पर्यावरण अभियन्ता दिलीप हत्याको दुई वर्ष पूरा, अझै न्याय पाएन परिवारले

२५ पुस, ढल्केवर(धनुषा)  । टिपरले किचेर हत्या गरिएका पर्यावरण अभियन्ता ओमप्रकाश (दिलीप) महतोको हत्या भएको दुई वर्ष पूरा भएको छ।

२५ पुस २०७६ को मिर्मिरे बिहानीमा धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपलाई क्रसर डनले क्रुरतापूर्वक हत्या गरेका थिए। दिलिपलाई कोखमा‘लिभर’प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको थियो।

frontline

सोही दिनको स्मरणमा आज दिलीपको दोस्रो स्मृति दिवस मनाइँदै छ। स्मृति दिवसको पूर्वसंध्यामा शनिबार वृक्षारोपण गरियो। आज विविध कार्यक्रमसहित दीप बालेर उनको बलिदानीको सम्मान गरिंदै छ।  

पर्यावरण बचाउन चाहन्थे ओमप्रकाश महतो(दिलीप)। देशको माटो जोगाउन उनी लड्दै थिए। २५ पुष २०७६ को मिर्मिरे बिहानीमा उनको ‘क्रसर डन ’ले हत्या गरे। आज उनको दोस्रो स्मृति दिवस हो। उनलाई पर्यावरणप्रेमीले शहिद घोषणा गर्न माग गरिरहेका छन्। मागलाई सरकारले बेवास्ता गर्दै आएको पीडित परिवारजनको गुनासो छ।

यसरी भएको थियो दिलीपको हत्या

धनुषाको श्रीपुर गाउँसँगै पूर्वमा औरही खोला छ। क्रसरवालाले अवैध रुपमा सो खोलाबाट नदी जन्य समाग्री झिक्दै आएका थिए। ठूला खाल्टो बनाएर खनिएको खोलामा वर्षामा बाढी आउँदा खोलाले धार परिवर्तन गरेर किसानको उब्जाउ जमिन कटान गर्ने गर्थ्यो। त्यसअघि देखि नै दिलिपले किसानको जमिन बचाउन नदी दोहोनविरुद्ध आवाज उठाउँदै आएका थिए।

एकाबिहानै घर नजिकैको खोलामा स्काभेटर प्रयोग गरेर खोला खनिंदै थियो। टिपरमा राखेर बालुवा गिट्टी क्रसरमा दुवानी भइरहेको थियो। क्रसर डन विपिन महतोले खोला खनेर नजिकैको चुरियामाई बालुवा प्रशोद्यन उद्योगमा लगिरहेका थिए। स्काभेटर र टिपरको आवाज सुनेर साथी रोशन यादवसँगै दिलिप पनि खोला उत्खनन रोक्न गएका थिए।

गलत कामको विरोध गर्न गएका दिलिपलाई खोला उत्खननकामाफिया विपिनले धक्कामुक्का गरे। विपिनले दिलिपसँग भनाभन भएपछि उसलाई टिपरबाट लिभर निकालेर उनको कोखमा घोचेर घाइते बनाए। त्यसपछि लिकमा हातखुट्टा समातेर ना.७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर निर्मम हत्या गरेका थिए।

जेलमा कैद छन् तीन जना

दिलीप हत्यामा संलग्न रहेको आरोपमा तीनजना पुर्वपक्षका लागि जेल जीवन बिताइरहेका छन्। क्रसर सञ्चालक विपिन महतो, उनका क्रसरमा काम गर्ने लोडर चालक महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्की टोलका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो सिन्धुली करागारमा पुर्वपक्षमा छन्।

२९ माघ २०७६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल आदेशमा उनीहरु कारागार चलान भएका हुन्।

उच्चस्तरीय छानविन भएन

दिलीपको हत्या भएको दुई वर्ष पूरा भएको छ। उनको हत्यामा संलग्न रहेको आरोपमा तीनजना जेलजीवन बिताइरहेका छन्। तर घटनामा अझै संलग्न हुन सक्ने भन्दै परिवारजन सशंकित छन्। घटनाको उच्चस्तरीय छानविन नभएकोमा अझै न्याय नपाएको उनीहरुलाई भान हुन्छ।

दिलीपका बुवा रामजीवन महतोले छोराको हत्यामा संलग्न सबै कानूनी दायरामा नआएको बताउँछन्। उनले सातजना उपर किटानी जाहेरी दिएको बताए। ‘त्यसमध्ये तीन जना मात्रै जेलमा छन्’, उनी भन्छन्, ‘चार जनालाई अदालतले धरौटीमा छोडेको छ।’

धरौंटीमा छुट्नेमा दिलीपका साथी रोशन, टिपरका सहचालक सत्यनारायण यादव र क्रसरका मिस्त्री शत्रुधन यादव रहेका छन्। क्रसरधनी विपिनका दाजु विनोदलाई पनि पीडित पक्षले दिलीपको हत्या घटनाको योजनाकार भन्दै किटानी जाहेरी दिएका थिए। उनलाई पनि प्रहरीले छोडेको पीडित परिवारको आरोप छ। घटनाको अझै उच्चस्तरीय छानविन हुनुपर्ने उनीहरुको माग छ।

