संक्रमण देखियो । संक्रमितको संख्या एकैपटक ह्वात्तै बढ्यो’ उनले भने, ‘अस्पतालहरुमा अक्सिजन, भेन्टिलेटर लगायत आवश्यक स्रोत, साधन, जनशक्ति र पूर्वाधार पर्याप्त थिएन । त्यसले गर्दा बढी संक्रमितले ज्यान गुमाउनुपर्‍यो । ’

गाउँघरमा कोरोना संक्रमणको लक्षण भएकाहरु पनि अस्पताल आउनुको साटो टाइफाइडको इन्जेक्सन लगाएर बसेको पाइएको चिकित्सकहरु बताउँछन् ।

जसले गर्दा फोक्सो बिग्रिसकेको र पछि मात्र अस्पताल आउँदा बचाउन नसकिएको डा. सिंह बताउँछन् ।

पहिलो चरणमा ३१ हजार १ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार १ सय ८४ जनामा कोरोना संक्रमण देखिएको थियो भने दोस्रो लहरमा १४ हजार ४ सय ९३ जनाको पीसीआर परीक्षण गराउँदा ३ हजार ४ सय ६३ जनामा कोरोना देखिएको छ ।

पहिलो लहरमा विभिन्न अभियान मार्फत लक्षण नभएका शंकास्पद मानिसहरुको पनि पीसीआर परीक्षण गरिएको थियो भने दोस्रो लहरमा लक्षण देखिएपछि मात्र परीक्षणका लागि अस्पताल पुग्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here