सरकारले सुनेन शहिद घोषणाको माग

दुईवर्षअघि दिलीप हत्याको घटनाले देशव्यापी चर्चा बटुल्यो। घटनाको विरोधमा तराई–मधेशदेखि संघीय राजधानीसम्म आन्दोलन चर्कियो। दोषीलाई कारबाही र दिलीपलाई प्रथम पर्यावरण शहिद घोषणाको माग गर्दै देशव्यापी रुपमा प्रदर्शन भए।

दिलीपको घरमा सम्वेदना व्यक्त गर्न मेयरदेखि मन्त्रीसम्मको लर्को लाग्यो। सबैले न्याय दिलाउने वाचा गरे। कांग्रेस नेता शशांक कोइरालासम्मले पर्यावरण शहिद घोषणा गराउन संसदमा पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

दिलीपलाई प्रथम पर्यावरण शहिद घोषणा गर्नुपर्ने माग अझै जनस्तरबाट उठिरहेको छ। तर, उक्त मागलाई तीनै तहको सरकारले बेवास्ता गरेको दिलीपकी बहिनी संगम कुमारी महतोको गुनासो छ। न्याय दिलाउने वाचा गरेका नेताहरु पनि आफ्नो कर्तव्य निर्वाह नगरेको उनले दुखेसो पोखिन्।

दिलीपलाई सरकारले प्रथम पर्यावरण शहिद घोषणा नगरेसम्म आन्दोलन जारी रहने पिछ्डावर्ग ओबिसी महासभाका केन्द्रीय अध्यक्ष रामकुमार महतो बताउँछन्। प्राकृतिक श्रोतसाधनको संरक्षण गर्ने क्रममा दिलिपको ज्यान गएकोले उनलाई पर्यावरण शहिद घोषणा गर्न आनाकानी गर्न नहुने उनको जिकिर छ।

दिलीपको हत्यापश्चात् उनको परिवारमा संवेदना व्यक्त गर्न प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउत र तत्कालीन कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव उनको श्रीपुरस्थित घर पुगेका थिए।

पीडित परिवारको अवस्था बुझेपछि मुख्यमन्त्री राउतले प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। मुख्यमन्त्रीले आर्थिक सहयोग गर्ने आफ्नो वाचा पूरा गरे।

सहयोग गर्ने घोषणा गरेको केहि दिन नबित्दै प्रदेश सरकारको निर्णयबाट दिलीपको परिवारलाई घरमै पुगेर मुख्यमन्त्री कार्यालयको सचिव मार्फत पाँच लाखको चेक हस्तान्तरण गरे।

तर दिलीपलाई पर्यावरण शहिद घोषणाका लागि पहल गर्न प्रदेश सरकारले खासै चासो नदिएको दिलीपकी अर्की बहिनी लक्ष्मीकुमारी महतो बताउँछिन्।

‘शहिद घोषणाका लागि केन्द्र सरकारलाई प्रदेश सरकारले सिफारिश गर्न सक्दथ्यो। उच्चस्तरीय छानविन समिति गठनका लागि पहल गर्न सकथ्यो’, उनी भन्छिन्, ‘तर त्यो जिम्मेवारीबाट प्रदेश सरकार पन्छिए।’

मुद्दा स्थापित गराउन ‘प्रतिष्ठान’

पर्यावरण अभियन्ता दिलीप महतोले उठाएका चुरे संरक्षणको मुद्दा स्थापित गराउन प्रतिष्ठान दर्ता गरिएको छ। दिलीप महतोको नाममा ओमप्रकाश महतो (दिलिप) पर्यावरण संरक्षण प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता गरिएको हो। 

दिलीपकै बहिनी संगमकुमारी महतोको नेतृत्वमा प्रतिष्ठान दर्ता गरिएको प्रतिष्ठानका सचिव फुलगेन मगहीले जानकारी दिए। प्रतिष्ठानमा परिवारका सदस्य, चुरे अभियानी, सञ्चारकर्मी लगायतलाई समेटिएको उनले बताए।

प्रतिष्ठानले चुरे तथा पर्यावरण संरक्षणको क्षेत्रमा काम गरिरहेका छन्। दिलीपलाई प्रथम राष्ट्रिय पर्यावरण शहिद घोषणाको माग अघि सार्दै प्रतिष्ठानले विभिन्न गतिविधि गर्दै आएका छन्।

 चुरेमा ‘दिलीप बाटिका’

चुरेमा अवस्थित औरही सामुदायिक वनमा दिलीप बाटिका निर्माण गरिएको छ। मिथिला नगरपालिका—५ स्थित उक्त वनमा ओमप्रकाश महतो (दिलिप) पर्यावरण संरक्षण प्रतिठानले बाटिका निर्माण गरेको हो।

गत आर्थिक वर्षमा संघीय सरकारले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति जनकपुरधाम मार्फत प्रतिष्ठानलाई १५ लाख बजेट दिएको थियो।

संघीय सरकारले उपलब्ध गराएको उक्त बजेटले पहिलो चरणमा बाटिकाका लागि बाउन्ड्री (घेराबेरा) लगाउने योजना सम्पन्न भएको प्रतिष्ठानका सचिव फुलगेन मगहीले जनाए।

चुरे संरक्षणमा टेवा पुग्ने उद्देश्यले वन क्षेत्रमा दिलिप बाटिका निर्माण प्रतिष्ठानकी अध्यक्ष संगमकुमारी महतोको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here